आन्तरिक गृहकार्यमा देउवा

आन्तरिक गृहकार्यमा देउवा

काठमाडौं : सिंगापुरबाट फर्केलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान मस्यौदा समिति, महासमिति भेलाको मिति र स्थान तथा पार्टीका विभाग गठनसम्बन्धी गृहकार्य थालेका छन्। १० दिनको स्वास्थ्य उपचारपछि उनी आइतबार स्वदेश फर्किएका हुन्।

भदौभित्रै महासमिति भेला गर्ने पार्टीको निर्णयले देउवामाथि विधान मस्यौदा समिति छिट्टै गठन गर्नुपर्ने दबाब परेको छ। मस्यौदा समितिको घोषणासँगै उनले महासमिति भेलाको मिति र स्थान पनि तोक्ने छन्। सिंगापुर जानुअघि २२ साउनमा केन्द्रीय कार्यसमिति बैठकमा उनले स्वदेश फर्किएलगत्तै विधान मस्यौदा समिति र महासमिति भेलाको मिति टुंगो लाग्ने बताएका थिए।

सभापति देउवाले आउँदो शुक्रबार केन्द्रीय कार्यसमिति बैठक डाकेका छन्। केन्द्रीय कार्यसमिति डाक्नुअघि देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मासहित नेतासँग अनौपचारिक छलफल गरेका थिए। पार्टी कार्यालयले केन्द्रीय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचित गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति देउवा मस्यौदा समिति घोषणाको अन्तिम तयारीमा छन्। उनले भने, ‘सभापति बुधबारसम्म मस्यौदा समिति घोषणा गर्ने योजनामा हुनुहुन्छ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले समितिमा डा.मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी र प्रदीप पौडेलको नाम सभापतिसमक्ष सिफारिस गरेका छन्।

यसअघि सभापति देउवासहित शीर्ष नेताहरूले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ९ सदस्यीय मस्यौदा समिति बनाउने सहमति गरेका थिए। सभापति देउवाले प्रस्तावित मस्यौदा समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई ४ जनाको नाम सिफारिस गर्न आग्रह गरेका थिए। पौडेलले आफू पक्षधर डा.मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी र प्रदीप पौडेलको नाम सभापतिलाई दिएका छन्। सभापति देउवाले आफ्ना पक्षका चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, रमेश लेखकसहितका नेतालाई समितिमा पठाउने तयारी गरेका छन्।

विधान मस्यौदा समितिमा प्रादेशिक र जिल्ला सभापतिहरूको समेत प्रतिनिधित्व गराउने तयारी भइरहेको कांग्रेस नेताहरूले बताएका छन्। देउवाले शुक्रबारको बैठकअघि नै मस्यौदा समिति घोषणा गर्ने तयारी गरिरहेको कांग्रेस नेताहरूले जानकारी दिएका छन्। शुक्रबारको बैठकले महासमिति भेलाको मिति र स्थान तथा भेलाको तयारी गर्न आवश्यक समिति गठनको टुंगो लगाउने छ।

सहमहामन्त्री डा.प्रकाशशरण महतका अनुसार महासमिति भेला केही ढिला भए पनि विधान मस्यौदा समितिको कार्यअवधि दृष्टिगत गरी भेलाको मिति तोक्ने तयारी भइरहेको छ। उनले भने, ‘यसका लागि पार्टीभित्र गृहकार्य भइरहेको छ’, उनले भने, ‘साथै उपसभापति निधिसहितका पदाधिकारीले पार्टीका विभिन्न विभाग गठनका लागि गरिरहेको गृहकार्यबारे पनि शुक्रबारको बैठकमा छलफल हुनेछ।’ पार्टीको १३ औं महाधिवेशन भएको साढे दुई वर्ष बितिसक्दा समेत ४२ वटा विभागमध्ये अहिलेसम्म एउटा पनि विभाग गठन भएको छैन।

शुक्रबार हुने बैठकमा पार्टीका क्रियाकलापसँगै स्थानीय तहका प्रमुखहरूको भदौ ११ गते हुने छलफलका विषय तथा समसामयिक राजनीतिक स्थितिमाथि समेत छलफल हुने कांग्रेसले जनाएको छ। देशभर नै स्थानीय तहले जथाभावी कर वृद्धि गरिरहँदा कांग्रेसले आफ्नो पार्टीबाट स्थानीय तहमा विजयी प्रमुखहरूको भेला भदौ ११ गते काठमाडौंमा गर्दै छ।

प्रवक्ता शर्माले भने, ‘यसका साथै हालै लागू भएको नयाँ मुलुकी ऐनसहित सरकारका काम कारवाहीको समीक्षा गरिनेछ।’ सभापति देउवाले विधान मस्यौदा समिति गठन नगरेको र महासमिति भेला अनिश्चितजस्तो देखिन थालेपछि पछिल्लो समय कतिपय कांग्रेस नेताले फेरि असन्तुष्टि व्यक्त गर्न थालेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.