क्याम्पसको जग्गा १२ वर्षदेखि कब्जा
टीकापुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कृषितर्फको डिन कार्यालय रहेको टीकापुर बहुुमुखी क्याम्पसको ३ सय बिघा जग्गा सुकुम्बासीको कब्जामा छ । टीकापुर क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको उक्त जग्गामा सुकुम्बासी, भूमिहीन र मुक्त कमैयाले घरटहरा निर्माण गरेर १२ वर्षदेखि कब्जा जमाएका हुन् ।
सुकुम्बासी, भूमिहीन र मुक्तकमैयाले अतिक्रमित जग्गामा घर टहरा निर्माण गर्नुका साथै खेतीसमेत गर्दै आएका छन् । उक्त जग्गामा ०६३ असार २४ गते जितबहादुर चौधरीको नेतृत्वमा २२ वटा टहरा निर्माण गरी अतिक्रमण सुरु भएको थियो । अहिले उक्त जग्गामा करिब १ हजार ५ सय घरटहरा निर्माण गरिएका छन् ।
क्याम्पसको जग्गामा २ सय ५२ घरटहरा मुक्त कमैयाले बनाएका छन् । त्यस्तै, अन्य घरटहरा सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरेका भूमिहीन र सुकुम्बासी भनिएकाहरूले निर्माण गरेका छन् । त्यहाँ बसोवास गर्ने भूमिहीन र सुकुम्बासी अछाम, बाजुरा, सुर्खेत, डोटी, दैलेख, कालिकोट, मुगुलगायत जिल्लाबाट बसाइँ सरेर आएका हुन् ।
तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको नाममा दिएको उक्त जग्गा अतिक्रमण हुन थालेपछि क्याम्पस प्रशासनले मुक्त कमैयासँग ०६३ असार २४ गते छलफल गरेको थियो । उक्त छलफलमा दुवै पक्षबीच वर्षा सकिएसँगै अतिक्रमित क्याम्पसको जग्गा खाली गर्ने सहमतिसमेत भएको थियो ।
टीकापुर बहुुमुखी क्याम्पस प्रमुख केशरबहादुर कुँवरका अनुसार उक्त सहमति कार्यान्वयन हुनुको साटो ०६३ भदौबाट क्याम्पसको थप जग्गासमेत अतिक्रमणको चपेटामा प¥यो । दिनरात गरेर कथित भूमिहीन र सुकुम्बासीका नाममा भित्रिएका व्यक्तिहरूले क्याम्पसको ३ सय बिघा जग्गा कब्जा गरेको उनले बताए ।
सुरुमा विभिन्न राजनीतिक दलले भोट बैंकका रूपमा प्रयोग गर्न अतिक्रमणकारीलाई सहयोग गरे । दलले नै आफ्ना कार्यकर्तालाई उक्त जग्गा अतिक्रमणका लागि उक्साएका थिए । अहिले पनि केही राजनीतिक दलले उनीहरूलाई संरक्षण गर्दै आएका छन् ।
अतिक्रमणकारीलाई राजनीतिक दलकै सिफारिसमा विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाले सहयोग गर्दै आएका छन् । अतिक्रमित क्षेत्रमा दुईवटा विद्यालय सञ्चालन गरिएका छन् भने ती विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले सहयोग गरेको छ । सोही क्षेत्रमा एउटा स्वास्थ्यचौकीसमेत निर्माण गरिएको छ ।
अतिक्रमित क्याम्पसको जग्गामा इसाइ धर्मावलम्बीले चर्चसमेत निर्माण गरेका छन् । उनीहरूले समेत अतिक्रमणकारीहरूलाई विभिन्न प्रलोभन देखाएर सहयोग गर्दै आएको स्रोतले बतायो ।
अहिले अतिक्रमित जग्गा किनबेचसमेत हुने गरेको छ । धेरै जग्गा कब्जा गरेकाहरूले आफन्तलाई बिक्री गर्दै आएका कारण बर्सेनि टहरा बढिरहेका छन् । प्रतिकठ्ठा डेढ लाख रुपैयाँसम्म खरिद–बिक्री हुने गरेको आफूहरूले पनि सुनेको उक्त जग्गामा बसोवास गर्दै आएका एक व्यक्तिले बताए ।
क्याम्पस प्रशासनले अतिक्रमित जग्गा खाली गराउन पटक–पटक पहल गर्दै आएको छ । जग्गा खाली गराउन क्याम्पसले विभिन्न समयमा सरोकारवालासँग छलफल गर्नुका साथै विरोधका कार्यक्रमसमेत गरेको थियो । राजनीतिक दलको असहयोगका कारण क्याम्पसले जग्गा खाली गराउन सकेको छैन ।
‘हामीले यसअघि क्याम्पसको अतिक्रमित जग्गा खाली गराउन टीकापुर बजार बन्द ग¥यौं, राजमार्गमा चक्काजाम ग¥यौं तैपनि सुनुवाइ हुन सकेन’, क्याम्पस प्रमुख केशरबहादुर कुँवरले भने, ‘३÷४ वर्षयता छलफल भए पनि संघर्षका कार्यक्रम गर्न सकेका छैनौं ।’
उक्त ३ सय बिघा जग्गा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसलाई निःशुल्क प्रदान गरेको हो । तत्कालीन विकास समितिका अध्यक्ष मीनबहादुर रावल नेतृत्वको बोर्डले क्याम्पसलाई जमिन दिने निर्णय गरेको थियो । ०६२ सालमा क्याम्पसले जग्गाधनी पुर्जा प्राप्त गरेको हो । समितिले त्यसअघि नै क्याम्पसलाई ८० बिघा जग्गा दिइसकेको थियो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले कृषितर्फको डिन कार्यालय स्थापना गरेपछि क्याम्पस प्रशासनले अतिक्रमित जग्गा खाली गराउनेबारे पहल थालेको छ । कृषितर्फका सबै विषयको पठनपाठन सञ्चालन गर्न जमिन आवश्यक पर्ने क्याम्पस प्रमुख कुँवरले बताए ।
‘यसअघि जमिन खासै आवश्यक थिएन । अब कृषितर्फका सबै विषयको पठनपाठन गर्ने हो भने जमिन नभई हुँदैन’, क्याम्पस प्रमुख कुँवरले भने, ‘वन विज्ञान र भेटेरेनरी विज्ञान संकायको अध्यापन गराउने योजनामा छौं, अतिक्रमित जमिनसमेत कम पर्ने देखिएकाले यो तत्काल खाली गराउन आवश्यक छ ।’
राजनीतिक दलले सहयोग नगरे क्याम्पसको अतिक्रमित जमिन खाली गराउन सहज नभएको कतिपयको बुझाइ छ । अझै पनि केही राजनीतिक दलले उनीहरूलाई संरक्षण गर्दै आएका छन् । यसअघि राजनीतिक दलकै दबाबमा टीकापुर नगरपालिकाले उनीहरूको बसाइँ–सराइ दर्ता गरेको छ । बसाइँ–सराइ दर्ता भएसँगै उनीहरू कानुनी रूपमा नगरपालिकाका बासिन्दा भइसकेका छन् । उनीहरू, संघीय, प्रदेश र स्थानीय निर्वाचनमा मतदानसमेत गरेका छन् ।
००००
क्याप्सन ः क्याम्पसको अतिक्रमित जग्गामा सुकुम्बासीका नाममा बनाइएका घरटहरा । – परमानन्द पाण्डे