कञ्चनपुरमा प्रदर्शन : अश्रुग्यास सकिएपछि प्रहरीले गोली चलायो
कञ्चनपुर : बालिका निर्मला पन्तका वास्तविक दोषीलाई पक्राउ गर्न माग गर्दै चार दिनदेखि महेन्द्रनगरमा जारी प्रदर्शन बिहीबार झनै उग्र भएको छ । भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य भागमा पनि बालिकाका हत्यारालाई कारबाही माग गर्दै थालिएको प्रदर्शन झन् चर्किँदै गएको हो ।
बिहीबार दिउँसो भीमदत्त नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालय नजिकै प्रदर्शनकारी र प्रहरीबीच रक्तपातपूर्ण झडप भएको हो ।
यो झडपका क्रममा प्रहरीको गोली लागेर कम्तिमा पनि आठजना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुममध्ये भीभीमदत्त नगरापालिका–१८ बस्ने १७ वर्षीय अर्जुन भण्डारीको अवस्था चिन्ताजनक छ । उनको दायाँ खुट्टामा लागेको छ ।
भण्डारीको प्राथमिक उपचार स्थानीय अस्पतालमा भए पनि अवस्था चिन्ताजन भएपछि सुविधायुक्त अस्पतालका लागि रेफर गरिएको छ ।
प्रहरीले हानेको गोली लागेर ४२ वर्षीय तेज भट्ट, २० वर्षीय तीर्थ पनेरु, मनोज बुढा, सरोज खड्का र कैलालीको हसुलिया बस्ने सन्तोष कडारिया घाइते भएका छन् । उनीहरु सबैलाई प्रहरीले हानेको गोली लागेका छ । तर प्रहरीले प्रयोग गरेको गोली रबरको हो या अर्को भन्ने पुष्टि भइसकेको छ।
यस घटनाबारेमा जिल्लास्थित प्रहरी अधिकृतहरुले पनि बोल्न मानेका छैनन् । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले गोली चले पनि त्यसको एकिन विवरण आइनसकेको जानकारी दिए ।
प्रदर्शनकारीको झडपका क्रममा प्रहरी हवलदार हर्कबहादुर पाल र प्रहरी जवान महेश भट्ट पनि घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार प्रशासन कार्यालय नजिकै प्रदर्शनकारीले निरन्तर ढुंगामुडा गरेका थिए । प्रहरीले पनि प्रदर्शनकारीमाथि अश्रुग्यास हानिरहेको थियो ।
तर प्रहरीतर्फ अश्रुग्यासका सेल सकिएपछि अवस्थालाई नियन्त्रण बाहिर जान नदिन गोली चलाउनुपरेको प्रहरी अधिकृतहरुको भनाइ छ । गोलीबाट प्रदर्शनकारी घाइते भएपछि अझै अवस्था भड्किने सम्भावना बढेको छ ।