एकल पुरुषलाई पनि भत्ता
बैतडी : बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ। ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई भत्ता दिने निर्णय भएको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन्। उनले भनिन्, 'एकल महिलाजस्तै एकल पुरुषका पनि विभिन्न समस्या हुन्छन्। एकल महिलालाई राज्यले भत्ता दिने व्यवस्था गरेकै छ। त्यसैले हामीले एकल पुरुषलाई भत्ता दिने निर्णय गरेका हौं।'
नगरपालिकाभित्रका ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषको तथ्यांक संकलन गर्ने कार्य भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताए। उनले भने,' नगरपालिकाले नगरपालिकाका भित्रका एकल पुरुषलाई मासिक १ हजारका दरले भत्ता दिने निर्णय गरेको छ। सोही निर्णयअनुसार हामीले तथ्यांक संकलनको काम गरिरहेका छौं।'
नगरपालिकाभरीका एकल पुरुषलाई जीवनयापनमा सजिलो होस् भनेर नगरकार्यपालिकाबाट एकल पुरुषका लागि भत्ता दिने निर्णय गरेको नगर प्रमुख कृष्णसिंह नायकले बताए। उनले भने, 'समाजमा रहेका एकल पुरुष मात्रै नभएर हामीले अनाथलाई समेत भत्ता दिने तयारी गरेका छौं। यसका लागि हामीले १५ लाख विनियोजन गरेका छौं।'
नगरपालिकाले गरेको निर्णयले एकल पुरुष खुसी भएका छन्। समाजमा रहेका एकल पुरुषका लागि भत्ता दिने निर्णय राम्रो भएको मणिलेक मावि काँडा मेलौलीका प्रधानाध्यापक देवदत्त कलौनीले बताए। उनले भने, 'एकल महिलालाई सरकारले यसअघि नै भत्ता दिने गरेको थियो। उत्तराद्र्ध उमेरका जेष्ठ एकल पुरुषलाई भत्ता दिने निर्णय राम्रो हो। यसले उनीहरुलाई केही हदसम्म सहयोग हुनेछ।'