'वाइड बडी' उडाउन नयाँ गन्तव्य पाएन निगमले

'वाइड बडी' उडाउन नयाँ गन्तव्य पाएन निगमले

 काठमाडौं : नेपाल वायु सेवा निगमको वाइड बडीलाई थप अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने योजना विफल भएको छ । दुईवटा वाइड बडी विमान ल्याएर थप तीन देशमा उडान भर्ने निगमको योजना युरोपियन युनियन (ईयू) ले लगाएको प्रतिबन्धका कारण असफल भएको हो । नयाँ गन्तव्यमा उडान अनुमति नपाएपछि निगमले हाल सञ्चालन भइरहेकै सेक्टरमा दुवै वाइड बडी उडाउनुपर्ने बाध्यता आइलागेको छ । निगमले भारतको नयाँदिल्ली, बेंगलोर, मुम्बई, हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ।

निगम स्रोतका अनुसार निगमका पदाधिकारी दक्षिण कोरिया, रियाद र जापानमा उडानका लागि अनुमति लिन गएका थिए । तीसम्बद्ध देशका उड्डयन अधिकारीले ईयूले नेपाललाई कालोसूचीमा राखेको कारण देखाउँदै उडान अनुमति दिन असमर्थता प्रकट गरेका थिए । ईयूअन्तर्गतका २८ देशमा नेपालका कुनै पनि जहाजलाई उड्न रोक लगाइएको छ ।

सन् २०१३ डिसेम्बर ५ मा ईयूले नेपाली जहाजलाई आफ्ना २८ वटै सदस्य राष्ट्रमा उडान भर्न रोक लगाएको थियो । लुक्ला जान लागेको तारा एयरको जहाज काठमाडौंको मनहरामा दुर्घटना हुँदा मृत्यु भएका ११ जनामध्ये नौ जना यात्रु बेलायती थिए । यो दुर्घटनापछि ईयूले प्रतिबन्ध लगाएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाललाई कालोसूचीमा राखे पनि सन् २०१७ को जुलाईमा त्यसबाट मुक्त गरिसकेको छ । आइकाओले कालोसूची फुकुवा गरे पनि ईयूले जारी राखेकाले नेपालले थप गन्तव्य हासिल गर्न सकेको छैन ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आगामी सेप्टेम्बरदेखि ईयूले नेपालमाथि लगाएको प्रतिबन्ध हटाउने र त्यसका लागि सरकारले प्रयास गरिरहेको बताउँदै आएका छन् ।

जापान, रियाद र कोरिया मात्र होइन, नेपालमा दैनिक नौ पटक आफ्ना जहाज अवतरण गर्ने चीनले समेत गोन्जाओमा निगमको विमान उड्ने अनुमति हालसम्म दिएको छैन । तीन वर्षदेखि नेपाली अधिकारीले गोन्जाओमा थप गन्तव्य खुलाउने भनी एजेन्टसम्म नियुक्त गरेको थियो । गोन्जाओमा धेरै भीडभाड (एयर ट्राफिक जाम) हुने देखाए पनि मुख्य कारण ईयूको प्रतिबन्धलाई नै इंगित गर्दै आएको छ ।

दुईवटा वाइड बडी आएपछि जापान, दक्षिण कोरिया, रियाद, अस्ट्रेलिया र युरोपियन मुलुकमा उडान भर्ने निगमको व्यापारिक योजना थियो । तर, ती सेक्टरका लागि प्रारम्भिक काम पनि हालसम्म सम्पन्न नहुनुले यो व्यापारिक योजना नै हावादारी भएको निगमका एक पाइलटले बताए । ‘राष्ट्रको अर्बाैंको लगानी गरेर बीचमा अनावश्यक दलालहरू खडा गरेर ल्याइएको जहाज राम्रोसँग सञ्चालन नहुने प्रस्ट छ’, उनले भने ।

अघिल्लोपटक जहाज ल्याउँदा १५ दिन मात्रै एयरपोर्टमा राख्नुपरेको थियो । निगमले पहिला बन्द भएको भारतको सेक्टर खुलाउन सबै प्रक्रिया पूरा गर्न त्यति अवधि लागेको थियो । वाइड बडी जहाज ल्याएर एक महिनाभन्दा बढी थन्क्याउँदा निगमलाई करोडौंको नोक्सानी भएको छ । दुवै वाइड बडीको १८ वटा बिजनेस क्लास र २५६ वटा साधारण (इकोनोमी) सिट छन् । दुवै विमान सरकारको जमानतमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको २४ अर्ब रुपैयाँ ऋणमा खरिद भएको हो ।

निगमले पहिलो विमान (अन्नपूर्ण) असार १४ मा र दोस्रो विमान (मकालु) यही साउन १० गते भिœयाएको थियो । पहिलो विमानले साउन १६ गते उडान थालिसकेको छ भने दोस्रो विमान एयरपोर्टमा ग्राउन्डेड छ । भदौ १६ देखि उडाउने तालिका रहेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नयाँ सेक्टरका लागि उडान अनुमति नपाएको स्वीकार गरे । उनले सम्बद्ध एयरपोर्टबाट अनुमति पाए पनि नियामक निकायले नदिएको जानकारी दिए । कंसाकारले ईयूको प्रतिबन्धका कारण अनुमति नपाएको पनि स्विकारे । ‘आइकाओका १८० देशले उडान गर्न दिने, ईयूले नदिने भन्दा हामीलाई अन्याय भयो’, उनले भने ।

वाइड बडीबाट व्यावसायिक उडान थालनी भएपछि बजार हिस्सा १० प्रतिशतबाट १६ प्रतिशतमा पु¥याउने लक्ष्य रहेको कंसाकारले बताए । उनले विमानको भराई दर (अक्कुपेन्सी) औसत ७० प्रतिशतभन्दा माथि हुने दाबी गरे । नेपालमा सञ्चालित ३६ वटा अन्तर्राष्ट्रिय वायुसेवाका यात्रु वृद्धि भए निगमको पनि बढ्ने उनले बताए । ‘जहाज धेरै हुनासाथ निगमको विश्वसनीयता ९० प्रतिशतभन्दा माथि हुनेछ,’ उनको दाबी थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.