निर्मला हत्या प्रकरण : प्रदर्शनकारीमाथि गोलीप्रहार, ६ जना घाइते

निर्मला हत्या प्रकरण : प्रदर्शनकारीमाथि गोलीप्रहार, ६ जना घाइते

महेन्द्रनगर : निर्मला हत्याविरुद्ध जारी आन्दोलन बिहीबार उग्र भएपछि नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गर्दा महेन्द्रनगरमा ६ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये २ जना सिकिस्त छन् । गोली प्रहारपछि स्थानीय प्रशासनले बिहीबार साँझ कफ्र्यू लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कफ्र्यू लगाउने निर्णय गरेको कञ्चनपुरका प्रजिअ कुमारबहादुर खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटीले प्रहरीको गोली लागेर ६ जना प्रदर्शनकारी घाइते भएको जानकारी दिए । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि अ श्रुग्यास प्रहार गर्दासमेत स्थिति नियन्त्रण गर्न नसकेर गोली चलाइएको दाबी प्रहरीले गरेको छ । उनका अनुसार प्रदर्शनकारीहरूले हानेको ढुंगा लागेर ४ जना प्रहरीसमेत घाइते भएका छन् । तर प्रहरीले कति राउन्ड गोली चल्यो खुलाएको छैन ।

प्रहरीको गोली लागेर १७ बर्से अर्जुन भण्डारा, ४२ बर्से तेज भट्ट, २० बर्से तीर्थ पनेरु, मनोज बुढा, सरोज खड्का र कैलालीको हसुलियाका सन्तोष कडरिया घाइते भएका छन् । घाइतेमध्ये भीमदत्त नगरपालिका–१८ का भण्डारा र भट्ट सिकिस्त छन् । भण्डाराउनको दायाँ खुट्टामा घुँडाछेउ गोली लागेको छ । महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि धनगढीस्थित सेती अञ्चल अस्पताल ल्याइएका उनलाई काठमाडौं रेफर गरिएको छ । भट्टको अवस्था पनि गम्भीर रहेकाले उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।

प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट प्रहरी हवलदार हर्कबहादुर पाल, प्रहरी जवान महेश भट्टसहित चार प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बिहीबार दिनभरि भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी गरी दर्जनौं घाइते भएका छन् । बिहीबारको आन्दोलन जिल्ला प्रशासन कार्यालय परिसरनजिक, जिल्ला प्रहरी कार्यालय परिसर र भीमदत्त नगरपालिका परिसरमा बढी उग्र बनेको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन सयौं राउन्ड अ श्रुग्यास प्रहार गरेको थियो । अ श्रुग्यास प्रहार गर्दा पनि प्रदर्शनकारी तितरबितर नभएपछि प्रहरीले गोली प्रहार गरेको स्थानीयले बताएका छन् ।

प्रहरीले मानसिक सन्तुलन नभएका स्थानीय दिलीपसिंह विष्टलाई बलात्कार र हत्याको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेपछि मंगलबारदेखि चर्केको आन्दोलन बिहीबार उग्र बनेको हो । प्रदर्शनकारीले बिहानैदेखि ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए । महेन्द्रनगर बजार बन्द रहे भने शिक्षण संस्था र यातायातसमेत बिहानैदेखि ठप्प थियो । वास्तविक बलात्कारी पक्राउ गरी कारवाही गर्नुपर्ने, शान्ति सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, कञ्चनपुरका एसपीमाथि कारवाही हुनुपर्नेलगायत माग राख्दै बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको थियो ।

साउन १० गते घरबाट होमवर्क गर्न साथी रोशनी बमको घर गएकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते उखुबारीमा शव फेला परेको थियो ।

कर्फ्यू उल्लंघन

स्थानीय प्रशासनले बिहीबार बेलुकी जारी गरेको कर्फ्यू प्रदर्शनकारीले उल्लंघन गर्दै भीमदत्त नगरपालिकाको कार्यालयमा आगजनीको प्रयास गरेका छन् । उनीहरूले ढुंगामुढा गर्दै नगरपालिकामा आगजनीको प्रयास गरे पनि प्रहरीले अ श्रुग्यास प्रहार गरी तितरबितर पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रशासनले पूर्वमा भीमदत्त नगरपालिकाको भाँसीदेखि कारागार पछाडिको नहर हँुदै मदनभण्डारी स्कुलसम्म, पश्चिममा वनगाउँ क्षेत्रदेखि निंगलासैन स्कुलसम्म, उत्तरमा जनज्योति चोकदेखि उत्तर नहरबाट खैरेनी चोक नहर हुँदै त्रिपुरा युवा क्लबको कार्यालयसम्म र दक्षिणमा मदन भण्डारी स्कुुलदेखि सीप विकास तालिम केन्द्रको नहर हुँदै निंगलासैन स्कुलसम्म कर्फ्यू जारी गरेको हो ।

सहसचिवको नेतृत्वमा छानबिन समिति

आन्दोलन चर्किएपछि गृह मन्त्रालयले निर्मला हत्याको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा तीन वटै सुरक्षा निकायका डीआईजी र प्रदेश ७ को आन्तरिक तथा कानुन मन्त्रालयका एक जना प्रतिनिधि रहने छन् । नेपाल प्रहरीका डीआईजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरीका डीआईजी बसन्त बानिया, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव वीरेन्द्र केसीलाई छानबिन समितिको सदस्य तोकिएको छ । गृह मन्त्रालयले समितिलाई १५ दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

फेरिए सीडीओ र एसपी

शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृह मन्त्रालयले कञ्चनपुरका प्रजिअ कुमार खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेटीलाई मन्त्रालयमा फिर्ता बोलाएको छ । मन्त्रालयले प्रजिअ खड्काको ठाउँमा तारानाथ अधिकारीलाई र एसपी विष्टको ठाउँमा कुबेर कठायतलाई पठाएको छ ।

आन्दोलन चर्किएपछि प्रदेश ७ का नेकपाका सांसदले गृहमन्त्री रामबहादुर थापासँग भेटी घटनालाई गम्भीर रूपमा लिन र आवश्यक कदम चाल्न आग्रह गरेका थिए । सांसद एवं नेकपा नेता लेखराज भट्ट नेतृत्वको टोलीले गृहमन्त्रीसँग भेटेको कञ्चनपुर क्षेत्र ३ का सांसद डा.दीपकप्रकाश भट्टले जानकारी दिए ।

संयमीत हुन प्रदेश सरकारको आग्रह

प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकपछि प्रदेश सरकारले कञ्चनपुरवासीसँग संयमित हुन आग्रह गरेको छ । बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलनमा प्रदेश सरकारले निर्मला हत्याकाण्डको विश्वसनीय छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्रीसँग आग्रह गरेको जानकारी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.