विमान दुर्घटनाको क्षतिपूर्ति पौने दुई करोड

विमान दुर्घटनाको क्षतिपूर्ति पौने दुई करोड

 काठमाडौं : प्रतिनिधिसभाले बिहीबार मन्ट्रियल महासन्धि अनुमोदन गरेको छ । विमान दुर्घटना क्षतिपूर्ति रकम बढ्ने महासन्धि नेपालले अनुमोदन गरेसँगै ज्यान गुमाएका यात्रुका परिवारले पाउने क्षतिपूर्ति रकम बढ्नेछ । २० हजार अमेरिकी डलर पाउँदै आएका पीडित परिवारले एक लाख ५७ हजार दुई सय नौ डलर अर्थात् एक लाख १३ हजार एक सय एसडीआर पाउनेछन् । क्षतिपूर्ति रकम बढ्दा नेपाललाई कुनै आर्थिक भार भने थपिने छैन । अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीले भने महासन्धिअनुसार बिमा रकम तिर्नुपर्ने हुन्छ ।

हवाई उड्डयनमा विश्वसनीयता वृद्धि गर्ने भन्दै सन् १९९९ मन्ट्रियल महासन्धि जारी भएको थियो । सन्धि जारी भएको २० वर्षपछि नेपाल सदस्य बनेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए । ‘नेपाल पहिले नै महासन्धि सदस्य राष्ट्र बन्नुपथ्र्यो । तर, ढिलै भए पनि सदस्य बनेको छ’, मन्त्री अधिकारीले भने ।

नेपाल महासन्धि सदस्य राष्ट्र भएलगतै नेपालमा उडान गर्ने पर्यटक तथा यात्रीको मनोबल उच्च हुने, हवाई वाहकको दायित्व बढ्दै अझै सुनिश्चित हुने र यात्रीले पनि उचित क्षतिपूर्ति पाउने अधिकारीले बताए । यो महासन्धिमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका एक सय ९१ राष्ट्रमध्ये एक सय ३१ राष्ट्र सदस्य राष्ट्र भइसकेका छन् ।

मन्ट्रियल महासन्धिलाई नेपालले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भने प्रस्ताव मन्त्री अधिकारीले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका थिए । संसद्बाट अनुमोदित सन्धि मन्त्रालयले अब आईकाओमा रजिस्ट्रेसन (सम्मिलित) गर्नेछ । आईकाओमा रजिस्ट्रेसन गरेको ६० दिनपछि महासन्धि स्वतः लागू भई हवाईजहाज दुर्घटनका पीडितले क्षतिपूर्ति पाउने मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।

नेपाल अहिलेसम्म ‘वार्सा सन्धि’ सदस्य राष्ट्र थियो । वार्सा सन्धिअनुसार दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारले २० हजार डलर मात्रै पाउने व्यवस्था थियो ।

विमान दुर्घटनामा ज्यान गुमाएका तथा अंगभंग भएकाको परिवारले एक करोड ७६ लाख रुपैयाँभन्दा बढी पाउँछन् । दुर्घटनमा एयरलाइन्स कम्पनीको कमजोरी रहेको अवस्थामा पनि असीमित दायित्व बिमा दाबी गर्न पाइनेछ । पीडित परिवारले जहाज दुर्घटनमा एयरलाइन्स कम्पनीको कमजोरी रहेको भनी प्रमाणित गर्नुपर्ने वार्सा सन्धिको व्यवस्था मन्ट्रियल सन्धिले खारेज गरेको छ ।

हवाई दुर्घटनामा पीडितले पाउने रकम न्यून भएको भन्दै आईकाओले मन्ट्रियल सन्धि ल्याउन भूमिका खेलेको थियो । मन्ट्रियल सन्धि लागू भएपछि पीडित परिवारले असीमित दायित्व बिमा दाबीका लागि जहाज उडेको देश, गन्तव्य देश, बिजनेस भएको देश, जहाज रजिस्ट्रेसन भएको देश र यात्रु बसेको देशको आधारमा मुद्दा लड्न सक्छन् । वार्सा सन्धिमा यस्तो व्यवस्था थिएन ।

नेपाल सन्धि सदस्य राष्ट्र भएपछि नेपाली यात्रुले जुनसुकै राष्ट्रको जहाज चढ्दा पनि यीअनुसार रकम पाउने हवाईविज्ञ तथा वरिष्ठ अधिवक्ता प्रभाकर अधिकारी बताउँछन् । मन्ट्रियल सन्धिमा कार्गो सामान क्षतिमा प्रतिकेजी १९ एसडीआर र लगेजको एक हजार एक सय ३१ एसडीआर क्षतिपूर्ति पाउने व्यवस्था गरेको उपसचिव नेपाल बताउँछन् । सन्धिमा विलम्ब क्षतिपूर्ति चार हजार ६ सय ९४ एसडीआर तोकिएको छ ।

महासन्धिमा विमान दुर्घटनाका पीडितले ‘लस्ट अफ सर्भिस, लस्ट अफ सपोर्ट, लस्ट अफ सोसाइटी र दाहसंस्कारका लागि पनि बिमा रकम दाबी गर्न सक्छन् । पीडित परिवारले लस्ट अफ फ्युचर सपोर्ट, सर्भिस, सोसाइटीका आधारमा पनि असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्न सक्ने प्रावाधन छ ।

ज्यान गुमाउनेका बाबुआमा तथा बालबच्चाले मातृत्व र पितृत्व, सपोर्ट, सोसाइटीलगायत विषयमा पनि बिमा दाबी गर्न सक्छन् । पीडित परिवारले जहाज दुर्घटना भएको दुई वर्षभित्र बिमा दाबीका लागि मुद्दा दायर गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.