खहरेले रोक्छ सवारी
मुसिकोट : रुकुम पश्चिमको सदरमुकाम मुसिकोटदेखि रुकुम पूर्वको सिस्ने गाउँपालिकाको पोखरासम्म गाडी चल्न थालेको चार वर्ष भयो । २७ किलोमिटर लामो यो सडक खण्डमा बाह्रै महिना भने गाडी चल्दैनन् । सडकमाथि तथा मुनिबाट पहिरो झर्ने, ठूला नदीको कारण यो सडकमा बाह्रै महिना गाडी नचलेका भने होइनन् । उक्त सडकखण्डमा पर्ने दुई वटा खोलाको कारण साविकको पीपल र पोखरा गाविसवासीले तीन महिना ठूलो सास्ती भोग्नुपर्छ ।
साविक बाँफिकोट गाविस–८ अर्थात् बाँफिकोट गाउँपालिका–३ मा पर्ने तिल्चा खोलो र साविकको पीपल गाविसको १–४ वडा जोड्ने तथा हालको बाँफिकोट गाउँपालिका–१ र २ वडा जोड्ने पुमा खोलाको कारण ३ महिना उक्त सडक ठप्प हुने गर्छ । साउन, भदौ र असोजमा उक्त खोला बढ्ने भएकाले त्यस क्षेत्रका सर्वसाधारणले पैदल यात्रा गर्नुपर्ने हुन्छ । त्यस्तै, चौरजहारीदेखि खोलागाउँ जान पनि खोलाकै कारण अप्ठ्यारो छ । जहारी खोलो बढेपछि चौरजहारी ५ र ७ जोड्ने मेलैनाउलीबाट गाडी वारपार गर्न सक्दैनन् । चौरजहारी नगरपालिका–१३, को साक्चा खोलाका कारण चौफादेखि सल्यान, दाङ हुँदै नेपालगन्ज काठमाडौं पुग्ने बाटो पनि बन्द छ । दुई महिना मात्रै बढ्ने खोलाका कारण त्यस आसपासका सर्वसाधारण चौरजहारीसम्म हिँडेर गाडी चढ्न बाध्य छन् । ‘अरू सडक राम्रो छ, सजिलै गाडी चल्न सक्छन् तर यो साक्चा खोलो बढेकै कारण हामीले दुःख पाउनुपर्छ,’ स्थानीय प्रशाराम खत्रीले भने ।
यस्ता खहरे खोलामा पुल नबन्नु तथा पुलको विकल्पमा अन्य उपाय नअपनाएकै कारण हरेक वर्ष गाडी छेक्ने खोला रुकुम पूर्व र पश्चिम यत्ति मात्रै छैनन् । मध्यपहाडी लोकमार्गदेखि अन्य स–साना छोटा सडकमा पनि खोलाकै कारण सवारीका साधन चल्न सक्दैनन् । मध्यपहाडी लोकमार्गमा पर्ने रुकुम पूर्वको सिस्ने र भूमे गाउँपालिका जोड्ने रुकुम गाड, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पर्ने जहारी खोलाका कारण हरेक वर्षामा सयौं सर्वसाधारणले दुःख पाइरहेका छन् ।
पुल बन्न ठेक्कासमेत गरिएको लामो समय भइसक्दा पनि पुल नबनेपछि पूर्वको भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका सर्वसाधारण पैदल यात्रा गर्न बाध्य छन् । भूमे गाउँपालिका–२, देखि ६ र ७ जोड्ने सडक पनि काँक्री खोलाकै कारण बन्द छ । अरू सडक राम्रै भए पनि खोलाका कारण गाडी नचल्दा सर्वसाधारणको यात्रा कठिन बन्दै गएको छ । ०६१ सालदेखि गाडी चल्न थालेको राप्ती लोकमार्गअन्तर्गत मुसिकोट नगरपालिकास्थित पितिवाङ खोलाको अवस्था पनि उस्तै छ । उक्त खोलामा पुल नबनेका कारण वर्षा याममा जोखिम मोलेर सवारीसाधन वारपार गराइन्छ । उक्त खोला भएर दैनिक सयभन्दा बढी सवारी वारपार गर्छन् ।
रुकुम पश्चिमको तिल्चा र पुमा खोलाबाहेक सदरमुकाम खलंगादेखि पूर्वको पोखरा पुग्न सडक राम्रो छ । सजिलैसँग गाडी चल्न सक्ने सडक भए पनि तिल्चा र पुमा खोलाका कारण सर्वसाधारणले दुःख पाइरहेको बाँफिकोट गाउँपालिका–१ का अध्यक्ष हर्कु मल्लले बताए । ‘अरू सडक राम्रो छ,’ अध्यक्ष मल्लले भने, ‘यो खण्डको दुई ठाउँमा पर्ने खोलाकै कारण सदरमुकामदेखि दाङ, नेपालगन्ज हँुदै काठमाडौं पुग्न यस क्षेत्रका सर्वसाधारणले दुःख पाउनुपरेको छ ।’ यसरी हरेक वर्षामा सवारी रोक्ने खोलामा पक्की पुल नबनाए पनि बाह्रै महिना गाडी हिँड्न सक्ने बनाउन सकिन्छ । अधिकांश खोलालाई फिँजाएर गाडी हिँडाउन मिल्ने बनाउन सकिने अवस्था छ । थोरै लगानी गरे मात्रै पनि धेरै ठाउँका सर्वसाधारणले पैदल यात्रा गर्नु नपर्ने अध्यक्ष मल्ल बताउँछन् । तिल्चा, पुमा, बाँफिकोट गाउँपालिका ४ र ६ जोड्ने किमाना, जहारी र साक्चा खोलामा पनि समस्या हुने गरेको उनको भनाइ छ ।
बाह्रैमास सडक सञ्चालन गर्ने उपाय भएर पनि सरोकारवालाले ध्यान नदिँदा समस्या व्यहोर्नुपरेको सानोभरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्लले बताए । ‘बर्खाको सानो खहरेले गाडी रोकेर व्यवसायी र सर्वसाधारण यात्रु सबैलाई समस्या बनाएको छ,’ उनले भने, ‘यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।’