'महाअभियोग लगाए अमेरिकी अर्थतन्त्र ध्वस्त हुन्छ'
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाभियोग लगाइए अमेरिकी अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिएका छन् । ट्रम्पले ‘फक्स एन्ड फ्रेन्ड्स’सँगको अन्तर्वार्ता दिँदै यस्तो चेतावनी दिएका हुन् ।
उनले भने, ‘म तपाईंलाई स्पष्ट पार्न चाहन्छु, मविरुद्ध अभियोग लगाइएमा अमेरिकी बजार खत्तम हुनेछ । यसबाट प्रत्येक अमेरिकी गरिब हुनेछन् ।’ ट्रम्पका पूर्वसहयोगी माइकल कोहेनलाई जेल सजाय सुनाइएलगत्तै उनको यस्तो धारणा सार्वजनिक भएको हो । ट्रम्पले चुनावी अभियानका क्रममा रकम गलत प्रयोग गरेको विषयमा अदालतले जेल सजाय सुनाएको थियो । यसै विषयलाई लिएर ट्रम्पलाई कानुनी अड्चन आउने भन्दै यस्तो सोधिएको थियो । त्यसकै जवाफमा ट्रम्पले अमेरिकी अर्थतन्त्र नै ध्वस्त हुने बताए ।
ट्रम्पले भने, ‘जसले रोजगार सिर्जना गरेको छ, त्यस्तो व्यक्तिमाथि कसरी अभियोग लाग्न सक्छ ? मैले यो बुझ्न सकेको छैन ।’ यसअघि राष्ट्रपति ट्रम्पले कोहेन असल कानुनव्यवसायी नभएको भन्दै आलोचना गरेका थिए । उनी प्रमाणभन्दा मागढन्ते कुरा गर्न सीपालु भएको ट्रम्पको आरोप थियो । उनले आफ्ना चुनाव अभियानका पूर्वप्रमुख पोल मानाफोर्टको भने सह्राना गरे ।
ट्रम्पले साहसी भन्दै मानाफोर्टको प्रशंसा गरे । ट्रम्पले ट्विट गर्दै लेखे, ‘यदि कसैले असल कानुनव्यवसायी चाहन्छ भने कोहेनको सेवा कसैले नलेओस् ।’ उनका पूर्ववकील माइकल कोहेनले अदालतसमक्ष ट्रम्पलाई अप्ठेरो पार्ने बयान दिएका थिए । उनले निर्वाचन प्रचार प्रसारका क्रममा दुई महिलासँग ट्रम्पको गैरकानुनी सम्बन्ध रहेको र त्यसबारे नबोल्न उनीहरूलाई ठूलो रकम दिएको सुनुवाइका बेला बताएका थिए ।
बढ्यो चीन-अमेरिका व्यापार विवाद
अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करवृद्धिको घोषणा गरेका छन् । दुई महिनाको बीचमा दुबै मुलुकका उच्च अधिकारीको दोस्रो बैठक बसेलगत्तै दुबै मुलुकले करमा २५ प्रतिशत वृद्धि गरेका छन् । बुधबार मात्र आरम्भ भएको दुईदिने वार्ताको विस्तृत विवरण प्रकाशमा ल्याइएको छैन । सवारीसाधन र धातुजन्य बस्तु समेतका दुवै मुलुकका १६ अर्ब डलर बराबरका सामग्रीमा जरिवाना लाग्नेछ ।
गत महिना पनि दुबै मुलुकले एकअर्काका ३४ अर्ब डलरका सामानमा करवृद्धि गर्ने घोषणा गरेका थिए । पहिलो चरणको करवृद्धि भनिएको यो घोषणासँगै दुबै मुलुकबीच अब ५० अर्ब डलर बराबरका सामानमा करवृद्धि हुनेछ । चीनले करवृद्धि विश्व व्यापार संगठनका नियमको उल्लंघन रहेको भन्दै अमेरिकाको आलोचना गरिरहेको छ । यसविरुद्ध चीनले कानुनी चुनौती दिने पनि जनाएको छ ।
अमेरिकाले राज्यको अग्रसरतामा प्रविधि विकासका कार्य रोक्न चीनमाथि दबाब दिँदै आएको छ तर चीनले त्यसलाई अस्वीकार गरिरहेको छ । चीनको यस कदमले बजारमा प्रतिस्पर्धी स्थिति उत्पन्न नहुने अमेरिकाको भनाइ छ ।
चिनियाँ वस्तुमा कर लगाउन ट्रम्पलाई अमेरिकी विद्वान् र सञ्चारमाध्यमले पनि उकास्दै आएका छन् । अमेरिकाका व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरको प्रतिवेदनले प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति संरक्षण र नवीन प्रविधिको हस्तान्तरण सम्बन्धमा चीनसँग अनुचित व्यापारिक अभ्यास भइरहेको हुनाले कारबाही हुनुपर्ने सिफारिस गर्दै आएको थियो । यसै प्रतिवेदनले चीनमाथि करवृद्धि र अरू दण्डात्मक व्यापारिक उपाय अवलम्बन गर्ने आधार तयार पारेको हो । यो प्रतिवेदन व्यापार युद्धमा एउटा शक्तिशाली हतियारका रूपमा अघि आएको छ ।
न्युयोर्क टाइम्सले पनि यस्तै खाले धारणा अघि सार्दै आएको छ । उसले अमेरिकी कदमले चीन अप्ठेरोमा परेको समाचार सम्प्रेषण गर्दै आएको छ । हालै उसले लेखेको थियो, ‘अमेरिकी कर बढाएलगत्तै त्यसको असर चीनको औद्योगिक उत्पादन र रोजगारीमा पर्न थालेको छ । चीनको नेतृत्वमाथि पनि परिस्थितिलाई काबुमा ल्याउन चीनभित्रै दबाब बढेको छ । विद्युतीय सामग्रीको मागमा देशभित्र र बाहिर ह्रास आइसकेको छ । चिनियाँ अधिकारीले कामदार कटौती गर्न वा निर्यातका अन्य सम्भाव्य मुलुक खोज्न निर्यातकलाई आग्रह गर्न थालेका छन् ।’
चीन र अमेरिकाको यो विवादका कारण अर्थविज्ञहरूले सन् २०२० सम्म विश्वको आर्थिक वृद्धि ०.५ प्रतिशत विन्दुको हाराहारीमारहने चेतावनी दिएका छन् ।
चीन र अमेरिकाबीचको व्यापारिक तनावले अमेरिकालाई हित नगर्ने भनाइ सार्वजनिक भइरहेका छन् । अमेरिकी ट्रेजरी खरिद गर्नेमा चीन नै प्रमुख राष्ट्र हो । मे २०१८ सम्म चीनको अमेरिकामा ११ खर्ब ८० अर्ब डलर ऋण पुगिसकेको छ । यो रकम अमेरिकाको कुनै विदेशी मुलुकसँग रहेको कुल सार्वजनिक ऋणको करिब १९ प्रतिशत हो । चीनले अमेरिकी ट्रेजरीमा लगानी नगर्दा वा ट्रेजरी बिक्री गरेको अवस्थामा अमेरिकी बैंकको ब्याजदर बढ्ने र त्यसले अन्ततः अमेरिकी अर्थतन्त्र धराशायी हुनेछ । अर्थविज्ञ स्टेफेन एस. रोचले हाल चीनमा मात्र ८ हजारवटा विदेशी लगानीका संयुक्त उपक्रमका उद्योग व्यवसाय सञ्चालनमा रहेको र तिनमा अमेरिकी कम्पनीकै वर्चस्व भएको बताएका छन् ।
चीनले अमेरिकामा सन् २०१७ मा ५ खर्ब डलर बराबरको सामग्री निर्यात गरेको थियो । यो कुल निर्यातको झण्डै एक चौथाइ र कुल राष्ट्रिय आर्थिक उत्पादनको करिब ४ प्रतिशत हो । चीनले अमेरिकाबाट १ खर्ब ३० अर्ब डलर बराबरको अमेरिकी सामान आयात गरेको थियो । यही असन्तुलन राष्ट्रपति ट्रम्पका लागि टाउको दुखाइको विषय भएको छ । अमेरिकाले चीनसँग हाल ६ खर्ब ३५ अर्ब डलर बराबरको कारोबार गर्ने गरेको छ । राष्ट्रपति ट्रम्पले चीनसँगको असन्तुलित रकम बराबरकै सामानमा कर बढाउने र त्यसमा आफ्नो जित हुने दाबी गर्दै आएका छन् ।