संगीत संघर्ष : रकस्टार बन्ने सपना

संगीत संघर्ष : रकस्टार बन्ने सपना

ठूले बन्यो इन्जिनियर,

बिर्खे बन्यो राम्रो डाक्टर

तर म बन्छु राम्रो रकस्टार

एक दशकअघि आफ्नै सपनाका विषयमा गीत रेकर्ड गराएका थिए विनोद खम्बूले। तर, सपना देख्न जति सजिलो थियो, पूरा गर्न उस्तै गाह्रो। उनले काठमाडौंमा के मात्र गरेनन्, आफ्नो रंगीन सपना पूरा गर्न। कहिले भारी बोके, कहिले बालुवा चाले अनि कहिले घरका भित्तामा रंग लगाए। उनी सुनाउँछन्, ‘त्यही दुःख र संघर्षले अहिले मलाई संगीतबाटै बाँच्न सक्ने बनाएको छ।’

अहिले गायक तथा संगीतकार विनोद खम्बू विभिन्न ठाउँका कन्सर्टमा गाउँछन्, फिल्म तथा एल्बमका गीतमा संगीत भर्छन्। यसैबाट चलेको छ उनको जीवन। नेपालका विभिन्न ठाउँ र विदेशमा समेत आफ्नो गायन कला देखाइसकेका खम्बूले नेपाली संगीत क्षेत्रमा स्थापित हुन कम्ती दुःख गरेका छैनन्। उनले राजेशपायल राई, मेलिना राई लगायतका धेरै गायकगायिकाको स्वरमा संगीत भरिसकेका छन्। राजेशपायलले गाएको ‘वशमा छैन यो मन’, ‘सेली आई लभ यु’, मेलिना राईले गाएको ‘छाडी जाने भए तिमी’, मौसमी गुरुङले गाएको ‘शीतल शीतल छायाँ तिम्रो’ लगायत धेरै गीतमा संगीत भरेका छन् खुम्बूले। उनका आफ्नै गीतहरू पनि चर्चित छन्। लोकशैलीका ‘झझल्को आइरहन्छ’, ‘झन्झन् खायो’ लगायतका गीत गाएका उनको रकस्टार बन्ने सपना त अझै पूरा भएको छैन, त्यसैले कर्म निरन्तर छ।

सानोमा दसैंतिहारको छेकोमा गाउँदा सबैले ‘स्वर राम्रो छ’ भनेर हौस्याएपछि २०५३ सालमा गायक बन्ने सपना देखेर उनी काठमाडौं आए। २०५४ सालमा रेडियो नेपालबाट स्वरपरीक्षा पनि पास गरे। तर, आर्थिक अवस्था नाजुक थियो। जीवन चलाउने मेलो खोजे। काठमाडौंको बसाइ, घरबाट पैसा मगाउने अवस्था थिएन। ‘घट्टेकुलो चोकको पसलमा काम गर्थें, त्यहाँबाट मासिक १२ सय पाउँथेँ। कामचाहिँ चामल, चिनीको बोरा ल्याउनुपर्ने कालीमाटीदेखि’, उनी सुनाउँछन्, ‘बोरा लोड अनलोड गर्ने, गोदाममा राख्ने सबै आफैंले गर्थें। ग्राहक आए भने नाम्लोमा बोकेर घरसम्म लगिदिन्थेँ। जे भेट्यो, त्यही काम नगरेर के गर्नु, भन्नेबित्तिकै काम पाइँदैनथ्यो।’

कहिले भारी बोके, बालुवा चाले अनि कहिले घरका भित्तामा रङ लगाए। तर, विनोद खम्बूको गायन र संगीत सपना तुहिएन। त्यही सपना अहिले विपनामा परिणत हुँदैछ।

काम गर्दै फुर्सद मिलाएर संगीत पनि सिक्थे। तर, फी तिर्ने पैसा हुँदैनथ्यो। एक महिना पुगेपछि पैसा तिर्ने बेलामा त्यो स्कुल छाडेर अर्कोमा जान्थे। यसरी डोरेमी, साधना कला केन्द्रलगायत ५÷६ वटामा सिके, बिनापैसा। पछि इटहरीका राम कार्कीले उनको संगीतप्रतिको लगाव देखेर एक वर्ष निःशुल्क सिकाइदिए।

संगीतमा संघर्ष गर्ने क्रममा केही समय काठमाडौंका बोर्डिङ स्कुलमा पढाए तर तलबले खानबस्नै नपुग्ने भएपछि पढाउन छाडेर घरमा पेन्टिङ गर्ने काम सुरु गरे। ‘घर बनाएको ठाउँमा बालुवा चाल्ने काम पनि गरेँ। इँटा पनि बोकेँ’, भन्छन्, ‘चार तलामाथि घरमा पेन्टिङ गर्दा छेउबाटै प्लेन उडेको देख्थेँ। कुनै दिन म पनि यही जहाजमा चढ्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो। भगवान्ले जुराए। गायक भएर प्लेन चढियो, विदेश पनि पुगियो।’

अहिलेसम्म उनले पाँचवटा एकल एल्बम निकाले। अरूका आधा दर्जन एल्बममा संगीत भरे, गाए। संगीत क्षेत्रमा चल्न संघर्षमात्र होइन, भाग्य पनि चाहिने रहेछ भन्ने लाग्छ उनलाई। भन्छन्, ‘नेपाली संगीत क्षेत्रलाई राम्रो गीतसंगीत दिने अनि आफ्नो फरक पहिचान बनाउने सोचमा छु। मौलिक संगीतकारको परिचय बनाउन चाहन्छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.