अमेरिकी र नेपाली युवामा फरक के छ ?
नेपालबाट पहिलोपटक डीभी परेर अमेरिका पुग्ने परिवारका सदस्य हुन् दुर्गा दाहाल। उनकी श्रीमती कल्पना दाहाललाई डीभी परेपछि दुर्गा सपरिवार अमेरिका बस्दै आएका छन्। सन् १९८९ मा कल्पनासहित नेपालबाट पाँच जनालाई डीभी परेको थियो। झन्डै २५ वर्ष अमेरिकामा बिताएका दुर्गासँग अमेरिकी समाज र त्यहाँका युवामाथि शैलीका लागि गरिएको कुराकानी।
लामो समयदेखि अमेरिका बस्दै आउनुभएको छ। अमेरिकन किशोरकिशोरीमा अध्ययनप्रतिको लगाव कस्तो पाउनुहुन्छ ?
– पुस्तकालय र क्याफेमा बसेर पढिरहेका किशोरकिशोरी थुप्रै देखिन्छ। घरभित्रै बसेर पढ्न मन लाग्दैन होला। कलेजका पुस्तक किन्न महँगो हुन्छ, त्यसैले पनि उनीहरू बढी पुस्तकालय प्रयोग गर्छन्। रिफरेन्स पुस्तक पाइने, दिनैभरि ल्यापटप चलाएर बस्न पाइने। कफीसप अध्ययनका लागि अर्को महत्वपूर्ण ठाउँको रूपमा लिइन्छ। किनकि त्यहाँ शान्त हुन्छ, इन्टरनेट हुन्छ। प्रायः विश्वविद्यालयको वरिपरि ठूलठूला कफी सप हुन्छन्। त्यस्ता कफी सपमा विद्यार्थीको संख्या बढी हुन्छन्।
उनीहरू भ्रमण वा यात्रामा चाहिँ कत्तिको निस्किन्छन् ? अध्ययन बाहेकका क्रियाकलापमा पनि सामेल हुन्छन् होला नि ?
– अत्यधिक। घुम्न बहुत रमाइलो मान्छन्। पार्क वा ट्रेकिङ जाने हो भने तन्नेरीको भीड नै देखिन्छ। स्कुल कलेजले लैजाने भ्रमण त छँदैछ। त्यसबाहेक पनि ‘रिफ्रेस’ हुनका लागि साथीसँग मिलेर विभिन्न ठाउँ पुगिरहेकै हुन्छन्। धेरै विद्यार्थी ‘समर’मा काम गर्छन्। काम गरेको पैसाले बाँकी नौ महिना घुम्छन्, अध्ययन गर्छन्। नेपालबाट गएका युवायुवती पनि त्यही वातावरणमा सिफ्ट हुन्छन्।
आर्थिक रूपमा ‘युथ’हरू परिवारमा कति निर्भर हुन्छन् ?
– परिवारप्रति निर्भर हुने प्रवृत्ति नेपालमा चाहिँ अत्यधिक छ। यहाँ परिवारको सम्पत्तिमा धाक लगाउनेहरू धेरै भेटिन्छन्। आफू काम गर्दैनन् तर बाबुआमाले कमाएको सम्पत्तिमा उनीहरू घमण्ड गर्छन्। नेपालका किशोरकिशोरी (विशेषगरी केटाहरू) परिवारमा कति निर्भर छन् भने कपडा पनि आफैं धुँदैनन्। ठूलो भइसक्दा पनि आमा वा दिदीहरूले धोइदिन्छन्। लुगा धुन त आफैं सकिन्छ नि ! तर, अरूप्रति जिम्मेवार हुन्छौं। यो संस्कृति अमेरिकी युवायुवतीमा छैन। उनीहरू सानैदेखि काम गर्छन्। परिवारको सम्पत्ति छ भन्दै कामै नगर्ने भन्ने हुँदैन त्यहाँ। उनीहरू काम गर्छन्, सानैदेखि जिम्मेवार हुँदै जान्छन्।
नेपाली किशोरकिशोरीले उनीहरूबाट सिक्नुपर्ने कुरा चाहिँ के हो ?
– त्यहाँको ‘कल्चर’ राम्रो छ। तन्नेरी बेलादेखि नै काम गर्छन्। पैसा कमाउँछन्। उनीहरू एकाग्र भएर पढ्छन्। हाम्रा नेपालीहरू त्यहाँ गएर पनि ‘पार्टी पोलिटिक्स’ गर्छन्। पढ्न गएका विद्यार्थी पार्टीमा बाँधिएर विभिन्न कार्यक्रम गर्दै हिँडेको देखेको छु। अमेरिकनलाई पार्टी पोलिटिक्सको मतलव छैन। जुन क्षेत्रमा अमेरिकन युथ लागेका छन् त्यसमा ज्यान दिएर लाग्छन्। हरेक कुरालाई उनीहरू महत्वपूर्ण क्षेत्र हो भनेर बुझ्छन्, त्यो हामी नेपालीमा छैन। हामी नम्र छैनौं, सहयोगी छैनौं। उनीहरूको व्यावहारिक पक्षलाई हाम्रा युवाले ख्याल गर्नुपर्छ।
नेपालबाट भर्खर अमेरिका पुगेकाहरूले के कुरामा ध्यान दिने ?
– पहिले त आफ्नो ‘गोल’ के हो, थाहा पाउनुस्। पढ्न गएको हो भने खुरुखुरु पढ्नुस्। खर्च पुग्दैन भने सामान्य काम खोज्नुस् र बाँकी समय पढ्नुस्। परिवारको अपेक्षा हुन्छ तपाईसँग। तपाईंको पनि जिम्मेवारी होला। आफ्नो जिम्मेवारी पूरा गर्नुस् ! पढाइमा राम्रो गर्नुभयो भने तपाईंलाई विश्वविद्यालय वा शिक्षकले हरदम सहयोग नै गर्छन्। राम्रो मेहनत गर्नेहरूले त त्यहाँ छिट्टै प्रगति गर्छ।
त्यहाँको प्रेम संस्कृतिमाथि पनि कुरा गरौं न !
– ५/६ कक्षा पढ्दादेखि नै उनीहरू प्रेमसम्बन्धमा हुन्छन्। धेरै त कलेज पढ्ने उमेरसमूहमा पुगेपछि विवाह नै गर्छन्। उनीहरूको मागी विवाह एकदमै कम हुन्छ। धेरैको त प्रेमविवाह नै हुन्छ। प्रेम सम्बन्धमा रहनेहरू विवाह नै गर्छन् भन्ने हुँदैन तर प्रेमलाई स्वाभाविक रूपमा लिन्छन््। ‘लभ रिलेसन’प्रतिको धारणा पनि खराब छैन अमेरिकामा। उनीहरू खुला छन्।
अमेरिकन युथका कमजोरी पनि त होलान् नि !
– कमजोरी पर्याप्त छन्। उनीहरू रक्सी पिएर ‘ड्राइभ’ गर्छन् र धेरै दुर्घटना हुन्छ। यो उनीहरूको सबैभन्दा ठूलो ‘मिस्टक’ हो। त्यस्तै उमेर नै नपुगी ड्रिङक्स गर्छन्। ड्रग्स ओसारपसार गर्छन्। त्यहाँ बलात्कार मौलाएको छ। समस्या त अरू पनि होलान्। तर, देखिने समस्या यिनै हुन्।