म आवाजविहीनको आवाज हुँ
१२ वर्षीय जोनाथन ब्रायन बोल्न सक्दैनन्। लेख्न पनि सक्दैनन्। जन्मँदै सीपी (सेरेब्रल पाल्सी) का बिरामी थिए उनी। शरीरका केही अंग चलाउन मिल्ने भए पनि यताउता हिँड्न सक्दैनन् जोनाथन। ह्विलचेयरको प्रयोग गर्नुपर्छ।
परिवारले जोनाथनलाई सांकेतिक भाषा सिकाए। उनीसँग कुराकानी गर्नका लागि शब्दबाहेकका विकल्पहरू ल्याइयो। जोनाथनले केही कुरा सिक्न नसक्ने स्कुलका शिक्षकहरू बताउँथे। उनमा सिक्न सक्ने क्षमता नै नभएको धेरैको भनाइ थियो।
समय त्यसपछि बदलियो जब जोनाथनलाई आमाले स्कुलबाहिरै पढ्न÷लेख्न सिकाउन थालिन्। र, उनीसँग कुराकानी गर्न थालिन्। आमा चान्टल ब्रायनले उनलाई दैनिक केही घन्टा पढाउन थालिन्। त्यतिबेला जोनाथन नौ वर्षका थिए।
अहिले उनी ‘इ–ट्रान फ्रेम’ को माध्यमबाट कुराकानी गर्ने मात्र होइन, पुस्तक नै लेख्न सक्ने भएका छन्।
‘म आवाजविहीनको आवाज हुँ ’
जोनाथन अहिले बेलायत, विल्टसायरमा बस्दै आएका छन्। उनी आँखाको माध्यमबाट शब्दहरू उच्चारण गर्न सक्छन्।
शब्द र ‘कलर कोडिङ’ सिस्टमसहितको पारदर्शी प्लास्टिक बोर्ड हो, ‘ई–ट्रान फ्रेम’। त्यस प्लास्टिक बोर्डले आँखाले प्रयोग गर्न खोजेको शब्दलाई संकेत गर्छ। जोनाथन बोल्नका लागि अहिले यही प्रविधिको प्रयोग गर्छन्।
जोनाथनको पुस्तक ‘आई क्यान राइट’ (आँखाले लेख्न सक्छ) ले ब्रायनबारे बुझाउँछ। पुस्तकको सुरुतिर आमाको दृष्टिकोणबाट जोनाथनलाई नियालिन्छ। जोनाथनको बाल्यकालदेखि उसले बोल्न–लेख्न जानेको कुरालाई प्रष्ट्याइन्छ। त्यसपछि जोनाथनले आफ्नो जिन्दगीमाथि आफैं लेखेका छन्। पुस्तकमा उनले आफ्नो धर्म क्रिश्चियानिटीमाथि पनि लेखेका छन्।
पुस्तक लेख्न उनलाई एक वर्ष लागेको उनीकी आमा बताउँछिन्। गत १२ जुलाईमा पुस्तक विमोचन भयो। पुस्तकप्रति धेरैले सकारात्मक प्रतिक्रिया जनाएका थिए। पुस्तक जोनाथनको जिन्दगीमाथि भए पनि पुस्तकले दिने सन्देश धेरैलाई काम लाग्ने उनकी आमाको विश्वास छ। भन्छिन्, ‘अन्य बच्चा र आमाहरूका लागि पनि किताब प्रेरणादायी हुन सक्छ।’
‘मेरो छोराको शरीर चल्दैन। तर, उसको दिमागै चल्दैन भन्ने चाहिँ होइन। उसको दिमाग सक्रिय छ,’ चान्टल ब्रायनले भनिन्।
इ–ट्रान फ्रेममार्फत जोनाथनले सीएनएनलाई भने, ‘म आवाजविहीनहरूको आवाज हुँ।’
‘जब हामी केही कुरा भन्न सक्छौं, पूर्ण जिन्दगी बाँच्न सक्छौं’
जोनाथन अब बालबालिकाले पढ्न÷लेख्न वा सिक्न पाउनुपर्छ भन्ने अभियानमा छन्।
यस पुस्तकबाट आएको पैसा उनले एउटा संस्था ‘टिच अस टु’ लाई दिँदैछन्। यो संस्थाले अध्ययनका सम्बन्धमा विभिन्न काम गर्दै आएको छ। बालबालिकाको अध्ययनका सम्बन्धमा विभिन्न काम गरिरहेको छ, टिच अस टु ले।
‘जब हामी उच्चारण गर्न सक्छौंँ, त्यसले हामीलाई आवाज दिन्छ। त्यसपछि हामी पूर्ण जीवन बाँच्न सक्छौं,’ जोनाथनले भने।
सीएनएनबाट