सामान्य बन्दै महेन्द्रनगर, सरकारी छानबिन समिति आइपुग्यो

सामान्य बन्दै महेन्द्रनगर, सरकारी छानबिन समिति आइपुग्यो

महेन्द्रनगर : लगातार तीनदिनदेखिको आन्दोलनका कारण तनावग्रस्त बनेको कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको अवस्था सामान्य बन्दै गएको छ । 

शुक्रबार बिहानैदेखि अवस्था केही सामान्य बनेको हो । आन्दोलनरत स्थानीयवासीले उठाएको माग अनुरुप सरकारले निर्मला पन्त हत्याको छानबिनका लागि समिति गठन गरेको र कञ्चनपुरका सीडीओ, एसपी र डीएसपीको सरुवा गरेपछि अवस्था केही सामान्य बनेको हो । 

स्थानीय प्रशासनले लगाएको कफ्र्यूसमेत बिहान ५ बजेपछि हटेपछि मानिसको आवतजावतसमेत बढेको छ । तीन दिनदेखि बन्द रहेका बजार व्यवसाय छिटपुट रुपमा खुल्न थालेका छन् । 

स्थानीय प्रशासनले भने सम्भावित प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षाकर्मीको उपस्थित बाक्लो बनाएको छ । कञ्चनपुरमा बिहीबार मात्रै गृहमन्त्रालयले खटाएका प्रहरी प्रमुख एसपी कुवेर कडायतले शुक्रबारदेखि अवस्था सामान्य बन्दै गएको बताए । 

‘सरकारले घट्नाको अनुसन्धान गर्न छानबिन समिति बनाएको छ’, उनले भने, ‘सीडीओ र एसपीसमेत फेरि सकेकाले सबैले अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्छ।’ महेन्द्रनगर बजार क्षेत्रमा प्रदर्शन नभए पनि स्थानीयले जिल्लाका विभिन्न स्थानमा प्रहरीले गरेको दमनको विरोधमा केही स्थानमा बिहान टायर बालेर प्रदर्शन गरेका छन् । 

दमनविरुद्ध शैक्षिक संस्था बन्द

हत्याकाण्डको विरोधमा भइरहेको आन्दोलनमा प्रहरी प्रशासनले दमन गरेको विरोधमा कञ्चनपुरका शैक्षिक संस्था भने बन्द छन् । आन्दोलनमा प्रहरीले दमन गरेर गोली चलाएको विरोधमा शुक्रबार एकदिन शैक्षिक संस्था बन्द गरिएका हुन् । 

जिल्लास्थित प्याप्सन, एनप्याप्सन आवद्ध विद्यालयले प्रहरी दमनको  विरोधमा एकदिन शैक्षिक संस्था बन्द गरेका हुन् । बिहीबार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । 

प्रहरीले चलाएको गोली लागेर ६ जना घाइते भएका छन् । घाइतेमध्ये महेन्द्रनगरका अर्जुन भण्डाराको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ भने तेजराज भट्टको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य उपचारपछि घर फर्किएका छन् ।  

छानबिन समिति आयो

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या सम्बन्धमा छानबिन गर्न गठन गरिएको सरकारी समिति कञ्चनपुर आइपुगेको छ । शुक्रबार बिहान काठमाडौँबाट धनगढी विमानस्थल पुगेको टोलीले ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेट गरी कञ्चनपुर प्रस्थान गरेको हो । 

गृहमन्त्रालयका सह-सचिव हरिप्रसाद मैनाली नेतृत्वमा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलगायत पाँच सदस्य रहने गरी गठन गरेको छानबिन टोली कञ्चनपुर पुगे लगत्तै आफ्नो काम थाल्ने छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले टोली कञ्चनपुर पुगेपछि पीडित परिवार र सरोकारवाला निकायसँग भेट गरेर अनुसन्धान थाल्ने जानकारी दिए । 

परिवारजनले सरकारले गठन गरेको समितिले निष्पक्ष छानबिन गर्ने र आफ्नो छोरीले न्याय पाउनेमा ढुक्क रहेको बताए । गृहमन्त्रालयले कञ्चनपुरका एसपी दिल्लीराज विष्टलाई मन्त्रालय ताने लगत्तै बिहीबार नै कञ्चनपुर पठाइएका एसपी कडायतले कार्यभार सम्हालेका हुन् । 

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले शुक्रबारदेखि कार्यभार सम्हाल्ने छन् । समितिको सदस्यमा नेपाल प्रहरीका डीआईजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका डीआइजी वसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र ७ नम्बर. प्रदेशका उपसचिव वीरेन्द्र केसी रहेका छन् । टोलीलाई १५ दिनभित्र घटनाको प्रतिवेदन बुझाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.