'मेरो जीवनकै अर्को एक महत्वाकांक्षी गीतको तयारीमा छु'
नेपाली लोकगीतको क्षेत्रमा परिचित नाम हो, रेखा शाह। २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा ‘सिमसिमे पानीमा’ले प्रथम स्थान हासिल गरेपछि रेखाले पछाडि फर्केर हेर्नु परेन। १५ वर्षको उमेरमा आफूले पहिलोपटक गाएको यही गीतले रेखालाई नेपाली सांगीतिक क्षेत्रमा सधैं उत्तिकै लोकप्रिय बनायो। ‘आकृति’, ‘द लाइन’, ‘स्मृति’जस्ता एल्बम श्रोतामाझ ल्याइसकेकी रेखाका ‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्की आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमीबिना म एक्लै’ लगायत गीत चर्चित छन्। उनीसँग रामकला खड्काले गरेको १० प्रश्न।
तपाईंका कुनै नयाँ गीत आउँदै छ कि ?
भर्खरै एउटा गीत ‘पंख फिजाई’ सकाएर युट्युब च्यानलमा रिलिज गरेँ। यसमा शब्द भूपेन्द्र खड्का, संगीत कमल खत्री र एरेन्ज विजेश्वर तण्डुकारको छ। अनुपविक्रम शाही र मैले मोडलिङ गरेको गीतको भिडियोको निर्देशन नीतिन चन्दले गर्नुभएको छ। यो युवा पुस्तालाई लक्षित गरेर तयार पारिएको फरक स्वादको गीत हो।
सिमसिमे पानीको सफलतापछि श्रोतले यस्तै गीत कहिले सुन्न पाउँछन् ?
मेरो जीवनकै अर्को एक महत्वाकांक्षी गीतको तयारीमा छु। दसैंअगाडि नै यो गीत रिलिज गर्ने सोच छ। गीतले बालबालिकादेखि बूढापाकासम्म छुने देखिन्छ। लोक फ्लेबरको यसको शब्द र संगीत दीपक शर्माको छ।
सांगीतिक क्षेत्रको करिब २५ वर्षको अनुभव कस्तो रह्यो ?
जतिबेला मैले गायन यात्रा सुरु गरेँ, सांगीतिक ज्ञान नै नभई गरेँ। गाउँदै जाँदा केही अनुभवले सिकायो भने केही गुरुहरूमार्फत सिकेँ। हाल पनि चण्डीप्रसाद काफ्ले गुरुसँग छैंटौं वर्षमा संगीत सिक्दैछु। प्रतिस्पर्धा त्यतिबेला कम थियो, अहिले बढी छ। कलाकार थोरै थिए, अहिले धेरै छन्। सम्मान र माया त्यतिबेला धेरै पाइन्थ्यो, अहिले अलि फरक शैलीको पाइन्छ। त्यसैले यो अवधिमा मैले आफूलाई परिपक्व भएको पाए पनि ‘पर्फेक्सन’ पाएको छैन।
तपाईं आफैंलाई मन परेको गीत कुन हो ?
भूपेन्द्र खड्काको शब्द र सुगम पोख्रेलको संगीतमा रहेको ‘एक दिन तिमी फर्की आउनेछौं’ बोलको गीत मलाई असाध्यै मन पर्छ। गीतको शब्द त राम्रो छ नै, त्यसमा पनि सुगमजीले राम्रो संगीत भरिदिएपछि त्यो त्यसै सुन्दर भयो। गीतका मर्म मेरो जीवनसँग मिल्दोजुल्दो त छैन तर पनि खै किन हो, यो गीतले मेरो मन छोयो।
फिल्ममा आइरहेका लोक फ्लेबरका गीतबारे तपाईंको बुझाइ के छ ?
कुनै एउटा समयमा दोहोरीले यति खायो कि आधुनिक गीत ओझेलमै पर्यो। तर अहिले फेरि लोकगीतले खाइरहेको छ। तर हाम्रो मार्केट सानो भएकाले एउटा गीत चलेपछि त्यसैलाई फलो गर्ने चलन छ। अहिलेको अवस्थामा फिल्मका गीत पहिलेको भन्दा राम्रो र स्तरीय बन्न थालेका छन्। लोक फ्लेबरका गीतले फिल्ममा धेरै स्थान पाउन थाले। तर अब उस्तै उस्तै खालका गीतहरू धेरै आइरहेकाले यो ट्रेन्ड पनि चाँडै नै परिवर्तन हुन्छ होला।
तपाईंले जेन्डर स्टडिजमा स्नातकोत्तर गर्नुभएको छ। लोकगीतमा महिलालाई प्रयोग गरिने शब्द त्यति मर्यादित हुँदैनन् भन्ने लाग्छ कि लाग्दैन ?
लोकगीत मात्रै नभई आधुनिक गीतमा पनि महिलालाई होच्याउने खालका केही शब्द प्रयोग गरिएका हुन्छन्। तर यसो भन्दैमा सबै लोकगीत र आधुनिक गीतलाई यो दोष लगाउन पनि मिल्दैन। गीत मात्रै नभई विज्ञापनमा पनि महिलालाई एक्सपोज गर्ने र होच्याउने गरेको पाइन्छ। मानिसमा चेतनाको कमीले पनि यस्तो भइरहेकाले महिला मन्त्रालय र अन्य मन्त्रालयमार्फत जेन्डर पढेका व्यक्तिलाई प्रयोग गरी यस्ता विषयमा चेतना अभिवृद्धि गर्नुपर्छ। त्यसैगरी मिडियाकर्मीलाई पनि लैंगिक रूपमा सचेत बनाउनुपर्छ।
युवाहरू अंग्रेजी गीतमै बढी झुम्मिन्छन्। हाम्रा लोकगीतले उनीहरूलाई तान्न नसकेको जस्तो तपाईंलाई लाग्दैन ?
गाउँमै जन्मे हुर्केकाले मात्रै लोकगीत गाउँछन् र सुन्छन् भन्ने होइन। सहरिया र आधुनिक सोच बोकेका मानिस आधुनिक र र्यापमा रमाएका हुन्छन्। त्यसैगरी गाउँमै पढेका मानिस पनि अंग्रेजीमा पोख्त हुन्छन् र उनीहरूले अंग्रेजी मात्रै होइन लोकगीत पनि मन पराउन सक्छन्। त्यसैले यो नितान्त व्यक्तिगत रोजाइमा भर पर्ने विषय हो। जसले आफ्नो संस्कृति, मौलिकता, पहिचान र राष्ट्रियता बुझेको छ, उसले लोकगीत मन पराउँछ र माया गर्छ।
लोकगीतमा के आइदिए हुन्थ्यो जस्तो लाग्छ ?
नेपाली ठेट शब्दहरू र बाजाहरू हराउँदै गएका छन्। लोप हुन लागेका बाजाहरूको संरक्षण गरी लोकगीतमा तिनको प्रयोग होस्। शब्द सरल र सहज होस्। यिनमा छाडापन नहोस् भन्ने लाग्छ।
नेपाली लोकगीतको श्रोताहरूसँग कस्तो अपेक्षा गर्नुहुन्छ ?
हामीले गाएको गीत र भिडियो दर्शक श्रोताले नहेरे कसका लागि गाउने ? त्यसैले गायकगायिकाको गीत सुनेर र हेरेर साँच्चै राम्रो चीजलाई राम्रो भन्ने चेतना श्र्रोताहरूमा हुनुपर्छ भन्ने मलाई लाग्छ।
रेखा शाह फाउन्डेसनमार्फत के कस्ता काम भइरहेका छन् ?
हाल गोकर्णस्थित जोन एकेडेमीमा १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। विद्यार्थीको संख्या बढाउने सोच छ। यसका लागि कोष जुटाउने प्रयासमा छु। भूकम्पताका एक सय ७० घरलाई राहत पनि बाँड्यौं। आगामी दिनमा धेरै काम गर्ने सोचमा छु।