क्यान्सर अस्पताललाई शिक्षण संस्थाको मान्यता
भक्तपुर : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले भक्तपुर क्यान्सर अस्पताललाई शिक्षण संस्थाको मान्यता दिएको छ। प्रतिष्ठानले स्नातक (पोस्ट ग्राजुयट) अध्ययनरत विद्यार्थीलाई अस्पतालमा प्रयोगात्मक तालिमको लागि सम्झौता गर्दै शिक्षण संस्थाको रुपमा मान्यता दिएको हो।
उक्त सम्बन्धमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. भरतकुमार यादव र भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
प्रतिष्ठानका रेक्टर प्रा.डा. राजेश गंगाल र डीन प्रा.डा. सृजना श्रेष्ठ तथा अस्पतालका मेडिकल निर्देशक प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ र नेपाल अर्बुदरोग निवारण संस्थाका महासचिव विमलकुमार होडालाई साक्षी राखी उक्त सम्झौता गरिएको हो।
सम्झौताअनुसार प्रतिष्ठानले पोस्ट ग्राजयुटतर्फ गाइने र मेडिकल अध्ययनरतलाई भक्तपुर क्यान्सर अस्पतालमा चारचार हप्ताको प्रयोगात्मक तालिम गर्न पठाउनेछ। उक्त तालिमको लागि भक्तपुर क्यान्सर अस्पतालले सुपरभाइजरसँगै चिकित्सकलगायतका जनशक्ति उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै प्रतिष्ठानले पनि अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई उसकहाँ हुने तालिम तथा सेमिनारमा सहभागी गराउने सम्झौतामा उल्लेख छ।सम्झौतापत्र आदानप्रदान गर्दै प्रतिष्ठानका उपकुलपति प्रा.डा. यादवले सम्झौता सुरुवात भएको भन्दै अन्य विषयका विद्यार्थीहरुलाई पनि प्रयोगात्मक तालिममा पठाइने जानकारी दिए।
क्यान्सर उपचारमा अस्पतालले पाएको ख्याति, उपलब्धि र सफलताको आधारमा प्रयोगात्मक तालिमको लागि भक्तपुर क्यान्सर अस्पताल चुनिएको उनले स्पष्ट पारे। त्यस्तै भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले सम्झौतासँगै अस्पताललाई शिक्षण संस्थाको रुपमा अघि लान सहज हुने विश्वास व्यक्त गरे।
सम्झौताले क्यान्सर उपचारको लागि नेपालमै दक्ष एवं विशेषज्ञ चिकित्सकहरु उत्पादन हुने उनले दावी गरे। सम्झौतामा प्रतिष्ठानअन्तर्गत गाइने विभागका प्रमुख प्रा.डा. पवन शर्मा र मेडिकल विभागका प्रमुख प्रा.डा. पारशमणि आचार्यको समेत उपस्थिति थियो।
प्रतिष्ठानका प्रतिनिधिमण्डललाई अस्पतालका मेडिकल निर्देशक प्रा.डा श्रेष्ठले अस्पतालको भ्रमणसँगै जानकारी गराएका थिए।उनले अस्पतालको लक्ष्य पनि शैक्षिक संस्थाको रुपमा अघि बढ्ने रहेको जानकारी दिए।