भूमि सम्बन्धी समस्या समाधानको गृहकार्यमा सरकार
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले वर्तमान सरकार भूमि सम्बन्धी सबै समस्या समाधान गर्नेगरी गृहकार्यमा लागेको बताएकी छन्।
भूमिहिन दलितलगायतका सीमान्तकृत समुदायका परिवारलाई एकपटक जग्गा उपलब्ध गराउने बताउँदै मन्त्री अर्यालले सुकुम्बासी, भूमिहिन, हलिया, मोही, हरावा चरवा, मुक्त कमैयालगायतका समुदायमा देखिएको भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार लागि परेको बताएकी छन्।
शुक्रबार भूमि अधिकार मञ्चले मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्। ‘समस्या पहिचान भइसकेको छ, अब जनमुखी कानुन बनाएर समस्याको समाधान गर्ने तयारीमा छौं’, मन्त्री अर्यालले भनिन्, ‘समृद्ध नेपाल, सुखी नेपाली नारालाई सफल पार्न सबैले सहयोग गर्नुपर्छ।’
भूमिअधिकारकर्मी जगत देउजा, मंचका अध्यक्ष ल्यामबहादुर दर्जी, सरस्वती सुब्बालागायतले मन्त्री अर्यालसँग भूमि समस्या समाधानको माग गरेका हुन्।