घर भत्किएर एकजनाको मृत्यु
सिमरा : लगातारको वर्षाका कारण घर भत्किएर बाराको डुमरवानामा बिहीबार राति एकजनाको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित बेहरी टोलमा घर भत्किएर थिच्दा ४६ वर्षीय चोथाई माझीको मृत्यु भएको हो।
घरमा एक्लै सुतेका उनलाई छाना छाएको टायलले थिचेको अवस्थामा स्थानीयले शुक्रबार बिहान देखेका थिए। माझीको घर पूर्णरुपमा भत्किएको छ। उनको घटनास्थलमै मृत्यु हो।
माझीको शव परीक्षणका लागि वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए। हमालका अनुसार माझीको टाउकोमा चोट देखिएको छ।
केही बर्ष अघि पत्नीले विष सेवन गरेर आत्महत्या गरेपछि माझी एक्लै घरमा बस्दै आएका थिए। उनका १२ वर्षीय एकमात्र छोरा जनकपुर बस्छन्।