एसियाली खेलकुद : जापानकी इकीलाई कीर्तिमानी आठ पदक
जाकार्ता : जापानकी रिकाको इकीले एकै एसियाली खेलकुद प्रतियोगितामा व्यक्तिगत सर्वाधिक आठ पदक जित्ने कीर्तिमान बराबरी गरेकी छिन्। शुक्रबार भएको पौडीतर्फको ५० मिटर फ्रि स्टाइलमा स्वर्ण जित्दै उनले एकै एसियाली खेलकुद प्रतियोगितामा व्यक्तिगत सर्वाधिक पदक जित्ने कीर्तिमान बराबरी गरेकी हुन्।
१८ वर्षीया इकीले ३६ वर्ष पुरानो कीर्तिमान बराबरी गरेकी हुन्। यसअघि सन् १९८२ मा उत्तर कोरियाका सुटिङ खेलाडी सो जिन मानले आठवटा पदक जित्दै यो कीर्तिमान कायम गरेका थिए। शुक्रबार जाकार्ताको पौडी पोखरीमा चीनकी लिऊ झियाङ र ऊ क्विङफेङलाई पछि पार्दै स्वर्ण जितेसँगै उनले नयाँ कीर्तिमानमा आफ्नो नाम पनि लेखाएकी हुन्।
‘सायद मैले प्रतिस्पर्धा गरेकोमध्ये सबैभन्दा नर्भस यसै स्पर्धामा बनेकी थिए’, कीर्तिमानी पदक जितेपछि इकीले भनिन्, ‘मैले साँच्चिकै सोचेकी थिइन् कि मैले पदक जित्छु भनेर। तर, अन्त्यमा आफूलाई पदकका लागि रोक्न सकिनँ।’ इकीले प्रतियोगितामा ६ स्वर्ण पदक जितिन्। उनी एकै एसियाली खेलकुद प्रतियोगितामा ६ स्वर्ण पदक जित्ने र समग्रमा आठ पदक जित्ने पहिलो महिला पनि खेलाडी बनेकी छिन्।
एसियाली खेलकुद प्रतियोगिताको सफलताले सन् २०२० मा आफ्नै देशले आयोजना गर्ने ओलम्पिक खेलकुदमा समेत उनको सफलताको सम्भावना देखिएको छ। इकी जापानले दुई वर्षपछि आफैंले आयोजना गर्ने ओलम्पिक खेलकुदका लागि तयारीमा राखेको खेलाडीमध्येकी हुन्। इकीले जारी एसियाली खेलकुद प्रतियोगितामा कीर्तिमानी प्रदर्शन गर्दै देशले आफूमाथि गरेको विश्वास र लगानीको सही सदुपयोगसमेत गरेकी छन्।