पहिरोले चार घर बगायो
विदुर : नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं. ५ सिंगारेमा अविरल वर्षापछि आएको पहिरोले चार घर बगाएको छ। सदरमुकाम विदुरदेखि ३० किलोमिटर उत्तरमा रहेको यो स्थानमा स्थानीय भोजबहादुर मगर, अर्जुन मगरको २ पक्की र २ कच्ची घर बगाएको सुनौलो विहानी युवा क्लबका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए।
भोजबहादुरको घर बगाउनुका साथै एउटा राँगो, ६ वटा खसीबाख्रा तथा नगद ५५ हजारसमेत गरी दुई लाख नौ हजार रुपैयाँ बराबर र स्थानीय अर्जुन मगरको एउटा बोका, ४ वटा बाख्री, अन्नपात लत्ताकपडा गरी ७० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।
सूर्यगढी-५ सिंगारेमा गएको पहिरोमा परी घरवार विहीन भएका मगर दाजुभाइलाई सुनौलो बिहानी क्लबको सक्रियता र स्थानीयवासीको सहयोगमा फेदिबेसी, पिप्ले, माछापोखरी बजारका बासिन्दाबाट नगद ४० हजार ६ सय रुपैयाँ संकलन गरी सहयोग उपलब्ध गराइएको छ।