बाढीपहिरोले नलगाडको जनजीवन अस्तव्यस्त

बाढीपहिरोले नलगाडको जनजीवन अस्तव्यस्त

जाजरकोट : केही समयअघि जिल्लाको नलगाड नगरपालिकाका विभिन्न वडामा गएको बाढीपहिरोले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । बाढीपहिरोले घर, पुल, मिल, घट्ट, धानखेत र बाटोघाटो बगाउँदा जनजीवन अस्तव्यस्त भएको हो । 

नगरले एक साता लगाएर तयार पारिएको क्षतिको विवरणअनुसार बाढीपहिरो नलगाड नगरपालिकामा एक जनाको मृत्यु भएको छ । २३ घर बगाएको छ । १५ घरमा क्षति पुगेको छ । ४३ घरपरिवार विस्थापित भएका छन् । ८२ घर बाढीपहिरोको उच्च जोखिममा परेको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए । बाढीले दुई ट्रस ब्रिज, चार काठेपुल, ३ वटा मिल र ५० घट्ट बगाएको छ । बाढीले करिब एक हजार रोपनी धानखेत तथा पाखोबारी नष्ट गरेको नगर प्रमुख रावलले बताए ।

पुल बगाएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । झुमरा खोलामा आएको बाढीका कारण ६ वटा पुल बगाएपछि दर्जनभन्दा बढी विद्यालयका करिब हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । आवतजावतमा समस्या भएपछि पढाइ प्रभावित भएको हो । बाढीले कालिमाटी र घुवारामा रहेको ट्रस ब्रिज बगाएकाले बारेकोट गाउँपालिकामा जाने–आउने बाटोका साथै जाजरकोट–डोल्पा सडकखण्डसमेत अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण दुई दर्जनभन्दा बढी खानेपानी आयोजना, विद्युत्, सडक, खेतीयोग्य जमिनलगायत थुप्रै संरचना ध्वस्त पारेको छ । भेरी नदीको कटानले तल्लुबगर क्षेत्र जोखिममा परेको छ ।

साउन २९ गते गएको बाढी तथा पहिरोले ठूलो क्षति गरेको भन्दै नगरपालिकाले सहयोगको अपिल गरेको छ । नगरपालिकाले आफ्नो क्षमताले पीडितलाई राहत दिन सक्ने अवस्था नभएकाले संघीय तथा प्रदेश सरकार र अन्य सरोकारवाला निकायलाई सहयोगका लागि आग्रह गरेको हो ।

‘पुल बगाउँदा नाकाबन्दीजस्तै भएको छ’, नगरप्रमुख रावलले भने, ‘अस्थायी काठेपुल बनाएर बाटो खुलाउने प्रयासमा छौं तर हाम्रो सामथ्र्यले मात्र नपुग्ने भएकाले राहत, क्षतिपूर्ति तथा पुल निर्माणका लागि सरोकारवाला निकायसँग सहयोगको याचना गरेका हांै ।’

नलगाड नगरपालिका–३ सानावन गाउँ तलको भागमा निरन्तर पहिरो गइरहेको छ । पहिरो जाने क्रम नरोकिँदा पूरै गाउँ जोखिममा परेको छ । पहिरोका कारण सानावनका हेमन्त बुढा, डम्बर बुढा, भद्रबहादुर बुढा, मोहन बुढा, गोपाल रोकाय, लालबहादुर बुढा, गोरे राना, अमर राना, छवि राना, मनबहादुर बुढा, कर्णबहादुर बुढा, रणबहादुर रोकाय, डिलबहादुर रोकाय, कर्णबहादुर रोकायलगायत २३ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवार लालीगुराँस प्राथमिक विद्यालय, चाउलेचौर गाउँमा बसेका छन् । सानावन गाउँ पहिरोका कारण धाँजा फाटेको छ । बस्ती नै बस्न नमिल्ने भएको स्थानीय मनबहादुर विष्टले बताए । पहिरोपीडितले हालसम्म कुनै निकायबाट एउटा त्रिपालसमेत सहयोग पाउन नसकेको विस्थापित स्थानीय लालबहादुर बुढाले बताए ।

बाढी–पहिरोले बाँध तथा नहरमा क्षति गरेपछि नगरका ६ वटा लघु जलविद्युत् आयोजना एकसाथ बन्द भएका छन् । आयोजना बन्द हुँदा नगरका २, ३, ४ र ५ वडाका ४ हजार परिवार अँध्यारोमा बस्न बाध्य भएका छन् ।

बाढीपहिरोका कारण प्रभावित क्षेत्रका विस्थापित घरपरिवारको बिचल्ली भएको छ । घर पहिरोले बगाएपछि उनीहरू घर न घाटका भएका छन् । ‘बस्ने घर पहिरोले बगायो कहाँ जाने ? कहाँ बस्ने ? ’ समस्या भएको विस्थापित परिवारको गुनासो छ ।

विकासको नाममा जथाभावी डोजरले सडक खन्दा बाढीपहिरोले विपत्ति निम्त्याएको हो । भिरालो भू बनोट भएको जमिन धाँजा फाटेर चिराचिरा परेको छ । यसले गर्दा सबैतिरको बस्ती उच्च जोखिममा छन् । सबैभन्दा बढी नगरको ३, सानावन, करुवा, दरा, कट्के, डाडाबासकोटीलगायत क्षेत्र बढी जोखिममा रहेको साविकको लहँ गाविसका पूर्वअध्यक्ष टोपबहादुर पन्तले बताए । बाढीपहिरोका कारण स्थानीयका घर, मिल, घट्ट र खेत बगाउँदा समस्यामा छन् भने खोलामा रहेका आधा दर्जन पुल बगाउँदा आवतजावत र मालसामान ढुवानीमा समस्या परेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.