जिन्दगीमा गर्न बाँकी कुरा

जिन्दगीमा गर्न बाँकी कुरा

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ

सबैभन्दा ठूलो कुरो मर्न बाँकी छ।

कवि क्षेत्रप्रताप अधिकारीद्वारा व्यक्त यी हरफमा जीवनको मार्मिक शब्दचित्र कोरिएको छ। मानिस जन्मेदेखि मृत्युको नजिक पुग्दासम्म केही न केही कर्म गरिरहेको हुन्छ र गर्नैपर्छ। कुनै वारेन्टी नभएको, कुन रात र कुन साथ अन्तिम हो भन्ने थाहा नहुँदानहुँदै पनि मानिस धेरै कुरा गर्न दौडधूप गरिरहन्छ। तर मानिसले आफूले गरेको कर्म गर्नलायक थियो या थिएन भन्ने जीवनको उत्तराद्र्धमा मात्र अनुभूति गर्ने गर्छन्। हाम्रा आफन्त, विशिष्ट तथा सफल व्यक्तिहरूले पनि जीवनमा आफ्नो पद, सम्मान, पेसा र धन अन्तिम लक्ष्य होइन भनेका छन्। उनीहरूका विचारमा जीवन केही न केही कर्म गर्नैपर्छ।

एकजना अंग्रेजी व्याकरणका एक प्रोफेसर एकपटक डुंगा चढेर ताल सयर गर्दै रहेछन्। कुरैकुरामा उनले डुंगा खियाउने बोटेलाई सोधेछन्, ‘के तिमीले कहिल्यै विज्ञान, व्याकरण र शास्त्र पढेका छौ ? ’ बोटेले भनेछन्, ‘छैन हजुर, मैले यस्ता कुरा कहिल्यै पढिनँ।’ प्रोफेसर चिच्याउन थालेछन्, ‘तिमीले जीवन नपढेर बर्बाद गरेछौ।’ डुंगा खियाएर जीवन बिताएका बोटेलाई यो कुराले दुःखी बनायो। तैपनि उनी शान्त बसे। डुंगा खियाउँदै जाँदा तालको बीचमा पुगेपछि ठूलो तुफान आएछ। डुंगा पानीको लहरमा फसेछ। बोटेले सकेसम्म डुंगा खिचेर यात्रु र आफ्नो ज्यान बचाउने कोसिस गरे। उनले प्रोफेसरलाई सोधे, ‘यो तुफान बढ्दै गयो र रोकिएन भने हामी पौडेर ज्यान बचाउनुपर्ने हुन्छ। तपाईंलाई पौडिन आउँछ ? ’

प्रोफेसर रिसाउँदै भनेछन्, ‘कस्तो कुरा गर्छौ तिमी ? मैले आफ्नो आधा जिन्दगी अध्ययन र विविध महत्वपूर्ण सिकाइमा बिताएँ। पौडिने कुरालाई मैले महत्व दिइनँ। त्यसैले मलाई पौडिन आउँदैन।’ बोटेले भनेछन्, ‘ल तपाईंले आफ्नो आधा जिन्दगी त्यसै बर्बाद गर्नुभएछ। यो तुफानमा मैले केही गर्न सक्ने अवस्था छैन। डुंगा पल्टिनेवाला छ। तपाईं तालमै डुब्नुहुन्छ।’ मौलाना रुमीले सुनाएको यो कहानीले हाम्रो जीवनको यथार्थबोध गराउँछ। हामीले जीवनमा के सिकिरहेका छौं, के गरिरहेका छौं र कतिबेला कुन सिकाइ काम लाग्छ, थाहा छैन। मैले जानेको र मैले गरेको काम सही छ भनेर आफ्नो बाहिरी योग्यताको घमन्ड गर्नेहरूलाई यो कथाले गहिरो झापड दिन्छ।

प्रायजसो मानिस आफ्नो जीवनमा धेरै गरेको छु, धेरै सिकेको छु, धेरै जानेको छु, धेरै कमाएको छु भन्ने घमण्ड गर्दछन्। नहोस् पनि किन, एउटा व्यक्तिले कखरा सिकेर सुरु गरेको जीवन हाईस्कुल हुँदै उच्च शिक्षासम्म पुग्दा करिब डेढ दशक शैक्षिक अध्ययनमा बिताएको हुन्छ। त्यसैगरी देश, विदेश अध्ययन भ्रमण, सेमीनार, गोष्ठी, कार्यपत्र प्रस्तुतजस्ता कार्य पनि सिकाइकै क्रियाकलाप हुन्। अर्कोतर्फ, एकाध मानिसहरू जीवनलाई सिर्जनाका काममा लगाउने तरिका नजानेर जीवन त्यसै खेर गयो भन्नेहरू पनि छन्।

सांसारिक सिकाइमा जति समय र मेहनत लागेको छ, त्योभन्दा दुईतिहाइ कम समय ध्यानमा लगाउन सके मात्र पनि हामीले आफू हुनुको बोध गर्न सक्नेछौं।

धेरैजसोले शारीरिक र मानसिक लक्ष्य प्राप्तिका लागि जीवन नै दिएका हुन्छन् तर स्वयंलाई चिन्ने, जान्ने र बोध गर्ने काममा समय दिन भ्याएका हुँदैनन्। अझ भन्दा मृत्युलाई कसरी सहज रूपमा लिने र मृत्युको तयारी गर्ने बुझ्नै भ्याएको हुँदैन। बुझ्ने जरुरी नै ठान्दैन र मृत्युको नजिक पुगेपछि मात्र पश्चात्ताप मात्र गर्दछ। धेरैको अनुभव र कुराकानीले यो तथ्यको पुष्टि गरिसकेको छ। जसरी जन्मका लागि १० महिना आमाको गर्भमा रहेर यो सुन्दर संसारमा आएका हुन्छौं, त्यसैगरी एक दिन यो संसार पनि छोडेर जानै छ। त्यसका लागि तयारी गर्नुपर्दैन ? मेरो विचारमा अवश्य तयारी गर्नुपर्छ। त्यो तयारी हो, आध्यात्मिक ज्ञान, ध्यान र स्वयंलाई जान्ने कला।

सांसारिक सफलता बाहिरी सम्पन्नता मात्र हो। आफैंभित्र फर्केर हेर्नु अध्यात्म हो। आफ्नो स्वभावलाई जान्नु, आत्माको शान्ति, शून्यता, परम् विश्राम, परम् चैतन्यको अनुभूतिमा डुब्नु हो अध्यात्म। सांसारिक सफलताका लागि निकै दौडधूप, भनसुन र मेहनत चाहिन्छ भने आध्यात्मिक ज्ञानका लागि कुनै यस्तो दौडधूप आवश्यक छैन। यो त स्वाध्याय हो। आफ्नो भवदशा, आफ्नो स्वभावलाई जान्नु हो।

ओशो भन्छन्, ‘जब तिमी केही क्रियाकलाप नगरी विल्कुल शान्त, संसारका सबै कुराबाट पर, एउटा साक्षीका रूपमा रहन सक्छौ, त्यही ध्यानको अवस्था हो। ध्यान बुझेपछि अध्यात्म बुझ्छौ र अध्यात्म बुझेपछि आफूलाई बुझ्छौ।’ संसारका कुरालाई भोग्नु र जान्नु महत्वपूर्ण पक्ष हो। तर यो नै अन्तिम लक्ष्य भने होइन। अन्तिम लक्ष्य त जन्मिँदा सँगै आएको र मृत्यु हुँदा पनि आफैंसँग जाने आफूभित्रको सम्पदालाई जान्नु हो। आफ्नो जागृत अवस्थालाई पहिचान गर्नु हो। भित्री आनन्द, शान्ति, भक्ति, प्रीति र ऊर्जालाई हामीले सँगै लिएर आएका थियौं, संसारमा भोग्यौं र जाँदा सँगै जाने चिज पनि यिनै हुन्। संसारको सम्बन्ध, पदार्थ, द्रव्य सबै यहीं छुट्छन्। त्यसैले मृत्युको दिन हामीलाई बिदाइ गर्न जम्मा भएका मानिसको मुखबाट हामी के सुन्न चाहन्छौं ? त्यही काम गर्न बाँकी छ। मस्तिष्कले गर्नेभन्दा परको काम गर्नु छ।

सांसारिक सिकाइमा जति समय र मेहनत लागेको छ, त्योभन्दा दुईतिहाइ कम समय ध्यानमा लगाउन सके मात्र पनि हामीले आफू हुनुको बोध गर्न सक्नेछौं। अरूलाई जान्ने कोसिस गरिरहनु, अरूका विचारमा चल्नु र भौतिक विकासको प्रभावमा पर्नु सांसारिक ज्ञान हुन् भने न अभाव, न प्रभाव, मात्र आफ्नो स्वभावको पहिचान गर्न सक्ने स्थितिमा पुग्नु ध्यान हो, अध्यात्मको ज्ञान हो र वास्तविक जिउने कला हो। सबै कर्म गरिसक्यौं अब केवल आफूलाई चिन्ने, जान्ने, मस्त र आनन्द रहने कर्म गर्न बाँकी छ। किनभने सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ। मर्नुअघि ध्यान, होस र प्रेम मार्गमा हिँड्न बाँकी छ। अन्तर्मुखी चेतना जगाउन र भित्री ज्ञानमा दृष्टि लगाउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.