पुल नभएपछि भिरबाट हिड्न बाध्य

पुल नभएपछि भिरबाट हिड्न बाध्य

प्यूठान : झिमरुक गाउँपालिकास्थित ओखरकोट ढाँड क्षेत्रका स्थानीय यसवर्ष झिमरुक खोलामा पक्कीपुल बन्नेमा विश्वस्त थिए । ढाँड स्याउलीघारी–तुषारा जोड्ने पुल निर्माण गर्न वारीपारी पिलर निर्माण भएपछि स्थानीय हर्षित थिए । तर, निर्माण व्यवसायीले पुल बनाउन नसकिने बताएपछि उनीहरु निराश बनेका छन् । खोलामा दलदलसहितको माटो भेटिएपछि पूनः अनुमान नहुँदासम्म पुल निर्माण गर्न नसकिने निर्माण व्यवसायीले जनाएपछि पुल निर्माण रोकिएको छ ।

पुल नभएपछि बर्खाभरी यसक्षेत्रका नागरीक भीरको गोरेटो बाटोहुँदै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । स्थानीय छिपछिपे सामुदायिक वनबाट गोरेटो बाटो निर्माण गरिएको छ । त्यो बाटोमा पनि पहिरो गएपछि अहिले अवरुद्ध भएको छ । झण्डै एक दर्जन गाउँका नागरीक प्रत्यक्ष मारमा परेका छन् । लिवाङ, लुङ र तुषाराका स्थानीयलाई गाउँपालिका केन्द्र मच्छिसहित ढाँड र सदरमुकाम खलंगा, विजुवार, बाग्दुला पुग्न सकस परेको छ ।

अप्ठ्यारो भीरको बाटोमा पहिरो गएपछि विरामीलाई अस्पताल पु¥याउन मुश्किल भइरहेको स्थानीयले गुनासो गरे । खोलाको बहाव बढ्दै गएपछि यातायात पूर्ण रुपमा ठप्प हुन्छ । घण्टौं पैदल हिँडेर यसक्षेत्रका नागरीक गन्तव्यमा पुग्न बाध्य छन् । गाउँपालिकाको कार्यालय मच्छिबाट लिवाङ पुग्न झण्डै दुई घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ ।

‘भीरको बाटो पनि पहिरोले लग्यो’, झिमरुक गाउँपालिका–५ ओखरकोट दारीमचौरका स्थानीय हुकुमबहादुर खड्काले भने,‘विरामीलाई अस्पताल पु¥याउन समस्या छ ।’

पुल नबनेपछि स्थानीयको छिपपिछे सामुदायिक वनबाट एकमात्र गोरेटो बाटो बनाइएको छ । गतवर्ष यही बाटोबाट हिड्दा एकजनाको ज्यान गएको थियो । दुइवर्ष अघिदेखि ढाँड–स्याउलीघारी तुषारा पक्कीपुल निर्माण थालिएको थियो । पटक पटक अनुमान फेल भएप्छि निर्माण प्रभावित भएको हो । पक्कीपुल बन्ने आशा टुटेको प्रतिक्रिया दिँदै यस क्षेत्रका नागरीकले झोलुंगेपुल भए पनि निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

झिमरुक गाउँपालिकाले ढाँडदेखि लिवाङ टिमुरचौरसम्म यसवर्ष बस गुड्ने मोटरबाटो बनाएको छ । तर, पुल नहुँदा सडकमा नियमित गाडी संचालन हुन सकेका छैनन् । ठेकेदारले पुल बनाउन नसकिने बताएपछि झिमरुक गाउँपालिकाको एक टोली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डेलिगेशन गएको छ ।

प्यूठानका प्रतिनिधी सभा सदस्य दुर्गा पौडेलसहितको टोलीले यथाशिघ्र पुल निर्माणलाई अघि बढाउन माग गरिएको झिमरुक गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसी बताए । ‘भदौ दोस्रो सातासम्म प्राविधिक टोलीले अध्ययन गर्ने भएका छन्’, उनले भने, ‘पूनः सर्वेक्षण गरेर भए पनि पुल निर्माण गर्ने आश्वासन पाएका छौं ।’

पुल नहुँदा झिमरुक खोलाले बगाएर हालसम्म आठ जनाको ज्यान गइसकेको छ । झिमरुक गाउँपालिका–८ लिवाङ टिमुरचौरकी निर्मला गिरीको स्नातक तह प्रथम वर्षमा पढ्दापढ्दै खोलाले बगाएर मृत्यु भएको थियो । नेपाल प्रहरीमा कार्यरत तुषाराका प्रहरी जवान विष्णुबहादुर महतरा, सात कक्षामा पढ्दै गरेका ओखरकोट ढाँड बजारका अनिल खडकासहित ओखरकोट दारीमचौरका रेकम खत्री, सोही ठाउँका भक्तबहादुर खत्री, तुषारा गोव्दीका मोहनसिंह बस्नेत र मिनबहादुर जिसीको खोलाले बगाएर मृत्यु भएको हो ।

बर्खा शुरु भएपछि यस क्षेत्रका सर्वसाधरणको मनमा शान्ति हुँदैन् । त्रास मै दैनिकी वित्ने गर्छ । लिवाङ, तुषारा, लुङसहित पुँजा, खुङ, नारीकोट, रजवारा, अर्खा, बांगेमरोट, खवाङ, स्याउलीवाङ, ओखरकोट र सिमानामा जोडिएका छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची र बाग्लुङका नागरिक मारमा छन् ।

०००

छिपछिपे सामुदायिक वनमा पहिरो गएपछि ओहोरदोहोर गर्न सकस पर्ने गरेको छ । केशर रोका


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.