मकै–भटमास र आमा
‘आमा मकै छ ? खाऊँ न भोक पनि लाग्या छ’, ढोकाबाट छिर्नेबित्तिकै भनें। एकछिन अलमलिइन् आमा। छ भनुँ, खोइ लेऊ भन्यो भने कहाँबाट दिनु ? छैन भनुँ, छोराले मागेको आमाको मन छैन कसरी भन्नु ?
मलाई लाग्यो, मकै भुटेकै छैन। तर के गर्नु केही वर्ष अघिसम्म कहिलेकाहीं छिटो घर पुगेको बेला यसैगरी आमासँग भुटेको मकै माग्ने गर्थें म। भुटेको मकै यसै पनि मन पर्थ्यो, त्यसमाथि आमाले भुटेको।
‘पख है त एक छिन’, यसो भन्दै आमा निस्कनुभयो। मैले पनि जुत्ता खोलें, झोला बिसाएर आमालाई पछ्याएँ। आमा बाहिरको चुलोमा ससाना दाउरा सल्काउन पुगिसक्नुभएको रहेछ। हाँडी पनि तात्दै थियो।
‘हैन भुटेर राखेको छ भने पो खाऊँ भनेको त आमा ! अहिले भइहाल्यो नि, भोलिपर्सि खाउँला’, भनें मैले।
‘एकछिन बस, हाँडी तातिहाल्छ। एकैछिनमा भुटिदिन्छु।’
आमाको यो तम्तयारी गज्जबकै छ। आफ्नै बारीको मकै आमाले भुटेको असाध्यै मीठो हुन्छ। उहाँले भुटेको मकै आधा फुल उठेको र आधा ठेट्ना हुन्थ्यो।
केटाकेटी हुँदा आमाले खाजाका लागि मकै दिनुहुन्थ्यो। डालाभरि राखेर हामी सबै दाजुभाइ र दिदीबहिनी सँगै बसेर खान्थ्यौं। ठुल्दाइलाई ठेट्ना मीठो लाग्थ्यो। मलाई भने सानोमा फुल उठेको खुबै मन पथ्र्यो। फुल उठेको मकै मात्र खान खोज्दा दाइ भन्नुहुन्थ्यो, ‘फुल उठेको हेर्दा मात्र राम्रो र मीठो, साँच्चै मीठो र पेट भर्ने त ठेट्ना नै हो।’
कुरा गर्दै खेल्दै खाँदाखाँदै मकै सकिन्थ्यो। ‘छोड छोड पोल्ला’, भन्दै आमाले फेरि भुटिसकेको तात्तातो मकै हाँडीबाटै डालोमा घोप्टाइदिनुहुन्थ्यो।
कहिलेकाहीं मकैसँग भटमास पनि हुन्थ्यो। भटमास हुँदाको स्वाद झनै मीठो हुन्थ्यो। भुटेर पाकेको भटमासको बोक्रा पट्ट फुटेको हुन्थ्यो। बोक्रा छोडाएर खान्थ्यौं। मेरो दाइलाई भटमास असाध्यै मन पथ्र्यो। भुटेको भटमासमा नुन खुर्सानी राखेर पिँधेपछि बनेको अचार साह्रै मीठो हुन्थ्यो भातसँगै खाँदा पनि।
भटमासको बोक्रा निकालेपछि छेउमा सानो काप पर्छ। दिदीहरू आफ्नो लामो कपालमा भटमासको त्यही काप विस्तारै अड्काएर अगाडिको कपालमा झुन्ड्याउनु हुन्थ्यो। हामी कपालमा भटमास फल्यो भन्दै खान्थ्यौं।
आज मकै–भटमास भुट्ने गरेको त्यो हाँडी पनि छैन अनि आमा पनि। तर भुटेको मकै–भटमासको स्वाद जिब्रैमा छ अनि आमाको माया मुटुभरि।
गणेश चौथीको दिनमा राति खाना खाइसकेपछि आमा पुजा गर्नुहुन्थ्यो। त्यसपछि भुटेको मकै, भटमाससँगै अरू विभिन्न थरीका गेडागुडी केराउ, सिमी, बोडी, बकुल्ला, चना आदि पनि भुटेर राखेको हुन्थ्यो। नासपाती, काँक्रोसँगै यी सबै गेडागुडीसहित मकै, भटमास र गहुँ खान्थ्यौं। टोक्न गाह्रो भए पनि साह्रै मीठो र मजा हुन्थ्यो।
जाडोयाममा भुटेको मकै–भटमास र मकैको पिठोको तात्तातो खोले ज्वानो झानेको अति नै प्रिय हुन्थ्यो। त्यसमाथि घामलाग्दा घाममा बसेर कुरा गर्दै खाँदाको आनन्द नै अर्कै। पुस–माघमा कहिलेकाहीं घाम नलाग्दा, चिसो स्याँठ झ्यालबाट छिर्ला कि भनेर दिउँसै झ्याल लगाएर अलिअलि अँध्यारोमा सबैजना मकलको आगोवरिपरि बस्दै खाएको मकै–भटमास खोलेको अनुभव अहिले सम्झिँदा पनि रमाइलो लाग्छ। त्यसमाथि दन्त्यकथा, चुट्किला, भूतको कथा सुन्दै बस्दा झन् रोमाञ्चित भइन्थ्यो। मीनपचासको स्कुल बिदा अत्यन्तै रमाइलो हुन्थ्यो।
आमाको दुःख आफ्नै ठाउँमा हुन्थ्यो। चिसो मौसममा बिहानै उठ्ने, शौच गर्न टाढा जानुपर्ने, पानी बाहिरबाट ल्याउनुपर्ने, बढारकुँडार गरेर खाना पकाउनुपर्ने, बारीको काम भ्याउनुपर्ने। दिदीहरूले सहयोग गर्नुहुन्थ्यो– पानी ल्याइदिने र खाना पकाउने।
मकै–भटमास जस्तो मकैको रोटी, गहुँको रोटी मन पर्दैनथ्यो। सायद रोटी बाक्लो बनाउने भएकाले होला। त्यही मकैको स्वाद अहिलेसम्म पनि रह्यो। आमाको वृद्धवस्था पनि आमाले भुटेको मकैले मेरो जिब्रो सदा रसाइरह्यो। पछि दिनदिनै भुट्ने अवस्था नभएपछि एकैपटक भुटेर प्लास्टिकमा पोको पारेर राख्न थाल्नुभयो। त्यो पनि मीठै हुन्थ्यो। जाडोभरि खाइन्थ्यो।
आमाको मृत्युभन्दा करिब ६ महिना अघिसम्म पनि मकै भुटेर ख्वाउँदै हुनुहुन्थ्यो। नाकाबन्दीमा ग्याँस नपाउँदा, पुरानै याद ताजा पार्दै सुकेको सानोतिनो दाउरा, मकैको ढोड, मकैकै खोया, भटमासको सुकेको बोट, काठका टुक्राटाक्री जे बल्छ त्यही बालेर भुट्नुहुन्थ्यो।
त्यो दिन पनि मकै भुट्नुभयो कुरा गर्दै मकै भुटेको हेरिरहें। सोधें, ‘आमा, अहिले र पहिले के फरक छ ? ’
आमाले भन्नुभयो, ‘खोइ के फरक भनौं, अहिलेजस्तो चाउचाउ, मोमो पाइँदैनथ्यो। चिउरा किन्न पनि पैसा पर्थ्यो। तरकारी बनाउने भन्ने पनि थिएन। त्यही मकै, भटमास र रोटीमै पेट भरिन्थ्यो।’
आमासँग यस्तै पुराना कुरा सम्झेर मकै खाइरहें। अहिले कहिलेकाहीं आफैं भुट्ने कोसिस गर्छु। श्रीमतीले पनि कहिलेकाहीं भुट्छिन् कराहीमा। आमाले हाँडीमा भुटेजस्तो त कहाँ हुन्थ्यो र ?
त्यही हाँडी आमाको अन्त्येष्टिसँगै फोडियो। आज त्यो हाँडी पनि छैन अनि आमा पनि तर भुटेको मकैको स्वाद जिब्रैमा छ अनि आमाको माया मुटुभरि।