कविता : उनी नहुँदा
प्रिय परिधि,
मन त सधैं उत्ताउलै हुन्छ
जस्तो कि म संसारकै उत्कृष्ट लोग्ने बनुँ
मजस्ताको मन
लोग्नेप्रधान समाजको
एउटा कामचलाउ लोग्नेमान्छेसम्म फटाफट पुग्छ
अनि, थन्किन्छ
मानौं, तिमीमाथि शासन गर्ने सिर्फ म होइन
मानौं, ममाथिको लोग्नेमान्छे,
लोग्नेमान्छेमाथिको परिवार,
परिवारमाथिको समाज,
समाजमाथिको देश,
देशमाथिको विश्व,
विश्वमाथिको आकाश देखाएर
तिमीलाई आधी आकाश भन्दै फुस्ल्याउने
मानौं, ममात्र हुँदै होइन
तिमीभित्रको लोग्नेमान्छे
यदाकदा गाउँबाट आइपुग्छ
अनि, पल्टाइदिएर जान्छ झुत्रो नैतिक शिक्षाको किताब—
‘लोग्नेमान्छेले जुठो भाँडा माझेको त
कसरी हेरिरहनु हौ !’
‘यी लोग्नेमान्छेहरू सबै उस्तै हुन्’
यो दिव्योपदेशले यस्तरी पोल्छ कि
म झर्को मानेर हिँडिदिन्छु
‘उस्तै नहुने’ बाटोतिर
यो उस्तै बाटोले उस्तै ठाउँमा पुर्याइदिन्छ
र, म फेरि उस्तै लोग्नेमान्छे बनेर फिर्छु
को हो रचयिता यो सदाबहार श्लोकको—
‘लोग्नेमान्छे भएर नि रुने हो !’
कसको महाकाव्यको अंश हो—
‘छोरीको जन्म, हारेको कर्म’ ?
म किन ‘महिला तथा सज्जन वृन्द’कै एक सज्जन हुँ ?
प्रिय परिधि,
तिम्रो लोग्नेमात्र होइन लोग्नेमान्छे
जो निसंकोच लोग्नेमान्छे बाँचिरहेछ—
आधा लोग्ने, आधा मान्छे !