आमालाई सम्बोधन
आमा !
म लेख्दिनँ कुनै कविता
कोर्दिनँ कुनै गीत अब तिम्रो नाउँमा ।
तिमीलाई व्यक्त गर्नसक्ने कुन शब्दसँग सामथ्र्य छ र ?
तिमीलाई न्याय गर्नसक्ने कुनै हरफहरू पनि छैनन्
तिम्रो आँसुलाई कुनै रङ र आकार दिँदा
अन्याय पो हुन्छ कि !
म जन्मँदा
तिम्रा आँखा र मेरा आँखाबीच जब मौन संवाद भयो
त्यतिखेर तिम्रो मुहारमा फक्रिएको उज्यालोलाई
रगतकै अक्षरमा पनि पोख्न सक्दिनँ
तिम्रो त्यो आँसुको अद्भुत अनुभूति र
तिम्रो अँगालोको न्यानो भरोसालाई
सुनकै बाइमात्रा र तर्कुलेमा पनि कुँद्न सक्दिनँ
मेरो पहिलो प्यासमा तिमीले भरेको तृप्तिको अतृप्ति
समुद्रबरोबर महाकाव्यमा पनि समेट्न सक्दिनँ !
जिन्दगीको एक पल
जिन्दगी नै व्यर्थ लागेको त्यो पल
मेरो लागि तिम्रो यादको अर्थ कत्ति थियो !
म कुनै शब्दका रुमालमा सपक्क पट्याइराख्न सक्दिनँ
म कुनै अनुच्छेदका हिमालमा उभ्याइराख्न जरुरी ठान्दिनँ ।
तिम्रो प्रेमिल स्पर्शभन्दा मधुर मसँग कुनै अर्को आभास छैन
आँखा बन्द गर्दा होस् या खुला राख्दा
होशको सीमाभित्र होस् या सारा सीमारेखा नाघ्दा
मैले जानेको तिमीभन्दा दोस्रो मेरो विश्वास छैन ।
पीडाको चरमचुलीमा होस् वा स्वर्गको धुरीमा
मेरो जिन्दगीको अपकर्ष वा उत्कर्षको हरबिन्दुमा
तिम्रो उपस्थितिको प्रगाढता
संसारको कुनै पनि भाषाको परिभाषामा भासिएको
मलाई पटक्कै मन पर्दैन आमा !
तिम्रो उपासनामा
कुनै कविता रच्ने दुस्साहस गर्ने छैन
केही थान शब्दज्ञानको अहंको भ्रमले
तिम्रो अवमूल्यन कदापि गर्ने छैन
इतिहास फेरिन सक्छ
तिमीले पढ्न सिकाएको जीवनग्रन्थ हराउन सक्छ
सबै थोक गुमाएर रित्तिन सक्छु !
तर, मभित्र तिम्रो उपस्थिति कहिल्यै अल्पिँदैन
तिम्रो ममताको याम जहिल्यै सदाबहार छ
जब तिम्रो प्रेमले मेरो हृदयको घडा भरिन्छ
तिम्रो समर्पण हृदयबाट छचल्किएर पोखिएला बरु
तर लेख्न सक्दिनँ त्यो परम आनन्दको कुनै महाआख्यान ।
न कुनै गीत
न कुनै कविता
आमा,
आज शब्दकोशको कुनै उपमाबिना नै
मभित्र तिम्रो सम्झनाको भक्कानो छुटेको छ
किनकि भर्खरै मैले तिम्री छोरी
अर्थात् मजस्तै छोरी जन्माएकी छु !