फोहोरबाटै कमाइ
बर्दिबास : गरिबीका कारण रौतहटको गौर खैरवा ब्रह्मपुरीका २४ वर्षीय चुनचुन श्रीवास्तवले पढ्न पाएनन् । १४ वर्षकै उमेरमा उनी बाल श्रमिक भए । उनी सहर–बजारमा फालिएका पानीका बोतल, प्लास्टिक, फलामे टुक्रा संकलन गर्न लागे । बिहानदेखि संकलन गरेको फोहोर सामान साँझ बिक्री गरी उनी चामल, दाल, सागसब्जी किनेर घर फर्किन्छन् ।
यसरी हात–मुख जोड्न सिकेका उनी १० वर्षदेखि फोहोरले मोहोर साट्दै विवाह बन्धनमै बाँधिए । विगतमा एक्लै फोहोर खोज्ने चुनचुनका साथमा अहिले पत्नी सुनरीदेवी छिन् । प्रचण्ड गर्मी होस् या मुटु कमाउने जाडो, बिहानदेखि अबेर साँझसम्म उनीहरू फोहोर सामान संकलन गर्छन् । ‘फोहोर जम्मा गरेर मिहिनेतले कमाएर खान्छु’, उनी भन्छन् ।
उनीहरूको घर छैन, उनीहरू बर्दिबास र वीरगन्जमा डेरा लिएर बस्छन् । उनीहरूका दुई सन्तान भइसके । जेठा छोरा राधे साढे चार वर्षका भए, कान्छो साढे तीन वर्षका । ‘फोहोरको डंगुरमा मोहोर खोज्छु । मेरो जिन्दगी चलाउने बाटो फोहोरै हो हजुर’, उनी भन्छन्, ‘सहर–बजारको फोहोर संकलन गरेर सफा बनाउँछु । मलाई यसमै खुसी मिलेको छ ।’ फोहोर सामान बिक्री गरेर उनले मासिक २० हजार रुपैयाँ हात पार्छन् । ‘गरिबले संकलन गरेको फोहोरले पनि बजार मूल्य पाएको छैन’, उनी भन्छन् ।
फोहोर बेचेर भारतमा घर
स्वदेशमै गरिखाने उपाय नदेखेपछि भारत रक्सौलका ४६ वर्षीय रइस मियाँ २० वर्षअघि नेपाल पसे । उनले पर्साको वीरगन्जमा फोहोर संकलन गर्न थाले । जति फोहोर संकलन ग¥यो उति बढी रकम हात पर्ने देखे, उनले । सुरुमा उनले दिनमा ५० देखि १ सय रुपैयाँसम्म कमाइ गरे, अहिले दैनिक आम्दानी १ हजारसम्म हुने गरेको उनको भनाइ छ ।
उनी २० वर्षदेखि नेपालमै फोहोर भनेर फालिएका सामग्री संकलन गरिरहेका छन् । उनी अहिले वीरगन्जमा मात्र सीमित छैनन्, महोत्तरीको बर्दिबास, रामेछापको मन्थली, सिन्धुलीको खुर्कोटसम्म फोहोर संकलन गर्न पुग्छन् ।
उनले यही पेसा अँगालेर तीन छोरा, तीन छोरी र आमासहितको परिवार पालेका छन् । यति मात्र होइन, रक्सौलमा घर बनाउन लागेको उनको भनाइ छ । ‘११ कोठाको पक्की भवन बनाउँदैै छु’, उनी भन्छन्, ‘फोहोर बिक्री गरेर जम्मा गरेको १६ लाख रुपैयाँ घर बनाउन खर्चिसकें । घरको बाँकी काम गर्न अझै १० लाख खर्च हुन्छ ।’ यसकै लागि अहिले दिनको १५ घण्टासम्म बर्दिबासका फोहोर संकलनमा उनी खटिएका छन् ।
‘फोहोर उठाएर कमाएर खानु के लाज ? ,’ बर्दिबासमा फोहोर संकलन गरेर परिवार चलाउने नजाम मियाँ भन्छन्, ‘फोहोर टिप्नु आरामको काम हो ।’ महिनामा १५ देखि २० हजार कमाउने वीरगन्जका रफिक मियाँ भन्छन्, ‘रुपैयाँ सडकमा फालिएको छ, टिप्ने बुद्धिको मात्र कमी छ । गर्ने हो भने कोही पनि बेरोजगार हुँदैन ।’