उत्पीडनले उब्जाएको आक्रोश

उत्पीडनले उब्जाएको आक्रोश

एक दिन दिउँसोपख घुर्नाको पेट बेस्सरी हुँडलियो। आन्द्रा चुँडिने भोकले पेट मथ्न थाल्यो। दुःखाइ मार्न हातले पेट थिचेर घोप्टो पर्‍यो। तर, दुःखाइ कम हुनु कहाँ हो कहाँ, कन्चट पनि सनोसोले थिचेजस्तो गरी दुख्न थाल्यो। उसले आँखा चिम्म गरेर सुत्ने प्रयास गर्‍यो, निद्राको बेहोशीमा भोकलाई भुलाउन। विस्तारै ऊ अँध्यारिन थाल्यो। लाग्यो, टाउको थिचेर कसैले तल झन् तल पुर्‍याउँदै छ। भन्न सक्दैन, त्यो बेहोशी थियो वा निद्राको झप्को (पृ. ३४)।

त्यति बेला घुर्ना १९ वर्षको थियो। गाउँमा मरेको भैंसीको सिनो फाल्ने पालो भोला काकाको थियो। चलनअनुसार उसको घरबाट पनि जानुपर्थ्यो, जसरी उसको बाबुको पालामा अरू पनि आइदिन्थे। तर, त्यस दिन उसको बाबु पाहुना मान्न सप्तरी गएका थिए। त्यसै त चमार चलनअनुसार दसैंको ढोल बजाउन जाँदा उपल्ला जातका केटाकेटीहरूले उसलाई ‘ढोलपिट्टा’ भनेर गिज्याउँथे। झन् सिनो उठाएको देखेमा टिक्न नसक्ने गरी टोक्ने हुन्। सम्झेर ऊ खुम्चियो (पृ. १७)।

शिवानीसिंह थारूद्वारा लिखित पुस्तक ‘काठमाडौंमा एक दिन’को मुख्य पात्र घुर्नासँग जोडिएका दुई सन्दर्भ हुन् यी। तराईको चमार परिवारमा जन्मिएको घुर्नाले जातीय उत्पीडनबाट मुक्ति पाउन गरेको प्रयासलाई शिवानीले उपन्यासको भाषा दिएकी छन्। एक दिनको कथा हो, ‘काठमाडौंमा एक दिन।’ बम पड्काउन काठमाडौं आएको घुर्नाले एक दिनभरि गरेको क्रियाकलापलाई पुस्तकले चित्रित गरेको छ।

गरिब र दलित परिवारमा हुर्किएको पात्र हो, घुर्ना। उसलाई समाजका उपल्ला जातका मानिसमाथि प्रश्न गर्ने सुविधा छैन। अपमानित भएर बस्नुपर्ने बाध्यता छ, यो स्थिति समाजमा उस्तै छ। सीमान्तकृत समुदायमाथि गरिएका दुव्र्यवहारहरू दिनुहँजसो सञ्चारमाध्यममा आइरहेकै छन्। दुर्व्यवहारका स्वरूपहरू फरकफरक छन्। जातीय रूपमा भोग्नु परेको समस्या त छँदै छ, घुर्नाको परिवारमा गरिबीसमेत थपिएर आएको छ। पैसाको अभाव भएर आमाको मृत शरीरलाई रीतअनुसार जलाउन नपाउनु र चौरमा गाड्नु कम्ती पीडादायक छैन (पृ. ६५)। नबदलिएको समाजको चरित्रलाई पुस्तकमा जस्ताको तस्तै उतार्न सफल छिन्, शिवानी।

भेदभाव अन्त्य गर्र्न घुर्नाले राजनीतिक बाटो रोज्छ। ऊ राजनीतिक संगठनमा लाग्छ। दलित आन्दोलनले मात्र समाजमा विभेद हटाउन सकिने उसको विश्वास छ। उसले पटकपटक भन्ने गरेको छ, ‘मधेसमा अब गर्ने भनेको दलित आन्दोलन हो।’ दलित आन्दोलनमार्फत उच्च जात भनिएकाहरूको रजगजलाई अन्त्य गराउन चाहन्छ ऊ। ‘सुर्जा समूह’को सदस्य घुर्नाले पछि आफ्नै ‘दलित प्यान्थर मोर्चा’ बनाउँछ। किनकि उसलाई पार्टीले राख्दै आएको ‘एक मधेस, एक प्रदेश’ को मुद्दाभन्दा मधेसका दलितहरूले भोगिरहेको समस्या विकराल लाग्छ। त्यसैले दुई सदस्यकै भए पनि नयाँ संगठन बनाएर अघि सत्ताविरुद्ध लड्छ। विभेद विरुद्ध लड्नु स्वाभाविक हो। यही मान्यताले नै शिवानीले पुस्तकमा घुर्नालाई विद्रोही बनाइदिएकी छन्।

ठूला जातका हैकम अन्त्य गर्न राजनीतिक बाटोलाई सजिलो माध्यम ठान्छिन् शिवानी। अथवा, अप्ठ्यारै बाटो भए पनि चल्तीको बाटो रोज्छिन्। दुईचारजना मिलेर खोलिएको संगठनले समाजमा संस्कृतिकै रूप लिइसकेको जातीय भेदभाव अन्त्य गर्न कति प्रभावकारी भूमिका खेल्न सक्ला ? फाट्टफुट्ट बम पड्काएको भरमा समस्या सुल्झिएला ? समानता आउला ? असमानता र अन्याय हटाउने भन्दै १० वर्षसम्म चलेको युद्धले त सीमान्तकृत समुदायको स्थिति खासै परिवर्तन गर्न नसकेको अवस्थामा दलित प्यान्थर जस्तो ‘लेटर प्याड’ समूहले समाजको स्वरूप बदल्ला भनेर विश्वास गर्न गाह्रो हुन्छ।

घुर्नाले हतियार सहितको राजनीतिलाई रोजेको छ। आफूहरूको मुद्दा र समूहप्रति सत्ताको ध्यानाकर्षण गराउन काठमाडौंमा बम पड्काउनसमेत पछि पर्दैन घुर्ना। उसो त मधेसमै केन्द्रित हुँदा पनि हतियारकै बलमा ऊ आफ्नो पार्टीलाई प्रभावशाली बनाउन चाहन्छ। शिवानीले घुर्नालाई हतियार भिराइदिएर समाज परिवर्तन हुने अपेक्षा राख्छिन्। तर, हतियारको बलले यस्ता अपेक्षा कति पूरा होलान् ? शंका गर्ने ठाउँ प्रशस्तै छन्।

अहिलेका अधिकांश दल प्रायः हतियारको राजनीतिबाट उदाएका हुन् भन्दा फरक नपर्ला। हतियार नै समाज परिवर्तनको विकल्प हुन्थ्यो भने समाजमा निकै प्रगति गरिसकेको हुन्थ्यो। विगतमा भएका युद्ध र आन्दोलनबाट परिवर्तन नै भएन भन्ने अर्थ नलागोस्। अपेक्षाकृत परिवर्तन नभएकोचाहिँ पक्कै हो।

शिवानीले घुर्नाको मुक्तिका लागि अरू विकल्प पनि रोज्न सक्थिन्। उपन्यास पढ्दा त यस्तो लाग्छ, मुक्ति चाहनुहुन्छ भने हतियार उठाउनुस्। यो प्रवृत्तिले समाजलाई कहाँ पुर्‍याउला ? सोच्न पनि गाह्रो छ। हतियारले प्रभाव नपार्ने कुरा त शिवानी पनि स्वीकार्छिन्। काठमाडौंमा बम पड्काएपछि घुर्नाको विचलन यसको उदाहरण हो। राजनीतिक माग पूरा गर्न हतियार प्रभावकारी हुँदैन भनेर स्वीकार्नु नै थियो भने हतियारकै राजनीति किन चलाइएको ?

काठमाडौंका तीन चोक त्रिपुरेश्वर, माइतीघर र बालाजु औद्योगिक क्षेत्रमा एकसाथ बम पड्कन्छ। बेलुकी सवा ५ बजे मिडियामा समाचार आउँछ, बम विस्फोटमा परेर केही सर्वसाधारणको मृत्यु भएको छ। बम विस्फोटको व्यग्र प्रतीक्षामा रहेको घुर्नालाई यो समाचारले गलाउँछ। सत्तालाई हाँक दिन तयार रहेको घुर्ना छिनभरमै कमजोर बन्छ। बम विस्फोटले दलित प्यान्थर मोर्चालाई कमजोर तुल्याएको महसुस गर्न थाल्छ। उसको निष्कर्ष छ, ‘ठूलो गल्ती भयो।’ राजनीतिक मागका लागि आफूहरूले गल्ती गरेको महसुस गर्छ ऊ।

पुस्तकले इतिहासको एउटा कालखण्डलाई व्याख्या गरेको हो कि जस्तो लाग्छ। हतियारको बलमा उठेका राजनीतिक समूहहरू कुनै बेला मधेसमा प्रशस्तै थिए। जनआन्दोलन र मधेस आन्दोलनपछि तराईमा थुप्रै ससाना राजनीतिक समूह उदाएकै हुन्। त्यस्ता समूहको समाचार प्रायः अपहरण, चन्दा र हत्यासँग जोडिएर आउने गथ्र्याे। उपन्यासमा पनि त्यस्ता ससाना समूह धेरै छन्, जो ‘एक मधेस एक प्रदेश’ देखि दलित मुक्तिका माग राख्दै हतियार उठाउँछन्। जनतान्त्रिक मधेस मुक्ति (सुतीहार समूह), जनतान्त्रिक मधेस मुक्ति (सुर्जा समूह), जनतान्त्रिक मधेस मुक्ति (करेत समूह), मधेस जनतान्त्रिक सेना (ललन सिंह अर्थात् ‘त्रिकाल’), दलित प्यान्थर मोर्चाजस्ता समूहहरू सक्रिय छन्, उपन्यासमा। विगतमा यस्तै नाम गरेका राजनीतिक संगठनले मधेसमा ठूलै प्रभाव पारे।

सर्वसाधारणमाथि परेको प्रभावमाथि धेरै बोलिएको छैन, पुस्तकमा। बस्, पुस्तकमा यस्ता समूहहरूले खासखास माग गरेर लडिरहेका छन्। संगठनभित्र हुने विकृतिका रूपमा फौलाद पात्रलाई भ्रष्टजस्तो देखाइए पनि मधेसमा साना संगठनको त्रास ठूलै थियो। त्यति बेला साना समूहको आतंकमा परेका मानिसहरूको खासै कुरा आएको छैन। सम्बोधन नै नगरिएको भन्नेचाहिँ हैन।

पुस्तकमा उल्लेख छ, ‘मधेसको सुरक्षास्थिति पंगु भएको थियो। बस्, फौलाद पनि सक्रिय भयो, आफैंआफैं चन्दा उठाएर आफ्नै खल्ती भर्ने कर्ममा। सुर्जा समूहले पहाडी मूलका सरकारी कर्मचारी र स्थानीय व्यापारीहरूबाट चन्दा उठाइरहेको थियो। फौलादले कोसीटप्पु इलाकाका पहाडी बस्तीहरूलाई थर्काउँदै खुसुखुसु चन्दा उठाउन थाल्यो। चन्दा दिन सक्ने खालका हुन् वा नहुन्, उसलाई मतलब थिएन।’(पृ. २३६) समूहहरूको साइड इफेक्टलाई देखाइएको छ तर त्यति बेलाको त्रासदी उपन्यासमा देखाइएजस्तो सानो फ्रेममा अटाउने पक्कै थिएन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.