देश बोल्ने ‘भस्मासुरको देश’
कविले सामाजिक जीवनमा राज्यको प्रभावलाई व्याख्या गरिरहँदा उनी स्वयंमा भने वैचारिक स्खलन भएको देखिन्छ।
कविता किन लेखिन्छ र यो कस्तो हुनुपर्छ भन्ने नजान्दा पनि व्यक्ति कवि भइसकेको हुन्छ। अनुभूतिहरूलाई कसिलो भावमा पोख्न सके त्यो मीठो कविता बन्छ। यसपछि मात्र कविताका आवश्यक विधि विधानसहित त्यसलाई सुन्दर बनाउने हो। आफ्नो मौलिक शैलीले कवितालाई परिस्कृत बनाउने हो।
कवि वाक्सेली थापा यही संघर्षबाट उदाएका प्रतिभाशाली कवि हुन्। उनको नवीनतम कवितासंग्रह ‘भस्मासुरको देश’ बजारमा आएको छ। आफ्नो निजत्वसहित कवितासंग्रहमा प्रस्फुटित भएका कवि थापाले आफ्नै परिवेश र त्यसबाट सिर्जित परिस्थितिलाई कवितामा चित्रण गरेका छन्। कुल ५१ थान कवितालाई चार खण्डमा विभाजन गरिएको ‘भस्मासुरको देश’मा राजनीतिक, सामाजिक र व्यक्तिगत मनोदशाका भावहरूको प्रधानता छ।
‘अँध्यारो पर्दाभित्र’ नाम दिइएको पहिलो खण्डमा समावेश गरिएका कविताहरू मूलतः राजनीतिक विषयका छन्। राजनीतिले कसरी समाजको तल्लो तह र व्यक्तिगत जीवनमा समेत गहन प्रभाव पार्छ भन्ने यथार्थ यस खण्डको कवितामा छ। ‘हतियारको हरक’ कवितामा कवि हतियार जल्लादहरूको प्रतीक भएकाले यसलाई रगतको गन्धमात्र मन पर्ने भन्दै शान्तिको कामना गर्छन्। यस्तै ‘लुकामारी र गान्धारी समय’ कवितामा महाभारका पात्रहरूलाई प्रतीक बनाएर कविले वर्तमान समयको चित्रण गरेका छन्। शीर्ष कविता ‘भस्मासुरको देश’मा कवि लेख्छन्–
‘अचेल मेरो सहरका हरेक गल्लीहरूमा
देखिरहन्छन् भस्मासुरका डरलाग्दा अनुहारहरू
जो भक्तकण्ठको वरदानपछि
घोप्टो पारेर विवेकहीन हत्केलो
दौडिरहेका हुन्छन् जथाभावी
उन्मादको बेसुर साँढे चढेर।’
यसरी प्रचलित मिथ र पौराणिक पात्रहरूलाई सहज ढंगले कवितामा समाविष्ट गरेका कवि थापाले पहिलो खण्डका कवितामा स्वतन्त्रता र न्यायको शासनलाई केन्द्रमा राखेका छन्।
‘आगोको दर्शन’ नाम दिइएको द्वितीय खण्डमा कविले सामाजिक जीवनका वैषम्यहरूलाई केन्द्रमा राखेका छन्। यस खण्डको ‘झरीको कहानी’ कवितामा झरी पनि मान्छेपिच्छे फरक हुने कुरा इंगित गर्दै वर्गीय असमानतालाई मिहिन तरिकाले चित्रण गरेका छन्। ‘जेलभित्र’ शीर्षक कवितामा अप्सराहरूको पेन्टिङ गरिरहेका कविसामु अचानक अप्सरा प्रकट हुन्छिन्। कविले केही सोच्न नपाउँदै अप्सराको असीम सौन्दर्यमा लट्ठिएर उनी बलात्कार गर्न पुग्छन् र जेल जान्छन्। यसरी मानिस सधैं अपराध गरेरमात्र जेल नजाने बरु परिस्थिति र परिबन्दमा कैद भएर जेल जानुपर्ने विवशतालाई कविताको मूल विषय बनाइएको छ। यसैगरी लैंगिक विभेदका आधुनिक रूप कसरी समाजका प्रत्येक तहमा छरपस्ट हुन्छन् भन्ने यथार्थ ‘प्रौढकक्षामा आमा’ कवितामा देखाइएको छ।
राज्यले शिक्षालाई असमान तवरले बाँडिरहेको कुरा कवितामा मुखरित भएको छ। यसै सिलसिलामा कवि सरकारको छातीभित्र मुटु नै नरहेको भन्दै अत्यन्त निराश हुन पुग्छन्। ‘राष्ट्रवादको रंग’ कवितामा समग्र देशको कर्मचारीतन्त्र र राज्य संयन्त्रहरू नाफाखोर बन्दै अकर्मण्य बन्दै गएका तीव्र खेद प्रकट गर्छन्।
तर, कविले यसरी सामाजिक जीवनमा राज्यको प्रभावलाई व्याख्या गरिरहँदा उनी स्वयंमा भने वैचारिक स्खलन भएको देखिन्छ। यसले गर्दा केवल विरोध गर्नका लागि मात्र विरोध गर्ने र आफ्नो विद्रोह देखाउन मात्र नाराबाजी गर्ने प्रथाको हिमायती कवि स्वयं पो हुन् कि भन्ने शंका पाठकलाई पर्न जान्छ। यसर्थ राजनीतिक रंगहरू कवितामा वा कलामा पोख्दा अत्यन्त सचेत भएर, वैचारिक धरातलमा टेकेर मात्र पोख्नुपर्छ भन्ने कुरामा कविले ध्यान पुर्याउन जरुरी छ।
‘सत्ताच्यूत’ नाम दिइएको तेस्रो खण्ड व्यक्तिगत मनोभाव र सामाजिक जटिलतालाई केन्द्रमा राखेर लेखिएका कविता छन्। यस खण्डमा रहेका ‘सत्ताच्यूत’, ‘विश्वास’, ‘प्रियसी’, ‘प्यालाभरी’ लगायतका कविताहरूले जीवनका आरोह अवरोहलाई समेट्दै मुक्तिको कामना गरेका छन्। राज्य मात्र सत्ताच्यूत नहुने बरु मानिसको जीवनले पनि स्वतन्त्रता र मुक्ति पाएन भने त्यो आफैं सत्ताच्यूत हुनेमा कवि विश्वस्त छन्। जीवन कथामा चित्रण गरिएजस्तो वा धुनमा मन साटिएजस्तो नहुने भन्दै जीवनलाई यथार्थको रूपमा नै बुझ्नुपर्ने कुरा कविले बारम्बार भनेका छन्। यस खण्डका कवितामा कविको निजत्व निकैै सबल रूपमा मुखरित भएको छ। सँगसँगै जीवनप्रतिको निष्ठा गर्विलो रहेको छ।
‘जिन्दगीको जिन्दगी’ नाम दिइइको अन्तिम खण्डमा पनि कविले व्यक्तिगत मनोभाव र त्यसले सिर्जना गरेको परिस्थितिहरूको चित्रण गरेका छन्। उनले यस खण्डको शीर्ष कवितामा जिन्दगीभन्दा बरु आफू नै बढी खुसी भएको भन्दै विषम जीवनलीलाहरूलाई व्यंग्य गरेका छन्। ‘विष’ कवितामा कवि मर्नलाई एउटै विष पिएको जाति भन्दै मृत्यु सार्थक हुनपर्ने कुरामा जोड गर्छन्। यस्तै आफैंसँग प्रश्नमा कवितामा कविले प्रश्न नै ज्ञानको स्रोत रहेको तथ्यलाई आत्मसात् गर्दै प्रश्नहरू मृत्यु भए जीवनको पनि मृत्यु हुने कुरा उठान गरेका छन्। यसै खण्डमा रहेको केही कवितामा भने कविले पुनः राजनीतिका उतारचढावहरू अभिव्यक्त गरेका छन्।
यसरी राजनीति र समाजका अन्तरंगलाई व्यक्तिगत जीवनसँग दाँज्दै कवि सत्यको उद्घोष गर्न तत्पर हुन्छन्। तर, उनको कविताको समग्र शैली र विम्बविधानले त्यसलाई प्रस्ट पार्न नसक्दा कतिपय ठाउँमा विपर्यास भावका हरफहरू बन्न गएको छ। यसप्रति कवि सजग हुनैपर्छ। उही विषय, उही शैली र उही भावका कविता एकोहोरो पढिरहनु जतिको सकस अरू हुन्न। यसप्रति कवि आगामी संग्रहमा सचेत हुन आवश्यक छ।
नाम : भस्मासुरको देश, कवितासंग्रह
प्रकाशक : बालाजी पब्लिकेसन
मूल्य : रु. २००/