जापानकी इकीलाई कीर्तिमानी आठ पदक
जाकार्ता : जापानकी रिकाको इकीले एकै एसियाली खेलकुद प्रतियोगितामा व्यक्तिगत सर्वाधिक आठ पदक जित्ने कीर्तिमान बराबरी गरेकी छिन् । शुक्रबार भएको पौडीतर्फको ५० मिटर फ्रि स्टाइलमा स्वर्ण जित्दै उनले एकै एसियाली खेलकुद प्रतियोगितामा व्यक्तिगत सर्वाधिक पदक जित्ने कीर्तिमान बराबरी गरेकी हुन् ।
१८ वर्षीया इकीले ३६ वर्ष पुरानो कीर्तिमान बराबरी गरेकी हुन् । यसअघि सन् १९८२ मा उत्तर कोरियाका सुटिङ खेलाडी सो जिन मानले आठवटा पदक जित्दै यो कीर्तिमान कायम गरेका थिए । शुक्रबार जाकार्ताको पौडी पोखरीमा चीनकी लिऊ झियाङ र ऊ क्विङफेङलाई पछि पार्दै स्वर्ण जितेसँगै उनले नयाँ कीर्तिमानमा आफ्नो नाम पनि लेखाएकी हुन् ।
‘सायद मैले प्रतिस्पर्धा गरेकोमध्ये सबैभन्दा नर्भस यसै स्पर्धामा बनेकी थिए’, कीर्तिमानी पदक जितेपछि इकीले भनिन्, ‘मैले साँच्चिकै सोचेकी थिइन् कि मैले पदक जित्छु भनेर । तर, अन्त्यमा आफूलाई पदकका लागि रोक्न सकिनँ ।’ इकीले प्रतियोगितामा ६ स्वर्ण पदक जितिन् । उनी एकै एसियाली खेलकुद प्रतियोगितामा ६ स्वर्ण पदक जित्ने र समग्रमा आठ पदक जित्ने पहिलो महिला पनि खेलाडी बनेकी छिन् ।
एसियाली खेलकुद प्रतियोगिताको सफलताले सन् २०२० मा आफ्नै देशले आयोजना गर्ने ओलम्पिक खेलकुदमा समेत उनको सफलताको सम्भावना देखिएको छ । इकी जापानले दुई वर्षपछि आफैंले आयोजना गर्ने ओलम्पिक खेलकुदका लागि तयारीमा राखेको खेलाडीमध्येकी हुन् । इकीले जारी एसियाली खेलकुद प्रतियोगितामा कीर्तिमानी प्रदर्शन गर्दै देशले आफूमाथि गरेको विश्वास र लगानीको सही सदुपयोगसमेत गरेकी छन् ।