बर्गम्यानः सिनेमाका कालिगढ
कथा उनका लागि निमित्त मात्र हो। उनी त्यसभित्रका अरू धेरै सूक्ष्म कथा खोतल्छन्। मान्छेको मनको कुरा र व्यथा अनि ईश्वरसँग अन्तर्य सम्बन्धलाई हेर्ने उनका बेग्लै मानवीय आँखा छन्।
मौन : एक चित्कार
हात र हृदय। कति अर्थपूर्ण छन् यी शब्दहरू ! हात अर्थात् दु : खी र असहायलाई मद्दत गर्नु। हृदय अर्थात् तिनलाई प्रेम गर्नु। यिनै दुई कुराको अभावमा मानिसको जिन्दगीको सौन्दर्य खेर गइरहेको छ। इंगमार बर्गम्यानको सिनेमा ‘साइलेन्स’मा दसवर्षे बालक जोहान आफ्नी ठूलीआमा इस्टरले लेखेर दिएका यी दुई शब्दको यस्तै अर्थ लगाउँछ।
‘साइलेन्स’मा मुख्यतः तीन पात्र छन्। बालक जोन, उसकी बैंसालु आमा आना र रोगी ठूलीआमा इस्टर। आनाभित्र कहाँ लगेर खन्याऊँ भन्ने उकुसमुकुस बैंस छ। तर, ऊसँग पति छैन। जवानी साथ रहुन्जेल लोग्नेमान्छेको अभाव भने उसलाई हुने छैन। इस्टर दीर्घरोगी छे। ऊ बौद्धिक क्रियाकलाप गर्छे। लेखपढमा उसको रुचि छ। तर, प्रेमका लागि धड्किरहने उसको हृदय प्रेमको अभाव र रोगको उपस्थितिमा कुण्ठित छ। यी दुईको बीचमा छ दसवर्षे बालक जोहान जो आफ्नी आमा र ठूलीआमाबीचको द्वन्द्व नियालिरहेको हुन्छ।
युद्धको विभीषिकाबाट बच्न रेलबाट ओर्लेर कुनै अज्ञात देशको अज्ञात सहरको होटलमा शरण लिइरहेका यी तीन जनाको आ–आफ्नै संसार छ। फूल पार्ने पोथीजस्तै आना जवानीको रहर मेट्न सहरबजार भौतारिँदै हिँड्छे। रहरलाग्दो पुरुषलाई होटलमै निम्त्याएर दिदीकै अगाडि खुलमखुला सहबास गर्छे। रोगी दिदीभित्र यसले कुण्ठा भरिन्छ भन्ने ऊ तत्वबोध गर्न चाहन्नँ। दिदीचाहिँ बहिनीको स्वस्थ जवानीको चाहना बुझ्दिन। यसरी एकअर्काको मर्काको भाषा नबुझ्दा यी दुई बेग्लाबेग्लै टापुका प्राणीझैंहुन पुग्छन्।
सिनेमाको त्यो क्षण दर्शकको हृदय रेट्दै अघि बढ्छ जब रोगी दिदीलाई होटलमै कालको शरणमा छाडेर तरुनी आना छोरालाई लिएर रेलयात्रा जारी राख्छे। रोगी इस्टर होटलको बूढो पालेको रेखदेखमा शान्त देखिन्छे तर दर्शकहरू उसको मौनतामा अल्झेको चित्कार सहजै महसुस गर्न सक्छन्। अनि बालक जोन इस्टरले कागजमा लेखेर दिएका तिनै दुई शब्दको अर्थ लगाउँदै भन्छ, ‘मेरी आमा र ठूलीआमा दुवैको जिन्दगी हात र हृदयको अभावमा दु : खी छ।’
सिनेमाबारे आनाको भूमिका खेल्ने गुनेल लिन्डबोल्म भन्छिन्, ‘पहिलोपल्ट हेरेर हलबाट बाहिर निस्कँदा फिल्मका प्रत्येक दृश्य मेरो रक्तनलीमा जोडजोडले बगिरहेका थियो। म एउटी दुव्र्यसनीजस्तै वाणीविहीन भएर फर्केको थिएँ।’
करुणा भर्सेस क्रूरता
करुणाको प्रतिक्रियामा जब क्रूरता हावी हुन्छ, संसार त्यहीँबाट तनावग्रस्त हुन थाल्छ। ईष्र्याले तत्काल मान्छेभित्र बदलाको भाव जन्मछ। एक दिन त्यसले उसलाई गहिरो पश्चात्तापको तलाउमा डुबाउँछ।
सन् १९६० को उत्कृष्ट विदेशी भाषाको ओस्कार विजेता फिल्म ‘भर्जिन स्प्रिङ’मा करुणामयी किशोरीको बलात्कार र हत्याको कथा छ। एक जोडी क्रिस्चियन अभिभावक कमलको पत्रदलजस्ती कोमल, सुन्दरी र करुणामयी छोरी करिनलाई घरेलु कामदार इंगेरीको साथ लगाएर क्यान्डललाइट पुर्याउन टाढाको गिर्जाघरमा पठाउँछन्। घोडामा घना जंगलको यात्रा गर्नुपर्दा इंगेरी डराउँछे। उसलाई खोलानजिकै एकजना घटेराको शरणमा छाडेर करिन एक्लै यात्रामा जान्छे। बाटामा दुई अधबैंसे र एक बालक गोठाला अत्यन्त दीनहीन अवस्थामा भेटिन्छन्। करिन उनीहरूसँग अत्यन्त प्रेमपूर्वक प्रस्तुत हुन्छे। आफ्नो यात्राबारे सविस्तार बताउँछे। आफूले ल्याएको खाजा उनीहरूलाई बाँडेर खुवाउँछे।
यति प्रेम र करुणाले भरिएको दृश्य एकाएक क्रूरताले भरिन्छ जब करिनको फूलजस्तो कोमल जवानी देखेर दुई अधबैँसेमा पाप पलाउँछ। करिनको प्रेम र करुणाको बदलामा उनीहरू उसलाई बलात्कार गर्छन्। बलात्कारको पीडा भोगेर बाटो लागेकी करिनलाई उनीहरू पछाडिबाट हतियार प्रहार गरी हत्या गर्छन्। उसको मूल्यवान् कपडा फुकालेर उसैकी आमालाई बेच्न पुग्छन्। मान्छेको यो आदिम क्रूरताले अनेक प्रश्न उठाउँछ।
अन्तर्यका अनुपम स्रष्टा
जुलाई ३० बर्गम्यानको स्मृति दिवस। यो वर्ष उनको शताब्दी वर्ष पनि हो। स्विडेनको उपशालामा जुलाई १४, १९१८ मा जन्मेर सिनेमाका अनुपम पाठशाला बनेका बर्गम्यान २००७ मा बित्दा नेपाली सिनेमा जगत् र मनोरञ्जनलाई विशेष महत्व दिने नेपाली मिडिया पूरै बेखबर थिए।
उनका तीन फिल्म ‘भर्जिन स्प्रिङ’ (१६०), ‘थु्र अ ग्लास डार्कली’ (१९६१) र ‘फ्यानी एन्ड एलेक्जेन्डर’ (१९८३) ले उत्कृष्ट विदेशी फिल्मको ओस्कार पुरस्कार जिते। नौपल्ट उत्कृष्ट निर्देशकका लागि ओस्कारमा मनोनीत भए तर पुरस्कार पाएनन्। तथापि, विश्वसिनेमाले ओस्कार पाएका अन्य निर्देशकलाई भन्दा कता हो कता बढी उनैलाई सम्झन्छ। यसबाट प्रस्ट हुन्छ, पुरस्कार पाउने मात्र उत्कृष्ट र स्मरणीय हुँदैनन्। योगदानकै लागि भए पनि उनलाई विशेष ओस्कार पुरस्कार नदिइनु ओस्कारकै दुर्भाग्य थियो।
पृथक् शैली, उच्च सिर्जनशीलता, बौद्धिकता र गहनता उनका सिनेमाका खास तत्व थिए। आफ्नो समयमा उनका सबैजसो सिनेमाले संसार हल्लाए। तीमध्ये पनि ‘वाइल्ड स्ट्राबेरिज’ (१९५७), ‘सेभेन्थ सील’ (१९५७), ‘भर्जिन स्प्रिङ’ (१९६०), ‘साइलेन्स’ (१९६३), ‘शेम’ (१९६८), ‘प्यासन अफ आना’ (१९६९), ‘सिन्स फ्रम अ म्यारिज’ (१९७४) जस्ता सिनेमा अविस्मरणीय छन्।
फुल पार्ने पोथीजस्तै आना जवानीको रहर मेट्न सहरतिर भौतारिँदै हिँड्छे। रहरलाग्दो पुरुषलाई होटेलमै निम्त्याएर दिदीकै अगाडि खुलमखुला सहबास गर्छे। रोगी दिदीभित्र यसले कुण्ठा भरिन्छ भन्ने ऊ तत्वबोध गर्न चाहन्न।
मानसिक उथलपुथललाई शारीरिक हावभावद्वारा ऐनाझैं प्रस्ट देखाउने बर्गम्यानका सबैजसो पात्र प्रतिकूल सांसारिकताबाट पीडित व्यक्ति हुन्। ती प्रेमको खोजीमा हुन्छन्, घृणा पाउँछन्। शान्तिको खोजीमा ईश्वरको शरणमा पुग्छन्, यातना पाउँछन्। क्यान्स फिल्म उत्सवमा पुरस्कृत ‘सेभेन्थ सिल’को पात्र एन्टोनियस ब्लोख आर्तनाद गर्दै भन्छ, ‘मलाई ईश्वरप्रति घृणा छ तैपनि म किन उनको हत्या गर्न सक्दिनँ ? म भजन होइन, ईश्वरको रहस्यबारे जान्न चाहन्छु।’
‘भर्जिन स्प्रिङ’मा आफ्नी छोरीका बलात्कारी तथा हत्यारासँग क्रूरतापूर्वक बदला लिएर अपराधग्रस्त मनोदशामा छोरीको लाससामु घुँडा टेक्दै क्रिस्चियन पिता भन्छ, ‘ईश्वर, तिम्रै इच्छानुसार मैले यिनीहरूलाई मारिदिएँ। तैपनि म किन यति अशान्त छु ? मैले तिमीलाई चिन्न सकिनँ प्रभो, तिमी के हौ ? तिमी को हो ? ’
‘चलचित्रकला’ पुस्तकका लेखक लक्ष्मीनाथ शर्माका अनुसार बर्गम्यान भावनात्मक अनुभूतिहरूको सफल फिल्मकार हुन्। उनका क्यामराका आँखा त्यहाँ पुग्छन् जहाँ सामान्यतया अरूका पुग्ँदैनन्। सिनेमाका हरेक दृश्यांश तर्कपूर्ण हुनुपर्छ। कुनै दृश्यांश के कारण समेटियो र त्यसबाट अरू कुन–कुन दृश्य प्रभावित छन्, ती सूक्ष्म कुराप्रति उनको विशेष ध्यान रहन्छ। फ्रान्सको प्रसिद्ध सिनेपत्रिका ‘काहिए दु सिनेमा’का तत्कालीन सम्पादक तथा फिल्मकार फ्रान्सुवा त्रुफोले भनेका छन्, ‘सिपालु साहित्यकारले उपन्यास लेखेजस्तै बर्गम्यान सिनेमा लेख्छन्।’
‘वाइल्ड स्ट्राबेरिज’ उनको अनुपम काव्यिक सिनेमा हो। समीक्षकहरू यसलाई संसारकै थोरै कालजयी सिनेमाको सूचीमा अग्रपंक्तिमा राख्छन्। यसमा वृद्ध प्राध्यापक इसाक बोर्गको एक दिनको कथा छ जसमा उनका अन्य चलचित्रमा जस्तै यात्राको प्रसंग छ। प्राध्यापक विद्यावारिधि लिन गइरहेको हुन्छ। सडकमा कार चलिरहेको हुन्छ। प्राध्यापकभित्र पूर्वस्मृति र भ्रमहरूको अर्को कार चल्न थाल्छ। अतीतका भयावह सपना, एक्लोपन र पाखण्डले उसलाई बेस्सरी चिमोट्छन्। सिनेमाको खुबी के हो भने बर्गम्यानले सिनेमामा पहिलो पल्ट व्यक्तिको बाह्य मात्र होइन भित्री चित्र पनि त्यत्तिकै कुशलतापूर्वक उतार्न सकिन्छ भन्ने प्रमाणित गरे।
कथा उनका लागि निमित्त मात्र हो। उनी त्यसभित्रका अरू धेरै सूक्ष्म कथा खोतल्छन्। मान्छेको मनको कुरा र व्यथा अनि ईश्वरसँग अन्तर्य सम्बन्धलाई हेर्ने उनका बेग्लै मानवीय आँखा छन्। ‘म धेरै कुरा भन्न चाहन्छु, मान्छेभित्रको सम्पूर्णता खिच्न चाहन्छु। हरेक मानिसमा आफ्नै खालका आत्मसम्मान अर्थात् समग्रताको भाव हुन्छ जसमार्फत तनाव, असमझदारी, कमनीयता, अरूसँगको सम्बन्ध, विच्छेदका भाव बढ्दै जान्छन्। त्यसपछि के हुन्छ, म त्यसबारे भन्न चाहन्छु’। जोन सिमनको किताब ‘इंगमार बर्गम्यान डाइरेक्टस’ (१९७२) मा बर्गम्यानको यस कथनले उनको सिर्जनाप्रवृत्तिलाई छर्लंग पार्छ।
उनी त्यतिखेर स्विडेनबाट विश्वसिनेमामा दरिलो उपस्थिति जनाइरहेका थिए जब इटालीमा डेसिका, रोजिलिनी, भिस्कोन्टी समयचेतना झल्काउने नवयथार्थवादी सिनेमामार्फत विश्वको ध्यान खिचिरहेका थिए। जतिखेर भारतका सत्यजित रे, जापानका अकिरा कुरुसोवा, फ्रान्सका रोबर्ट ब्रेस्सोँ, सबरोल, त्रुफो, एलेन रने, पोल्यान्डका आन्द्रे बाज्दा, इटालीका माइकलएन्जेलो एन्तिनिओनी, फ्रेडेरिको फेलिनी, लिना बर्टमुलर, हंगेरीका मिक्लोस याङ्सो तहल्का मच्चाइरहेका थिए।
बर्गम्यान निर्देशकमात्र नभई नाटककार, उपन्यासकार, पटकथाकार, रेडियो, टेलिभिजन कार्यक्रम उत्पादक र नाट्यकर्मीका रूपमा पनि प्रसिद्ध थिए। उनी त्यस्ता निर्देशक हुन् जसबारे संसारमै सबैभन्दा बढी किताब र आलेखहरू लेखिएका अनि श्रव्यदृश्य बनाइएका छन्। ‘द म्याजिक ल्यान्टर्न, इमेजेज : माई लाइफ इन फिल्म, प्राइभेट कन्भर्सेसनस, द बेस्ट इन्टेन्सन्स’ उनका आत्मकथात्मक किताब हुन्।
बाबुआमाको सम्बन्ध सुमधुर उनको बाल्यकाल अप्रिय थियो। सुरुआती नाटक र सिनेमामा उनले आफ्नै तनावपूर्ण बाल्यकाललाई विषय बनाए। सन् १९४४ मा चलचित्र ‘फ्रेन्जी’का लागि पटकथा लेखेर सिनेमामा प्रवेश गरे। त्यसको दुई वर्षपछि ‘क्राइसिस’मा निर्देशक भएर काम गरेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। उनकै प्रवेशपछि स्विडेनको सिनेमामा कायापलट भयो। सन् १९५५ मा निर्मित ‘स्माइल्स अफ समर नाइट’ मा उनले व्यापक अन्तर्राष्ट्रिय सफलता पाए। ‘वाइल्ड स्ट्राबेरिज’ले त सिनेमाका अद्वितीय स्रष्टाकै रूपमा चिनायो। सन् २००३ मा निर्मित टेलिचलचित्र ‘साराबान्ड’ उनको अन्तिम कृति हो। स्भेन निक्भिस्ट उनका स्थायी क्यामराम्यान रहे भने बीबी एन्डरसन, ह्यारियट एन्डरसन, इन्ग्रिड थुलिन, लिभ उल्मनलाई प्रिय अभिनेत्रीका रूपमा बारम्बार दोहोर्याइरहे। पाँच जनासित बिहे गरे जसमध्ये कान्छी थिइन् ओस्कार विजेता विश्वप्रसिद्ध अभिनेत्री इन्ग्रिड बर्गम्यान।
अन्त्यमा
बर्गम्यानका सिनेमा सामाजिक यथार्थवादी होइनन्। सामाजको मर्मस्पर्शी सत्य खोतलेर त्यसमा परिवर्तनको संकेत गर्ने भितोरियो डेसिका, लुसिनो बिस्कोन्टी, सत्यजित रे, मिखाइल कालाताजोभ, ग्रेगोरी चुख्रेका सिनेमामा बानी परेका दर्शकलाई उनका सिनेमाले निद्रा लगाइदिन सक्छ। उनी समाजको यथार्थ होइन, मान्छेको मनभित्रको यथार्थ खोतल्न चाहन्छन्।
‘भर्जिन स्प्रिङ’मा कामदार इंगेरी करिनप्रति नजानिँदो ईष्र्या गर्छे। घना जंगलमा ऊ करिनलाई एक्लै छाडिदिन्छे। ऊ जंगलको एक छेउबाट करिनलाई गोठालाहरूले गरेको बलात्कार र हत्याको दृश्य हेरिरहेकी हुन्छे। तर, कुनै हस्तक्षेप गर्दिन। करिनको बाबुसँग हात जोड्दै ऊ भन्छे, ‘मैले ऊमाथि भएको अत्याचार चुपचाप हेरिरहेँ। म उसको हत्या भएको हेर्न चाहन्थेँ जसप्रति मलाई अहिले गहिरो पश्चात्ताप छ। अब मलाई जे सजाय दिन्छौ, देऊ। म प्रायश्चित्त गर्न चाहन्छु।’ हत्या, बलात्कार, ईष्र्या, क्रूरता मान्छेका आदिम स्वभाव हुन्। चेतनाले उसमा प्रेम र प्रायश्चित्त पलाउँछ। मान्छे सधैं किन यिनैको गोलचक्करमा फसिरहेछ ? बर्गम्यानका सिनेमा यसैको जवाफको खोजीमा हुन्छ।