शितला माजु

शितला माजु

‘शितला माजु’ गीतमा तत्कालीन राजा रणबहादुर शाहले तःकै (बिफर) लागेकाहरूलाई तामाकोसीपारि डाँडो कटाउँदा बखतको कथाव्यथा छ।


नेपालभाषा साहित्यिक अभियानमा भाषा थुवाः पदवीले विभूषित प्रेमबहादुर कंसाकारले संकलन गरेका १५ वटा गीति कथा उनको ‘बाखं म्ये’ पुस्तकमा प्रकाशित छन्। जीवनमा भएका घटनालाई बाखं (कथा)को शैलीमा गाइने म्ये (गीत) लाई नै बाखं म्ये (गीति कथा) भन्ने गरिएको छ। छापिएका १५ वटा गीतमध्ये ‘शितला माजु’ एक हो। गीतका रचनाकार अज्ञात रहेको यो गीत कहुकोला राग र परतालमा गाइन्छ। यस गीतमा तत्कालीन राजा रणबहादुर शाहले तःकै (बिफर) लागेकाहरूलाई तामाकोसीपारि डाँडो कटाउँदा बखतको कथाव्यथा छ।

प्रतापसिंह शाहका छोरा रणबहादुर शाहका चार महारानी थिए। तीमध्ये एक महारानीलाई उनी औधी माया गर्थे। उनकै पालामा नेपालमा बिफरको महामारी आयो। आफ्नी प्यारी महारानीलाई बिफर लाग्ला भन्ने चिन्ताले सतायोे र उनले बिफर लागेका बालकहरूलाई तामाकोसी नदीपारि निकाला गर्ने उर्दी जारी गरे। दरबारभित्रको कलहका कारण मानसिक रूपले विक्षिप्त भइसकेका सन्काहा राजा रणबहादुर शाहले बिफर रोगले ग्रसितहरूलाई निकाला मात्र गरेनन्, मृत्यु भएपछि समेत ती बालकहरूको शव परम्पराअनुसार गाड्न वा जलाउन नपाउने र तामाकोसीमा बगाउनुपर्ने समेत फरमान जारी गरे। राजाको निरंकुश उर्दीका कारण आफ्ना सन्तान लिई तामाकोसीपारि विस्थापित हुँदाको पीडा र आफ्ना सन्तानको शव तामाकोसीमा बगाउँदाको विरहमा नेपालभाषाको शितला माजु गीत गाइयो।

नेपालभाषा साहित्यमा मल्लकाललाई स्वर्ण युगको रूपमा लिइन्छ। मल्लकालपछि पनि राजाको वीरताको गुणगान, देशभक्तिका भाव, देवीदेवताका भक्ति गीत गाइन्थ्यो। बिरामी प्रजाको उपचार गर्नु गराउनुको साटो बिफरले ग्रसित प्रजालाई देश निकाला गर्नुजस्तो आलोच्य कामको कारण जन्मिएको यो गीत तत्कालीन समयको साहित्यिक धारभन्दा फरक धार समाएको, राजा र दरबारकै विरुद्ध बोलिएकाले पनि यो गीतको महत्व व्यापक छ। करुण रसमा रचित यो गीतमा सामूहिक विस्थापन र आफ्ना नाबालक नानीहरूको मृत्यको वेदना मात्रै होइन, राजधर्ममा चुकेका राजा र प्रजाप्रति राजाको गैरजिम्मेवारीमाथि पनि कटाक्ष गरिएको छ।

शितला माजु गीतमा कान्तिपुरदेखि भक्तपुर, बनेपा, पलाञ्चोक भगवती, दोलालघाट र दोलखा हुँदै तामाकोसीपारि विस्थापन हुँदा बाटामा भएका देवीदेउताहरूलाई गरेको याचना र भाकल उल्लेख छ। भक्तपुरको तलेजु, बनेपाको चण्डेश्वरी, काभ्रेको पलाञ्चोक भगवती र दोलखाको महादेवको दर्शन गर्दै तामाकोसीपारि पुगेको बयान छ। बिफर निको पारिदिने मानिने देवी शितला माजुलाई बिफर निको पारिदिन बिन्ती र निको पारिदिएमा सुनको फूल चढाउने, परेवा उडाउने वाचा गरिएको छ। हिँड्दाहिँड्दै बास बस्ने ठाउँ नपाएको र खानेकुरा सकिएको समस्या पनि उल्लेख छ। जम्माजम्मी २० अन्तरामा गाइएको यस गीतको तेस्रो र चौथो अन्तरा यसरी गाइएको छ  :

नसा बजि ब्यकुंच्यासे कचिमचा लुकुंछिसें

वनेमाल तामाखुशी पारी।।३।।

छम्ह मचा लुखछिसें छम्ह मचा ब्यकुंच्यासे

छम्ह मचा लुतुलुया यने।।४।।

यसमा बिफर लागेकाहरूलाई देश निकाला गर्ने आदेशमुताविक एउटा हातमा खाजा र अर्को हातले नानी बोकी तामाकोसी जानु परेको पीडा पोखिएको छ। त्यस समय धेरै सन्तान जन्माइन्थ्यो। आमाबुवा पोको पन्तरोसहित आफ्नो देश परित्याग गर्दा स्वाभाविक रूपमा कोही नानी काँधमा, कोही ढाडमा र कसैलाई लतार्दै लानुपर्ने हुन्छ नै। यही विरह गीतमा पोखिएको छ।

तामाकोसीपारि बस्दाबस्दै नाबालक छोराछोरीहरूको मृत्यलाई अगाडिका पंक्तिमा यसरी वर्णन गरिएको छ  :

सुरज कोमजो थास चिकुं पुना मचा सित

मामं बुबा नुग दाया खोल।।१५।।

सीम्ह मचा उयमदु मचा गाले थुने मदु

परजाया गथि ह्वाल।।१६।।

अर्थात् एकातिर बिफरले गलाएको त छ नै, अर्कोतिर घामको मुखै नदेखिने ओसिला ठाउँको बास। चिसोले कठ्यांग्रिएर आफ्ना नानीहरू अकालमा बिते। न जलाउन पाइन्छ, न त गाड्न। प्रजाको हालत हरे, यो के भयो !

यो दृश्य कति हृदयविदारक हुँदो हो ! त्यसपछिको अन्तरामा यस्तो भनिएको छ  :

वाम्ह मचा मामं जोसें वाम्ह मचा बुबां जोसें

तामाखुशि कुंतवंका छोत।।१७।।

अर्थात् आधा ज्यान आमाले बोकी, आधा ज्यान बुवाले बोकी तामाकोसीमा बगाइदिएको छ, नानीको शव। सन्तानको शव बुवा र आमाले बोकेर ल्याई तामाकोसीमा बगाउन ल्याएको दर्दनाक र भयानक दृश्य हो यो। यसरी पराई गाउँमा सन्तानवियोगको पीडा र रुँदैरुँदै नदीमा बगाउनु पर्दा बीभत्स दृश्य उल्लेख गरिएको छ।

‘शितला माजु’को गीतले २०७४ सालको भदौमा मधेसमा बाढी प्रकोप हुँदा नाबालक कमल सदाको मृत्यु अवस्था दर्शाउँछ। उनको शव जलाउने/गाड्ने सुक्खा जमिन नभएको, तथाकथित उपल्लो जातिका मानिसले अछूत समुदायको बालकको शव गाड्ने जमिन नदिएका कारण उनको शव उनका काकाले पानीमा बगाउँदाको करुण दृश्य स्मरण हुन्छ। नरेन्द्र श्रेष्ठले क्यामरामा कैद गरेको बग्दै गरेको शवको फोटोले वर्षको उत्कृष्ट तस्बिरको चर्चा मात्र पाएन, यही विषयमा कैयन् कविता पनि लेखिए। त्यति बेलाका लोककविहरू र जनसामान्यले पनि त्यही गरे। त्यो कठोर समयमाथि करुण गीत रचे। त्यति बेलाको एउटा ऐतिहासिक दुःखान्तलाई श्रुतिपरम्परामै भए पनि जीवित राख्ने काम गरे।

गीतको अन्त्यमा राजा रणबहादुर शाहमाथि आक्रोश पोखिएको छ। यी हरफहरू तत्कालीन समयमा लेखिने साहित्यभन्दा फरक धारका हुन्। साधारणतः राजाको चाकडी चुक्ली र स्तुतिगान मात्र लेखिने र गाइने समयमा राजाप्रति दुःखेसो, आक्रोश र खेद पोख्नु एक साहसिक कदम नै मान्न सकिन्छ।

अन्तिम अन्तिम हरफहरूमा यसो भनेर बिट मारिएको छ  :

स्वामी जुजुया धर्म मदया कचिमचा वाके छ्वत

वने माल तामाखुशि पारि।।१८।।

नेपालया छत्रपति श्री रणबहादुर

परजान अति दुःख सिल।।१९।।

अर्थात् महाराजको धर्म नभइदिँदा नाबालकहरू फाल्न पठाए र कोसीपारि निर्वासित हुनु पर्योल। हे नेपालको छत्रपति रणबहादुर, तिम्रो कारणले प्रजाले अति दुःख पाए।

यसरी एक राजाको निरंकुशता, विवेकहीनता, तानाशाहीपन र स्वार्थका कारण तत्कालीन समयमा प्रजाले भोग्नु परेको दुःख, पीडा नेपालभाषाको प्राचीन ‘शितला माजु’ गीतले गाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.