निश्पक्ष छानबिन गरी दाेषीलार्इ कारवाही गर : भट्ट
काठमाडौं : १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सरकारले गम्भीर ढंगले छानबिन नगरेको आरोप लागिरहेका बेला सांसद लेखराज भट्टले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् । कञ्चनपुर जिल्लाको भीमदत्तनगर नगरपालिका वडा नं २ निवासी निर्मला पन्तको हत्या प्रकरणलाई राज्यले सामान्यरुपमा लिई सुरक्षा स्थिति मजबूत पार्न तथा घटनाको निष्पक्ष छानबिन गर्न नसकेकोमा आपत्ति प्रकट गरेका छन् ।
‘उक्त घटनाप्रति राज्य गम्भीर हुन नसक्दा घटनाले अनपेक्षित मोड लिन पुगेको छ, हत्याकाण्डबारे भरपर्दो तरिकाले अनुसन्धान गरियोस् र दोषीलाई कार्वाही होस्’ उनले विज्ञप्तिमा भनेका छन् ।
उनले प्रेस विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा मृतकलाई राष्ट्रिय शहीद घोषणा गर्न मागसमेत गरेका छन् । जनताको शान्तिपूर्ण र न्यायिक आन्दोलनप्रति समर्थन गर्नुका साथै प्रदर्शनमा अनावश्यक बल प्रयोग गरिएकोमा उनले गृह प्रशासनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘ जनताको स्वतःस्फूर्त आन्दोलनमा बल प्रयोग नगर्न तथा घटनालाई अतिरञ्चित तवरले राजनीतिकरण गर्ने प्रयास हुनसक्ने अवस्थालाई ध्यानमा राखेर नागरिक भावना अनुरुप अनुसन्धान अघि बढाई जनसुरक्षाका लागि आवश्यक रणनीति अबलम्बनका लागि निर्देशन दिन समेत गृह प्रशासन समक्ष माग गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उनले जनभावना अनुरुप अनुसन्धानको कार्यलाई अगाडि बढाई दोषीलाई कार्वाहीको घेराभित्र ल्याउनु सकेमात्रै जनताको असन्तुष्टि हल हुन सक्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘आन्दोलनलाई हिंसारहित बनाउन र यसमा हुनसक्ने सबैखाले घुसपैठकाविरुद्ध सचेत हुन समेत आम जनसमुदायमा हार्दिक अनुरोध गर्न चाहन्छु ।’ विज्ञप्तिमा भनिएको ।
भट्टले शान्तिपूर्ण प्रदर्शनलाई अराजकरुपमा लैजान खोज्ने गैर राजनीतिक प्रवृत्तिको निशानमा परेका ती युवकका परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।