भरतशमशेरले भने : जसले देशलाई ठीक गर्छ, त्यही कांग्रेस
बीपीले लेखेका छन्, ‘बिहानीपख हल्ला भयो, भरतशमशेर समातियो भनेर। गोरखा दलवालाहरूको भयानक जुलुस निस्क्यो र जेलतिर आक्रमण गर्योह। त्यो अप्रिल महिना थियो।’
कोलकाताको काली मन्दिर दर्शनपछि हामी २०७५ असार १४ गते बिहान १०:३० बजे बालीगन्जस्थित भरतशमशेरको निवासमा पुग्यौं। हामी अर्थात् नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबारे वृत्तचित्र निर्माण टोली, भ्रमणको चाँजोपाजो मिलाएको थियो फिल्मशालाले। टोलीमा वृत्तचित्र निर्देशक श्रीहरि श्रेष्ठ, फिल्मशाला टीभीकी प्रबन्ध निर्देशक किरण मोक्तान, नेकपा केन्द्रीय सदस्य देवशंकर पौडेल, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, उनकी पत्नी सावित्री र म थियौं। स्थानीयस्तरमा कोलकाताका लागि नेपाली उपमहावाणिज्य दूत नारायणप्रसाद शर्मा र व्यवसायी रामायण धमलाको साथ रह्यो।
९१ वर्षका भरतशमशेर हाम्रै प्रतीक्षामा रहेछन्। चिनापर्ची त हुने नै भयो। हामीले भेटघाटको उद्देश्यमाथि प्रकाश पार्यौंी। उनलाई राजनीतिक विषयमा अपडेट हुन टीभीको सहारा रहेछ। उनले छातीमा झुन्ड्याएर राखेको सिट्ठीले भने मलाई निकै छोयो, उनी आफूलाई आवश्यक परे सिट्ठी फुकेर सहयोगीलाई बोलाउँदा रहेछन्। हाम्रो भेट अवधिमा कतिपटक उनले सिट्ठी फुके भन्ने याद त गरिनँ तर यसकै माध्यमबाट पाहुनाको सत्कार गर्न, अन्य आवश्यक कामका लागि सहयोगीलाई बोलाए। सिट्ठी फुक्यो कि सहयोगी हाजिर ! हाम्रो टोलीका सदस्यले पनि आवश्यक परे उनलाई सिट्ठी फुक्नै लगायौं।
‘अब त पोलिटिक्सबाहेक छँदै छैन, अगाडि टीभी राखेको छु। जति पनि पोलिटिक्स छ यही टीभीमा आउँछ। मान्छेहरू तपाईंहरूजस्तै भेट्न आउनुहुन्छ। जीवन राजनीतिमै बिताउँछु, मर्ने बेला भइसक्यो। १–२ वर्ष, २–४ वर्षजति बाँच्छु होला। त्योभन्दा बढ्ता त हुनै सक्दैन’, उनी आफ्नो दिनचर्याबारे यसरी खुले।
०००
भरतशमशेर नाम सुन्दा मिथकजस्तो लाग्थ्यो मलाई तर उनीसँग भेट भएपछि भ्रम निवारण भयो। राणाकालीन अन्तिम मन्त्री, उनले आफू राणाकालमा मन्त्री भएको हामीसँग खुलाए। गोरखा दलको विद्रोह प्रयास त बीपी कोइराला पढ्ने सबैलाई थाहै छ। राणा शासन फाल्न सशस्त्र क्रान्तिमा उत्रिएका मुक्तियोद्धालाई गोरखा दलकै चलखेलपछि रक्षादलमा परिणत गरिएको इतिहास छ, जतिबेला बीपी गृहमन्त्री थिए। बीपीले आफ्नो आत्मवृत्तान्तमा पनि भरतशमशेर सँगको सम्बन्धमाथि यस्तो लेखेका छन् :
‘बिहानीपख थियो। अब हल्ला भयो, भरतशमशेर समातियो भनेर। गोरखा दलवालाहरूको भयानक जुलुस निस्क्यो र जेलतिर आक्रमण गर्योए। म बसेको नजिकै थियो जेल। अप्रिल महिनाको कुरा थियो। जेल तोडेर भरतशमशेरलाई लिएर ६–७ हजारको जुलुस उसलाई बोकेर, मुर्दावाद, कांग्रेस मुर्दावाद, ज्यान लिनुपर्छ, यो फलाना–ढिस्काना भनेर खुकुरी चम्काउँदै निक्स्यो। त्यसमा आठपहरियाहरू थिए बबरमहलका। पछि एउटा मारियो, त्यसको त खुकुरी नै मसँग थियो। ...भरतशमशेर मलाई पछि भन्थ्यो, ‘जब मलाई जेल तोडेर ल्याए, मिटिङ गर्नलाई ल्याएजस्तो लागेको थियो। जब मैले मुड त्यसको देखेँ, त्यो त तपाईंलाई आक्रमण गर्छ भनेर म त्यहाँबाट फुत्केर टुँडिखेलतिर भागेँ।’ (विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, पृष्ठ १५३) ...अब उसले मलाई पछि बताउँछ, ‘मेराअगाडि एउटा प्रश्न थियो। म कब्जा गर्न सक्थेँ। पल्टन मसँग हिँड्ने थियो। तर, तपाईंलाई मैले मार्नुपथ्र्यो। मैले केही मिनेट सोचेँ, के गरौं भनेर।’ भरतशमशेरलाई लागेछ, त्यसो गर्दा त झन् ठूलो उत्पात हुनेछ। (पृष्ठ १५५)
उनै भरतशमशेर राष्ट्रवादी गोरखा परिषद्का तर्फबाट २०१५ सालको चुनावपछि गठित संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता भए। केआई सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टीका तत्कालीन केन्द्रीय सदस्य चेतेन्द्रजंग हिमालीका अनुसार गोरखा परिषद्मा मृगेन्द्रशमशेर अध्यक्ष र भरतशमशेर महासचिव थिए। त्यस बेला कांग्रेसले ७४, गोरखा परिषद्ले १९, संयुक्त प्रजातन्त्र पार्टीले पाँच र नेपाल कम्युनिस्ट पार्टीले चार सिटमा जितेको एक भेटमा हिमालीले सुनाए। पहिलो जननिर्वाचित सरकार र संसद् राजा महेन्द्रले भंग गरेपछि भरतशमशेर राजाको कदमविरुद्ध लागे। जेलबाट निस्किएर भारत पुगेलगत्तै उनी कांग्रेसमा प्रवेश गरे। कांग्रेस–कम्युनिस्ट मिलेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई उनले ‘ठूलो उपलब्धि’ भनेका छन्।
तर, उनै पुराना नेतालाई हामीले साउन अन्तिम साता गुमाएका छौं। कोलकाताबाट फर्किंदै गर्दा फिल्मकर्मी श्रीहरि र मैले भरतशमशेरसँग फेरि भेटेर विस्तृत कुराकानी गर्नुपर्छ भन्ने सोचेका थियौं। हामीलाई भरतशमशेरसँगको भेट पर्याप्त लागेको थिएन र छैन पनि। एकजना व्यक्तिले देखेका, भोगेका अनि सुनेका कुरा उसको अवसानसँगै बिलाएर जान्छन्, त्यसमाथि भरतशमशेरजस्ता ‘इतिहास’को त अर्कै महत्व हुने भयो।
०००
कोलकाता भ्रमणको कुरा हुँदा नै मेरो दिमागमा भरतशमशेरको नामले डेरा जमाउन थालेको थियो। मैले हाम्रो टिमलाई भरतशमशेरसँग भेट गर्नुपर्छ है भनेको थिएँ। मलाई खासगरी सिंहदरबार विद्रोहबारे उनीसँग बुझ्न मन थियो। मेरो सोच त पूरा भयो। तर, समयसीमाका कारण पर्याप्त कुराकानी गर्न सकिनँ। जति कुराकानी भयो त्यतिलाई नै पर्याप्त मान्नुपर्ने भएको छ।
जीवनमा कहिलेकाहीँ अनौठो संयोग पर्छ। कोलकाताबाट फर्किएलगत्तै उनीमाथि केही लेखूँ भन्ने लागेकै थियो। तर, तत्काल नलेख्नु मेरा लागि दुर्भाग्य बन्योे किनकि अब मैले लेखेका कुरा भरतशमशेरले पढ्दैनन्।
उनी नास्तिक रहेछन्, हाम्रो निधारमा काली मन्दिरको प्रसाद देखेपछि उनले आफ्नो कुरा खोले। धार्मिक ‘अन्धविश्वास’ र जातीय विभेदबारे सानै उमेरदेखि आफ्नो विद्रोही स्वभाव उनले सुनाए। आफूले जीवनमा गरेका कामप्रति सन्तुष्ट देखिएका उनी धेरै बाँच्दा साथीसंगाती नहुने भन्दै चिन्तित देखिए। युवावयको तस्बिर देखाउँदा भने प्रफुल्ल देखिएका उनलाई किरणले जब ‘बुवा आई लभ यु’ भनिन् तब उनको अनुहारमा बेग्लै चमक भरियो।
हामीसँग अनौपचारिक कुराकानीमा उनी निकै खुले। उनले मलाई आफ्नो छाती छाम्न लगाए। छाती छाम्दा ‘नर्भस’ महसुस भएको थियो। उनी झन्डै सात वर्षदेखि ‘पेसमेकर’को सहारामा बाँचेका रहेछन्। उनले बीपी कोइराला र मदन भण्डारी (अति नजिकको) आफूकहाँ बसेको, बीपीले मात्र ‘तिमी’ भनेर सम्बोधन गर्ने गरेको, पुष्पलालसँग नजिकको सम्बन्ध भएको, आफू ‘वामपन्थी कांग्रेस’ भएकोलगायत विषयमा पनि कुराकानी गरे। उनले हामीलाई पर्याप्त पाहुना सत्कार देखाएका थिए। हामी हिँड्ने बेला उनी मलिन देखिएका थिए। उनका आँखामा आँसु टप्किए। अब उनको आँसु टप्किएको आँखा स्मृतिमा रहिरहनेछ।
०००
भरतशमशेरको अप्रकाशित अन्तर्वार्ता :
२००७ सालको राजनीतिक परिवर्तनलाई तपाईं कसरी स्मरण गर्नुहुन्छ ?
त्यो जमानामा हाम्रा ग्र्यान्ड फादरहरू थिए। क्या हो प्रजातन्त्र भनेको ? हामीलाई केही थाहै थिएन, पत्तै थिएन त्यो बेला शासन गर्नेहरूलाई। प्रजातन्त्रको नाम पनि सुनेका थिएनन्। मचाहिँ एमए पास गरेर आइसकेको थिएँ। त्यस बेला पढेलेखेको मान्छे नै थिएन। लु, यहाँ मन्त्री बन् भनेर मलाई राखिदिए, एग्रिकल्चरलाई भनेर मलाई मन्त्री बनाइदियो। एजुकेसन पनि मलाई दिइयो। पछि मैले यो हुँदैन भनेर म हाम्रै सरकारको पनि बागी थिएँ।
तपाईं अन्तरिम सरकारमा मन्त्री हुनुभएको थियो ?
होइन, त्यो राणा शासनको बेला थियो। म अपोजिसन लिडर थिएँ इन्टेरिम गभर्मेन्टमा।
यो भयो २०१५ सालको कुरा। मैले सोध्न खोजेको, सात सालको मन्त्रिमण्डलको कुरा !
सात सालमा म केही पनि थिइनँ। त्योभन्दा अगाडिको कुरा। पछि गएर अपोजिसन लिडर भएँ। चुनावपछि विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री, म अपोजिस लिडर।
तपाईं गोरखा परिषद्को नेता हुनुहुन्थ्यो, होइन र ?
हो, त्यस बेला। त्यसपछि राजा महेन्द्रले पार्लियामेन्ट भंग गरिदियो। मलाई पनि जेलमा थुन्या थियो। विश्वेश्वर बाबु पनि थिए, गणेशमान थिए, कृष्णप्रसाद सबै थिए, सूर्यप्रसाद पनि थियो, मैले भनेँ कि यो जेलमा बसेर हुन्न, बाहिर गएर लड्नुपर्छ। म त जे भनेर जे गरेर हुन्छ, यहाँबाट फुत्केर जाने अनि उहाँबाट लडाइँ गर्ने हो भनेँ। अनि मेरो कुराचाहिँ खाए। मैले यसो–उसो गरेँ, महेन्द्रले पनि मलाई बोलायो— तिमीहरू त राजनीति गर्ने मान्छे, केही नगरी बस्न सक्दैनौ। म तिमीलाई मन्त्री बनाउँछु। के के चाहियो ? अहिले प्रधानमन्त्री त तुलसी गिरी छ, ऊ पनि तिम्रो साथ दिने हो, के भन्छौ ? हुन्छ सरकार, मैले त झन्डा हाल्न नपाएको, पब्लिकले झन्डा चलाउन दिएन, अब सरकारले बक्सन्छ भने हुन्छ भनेर लाइदिएँ। निस्किनेबित्तिकै फुत्केर हिँडिदिएँ। इन्डियामा गएर बाँकी कांग्रेस थिए, सुवर्णशमशेर थिए, अरूहरू थिए, म त्यहाँ गएर लागेँ। त्यहाँ लागेर राजाको विरुद्ध सबभन्दा कडा मान्छे, नेता मै हुँ, यो इतिहासले देखाउँछ।
अपोजिसन लिडर कसरी कांग्रेसमा जानुभयो ?
ल ! राजाले पार्लियामेन्ट नै उडाइदियो भन्या। म त डेमोक्रेट मान्छे। गोरखा परिषद् भएर म डेमोक्रेट मान्छे। त्यसो भएको हुनाले मैले सहनै सकिनँ, प्रजातन्त्र उडाइदिएको, पार्लियामेन्ट उडाइदिएको। पार्लियामेन्ट नै खत्तम पारिदियो। अनि के गर्ने ? तपाईंहरूले यो इतिहास जान्या छैन। के हो भनेदेखि राजाले पार्लियामेन्ट बन्द गरिदियो। पार्लियामेन्ट नै खत्तम गरिदियो महेन्द्रले। हामी निस्किनेबित्तिकै एकथरी लड्ने भए, एकथरी दलाल भए राजासँग। तुलसी गिरी, ऋषिकेश शाह, विश्वबन्धु थापाचाहिँ राजापट्टि लागे। कृष्णप्रसाद, बीपी तिनीहरूचाहिँ जेलमा रहे, त्यो भएको हो, हामी बाहिरबाट लडेको हो।
तपाईं कांग्रेस समर्थक हुनुहुन्छ, कांग्रेस अधोगतिमा छ, चिन्ता लाग्दैन ?
केही चिन्ता लाग्दैन। कांग्रेस भनेर कांग्रेस नै हुनुपर्छ भन्ने छैन। जसले देशलाई ठीक गर्छ त्यही कांग्रेस। मलाई यो कांग्रेस, ऊ कांग्रेस केलाई चाहियो ? कांग्रेसमा मूल मुख्य नेताहरू ठीक भएनन्। कोही घूस खाने भन्छन्, श्रीमतीले घूस खाए, यस्ता यस्ता कुराहरू सुन्नुपर्छ। दुःख लाग्छ मलाई, लागेर के गर्ने ?
हाम्रो देशमा अहिलेका प्रधानमन्त्रीको श्रीमती छ रे, छोराछोरी छैन रे होइन ? अब यही घूस नखाने। अब यही कांग्रेस पनि भए। कांग्रेस–कांग्रेस भनेर के भो ? कांग्रेस, कम्युनिस्ट, अर्को के रे ? अँ ! माओवादी एक भए, एक नभएको भए नेपालमा यति चाँडै यत्रो परिवर्तन आउँदैनथ्यो। हो, ठूलो राम्रो काम भएको छ नेपालमा। अहिले पनि त्यही हुनुपर्छ, त्यही चलिरहनुपर्छ। त्यही सिलसिला चलिरहनुपर्छ।
जो सबैभन्दा राम्रो प्रधानमन्त्री पाएका छौं हामीले, अहिले भएका नेताहरूमा सबैभन्दा योग्य प्रधानमन्त्री यही हो। विश्वेश्वरपछिको योग्य प्रधानमन्त्री यो केपी ओली। १५ वर्ष जेल गएको। जनताबाट उब्जिएको मान्छे होइन ?
अब त्यहाँ तपाईंहरूजस्तो नाक थेप्चो क्या, त्यस्तो देख्दा खेरि मलाई खुसी लाग्छ तर कति थोरै। हामी क्षेत्री–बाहुनबाहेक छँदै छैन पार्टी गर्ने मान्छे। मैले पहिले गराएको, अब राई, लिम्बू, मगर, गुरुङ सबैलाई ल्याएर एक गराउनुपर्छ हामीले। यो मुख्य कुरा हो। यसका लागि इन्टरकास्ट म्यारिज हुनुपर्छ। बुझ्नुभयो के
भनेको ? क्षेत्री–बाहुनका छोराछोरी तपाईंले बिहे गर्ने, तपाईंका छोराछोरी हामीले बिहे गर्ने। यो चल्नुपर्छ, यो नचलेसम्म हुँदैन।
त्यसो भए नेपालले झन्डै ६० वर्षपछि एकजना शक्तिशाली प्रधानमन्त्री पाएको हो ?
पाएको छ, विश्वेश्वरपछि।
अब नेपालीले समृद्धिको अपेक्षा गरे हुन्छ होइन त ?
पक्का हुन्छ।
तपाईंले यहाँ यसो भनिरहँदा नेपालमा केपी ओली सरकारको आलोचना पनि भइरहेको छ नि !
आलोचना कसको हुँदैन ? के भा’छ तपाईं नै भन्नुहोस्।
महँगी बढ्यो भन्ने कुरा छ, अन्य यावत् कुराहरू छन् नि !
महँगी यहाँ बढ्यो भने त्यहाँ बढ्छ, यहाँ बढेन भने त्यहाँ बढ्दैन। होइन ? यहीँ बढिरहेछ महँगी, त्यहाँ बढ्ने कुरा के हो र !
यसको मतलब यहाँको असर हो नेपालमा ?
हो त ! त्यो यहाँभन्दा सानो ठाउँ छ। पहाडको कुनाको ठाउँ हो। उनीहरूले जति प्रोडक्सन गर्छन्, प्रोडक्सनभन्दा पुग्दैन खान। यताबाटै लगेर खानुपर्छ। बरु तपाईंहरूले मेरो एउटा सन्देश सरकारलाई लगिदिनुहोस्, अब नेपालमा जति बाटो बन्छन् नि (ठूल्ठूलो), त्यसको पासमा साइकल चलाउने लेन बनाइदिनुपर्योा। र, मान्छेले साइकल चलाउनु सिक्नुपर्यो।
त्यसो भयो भने के हुन्छ ?
यसो हुँदा मान्छेलाई गाडी चढ्नु पर्दैन, साइकलले हुन्छ। कम पेट्रोल खर्च हुन्छ, कम मोबिल खर्च हुन्छ। हरेक चिजको फाइदा हुन्छ। त्यहाँ अहिले हुँदै छ काम नभएको होइन। अब चीनबाट पनि आउने, इन्डियाबाट पनि आउने यस्तो बन्दोबस्त हुँदै छ। योभन्दा के हुने ?
(भिडियो अन्तर्वार्ता सारेर छापामा आउला भन्ने सोचेको थिइनँ। भरतशमशेरको अन्तर्वार्ता यहाँ उही ढाँचामा जस्ताको तस्तै उतार गरिएको छ।)