बिमस्टेक नेपालका लागि अवसर
ब्रुकिङ्स इन्डियामा फरेन विदेश नीतिका अध्येता कोन्स्टान्टिनो जेभियरले साउथ एसियन स्टडिजमा पीएचडी गरेका छन्। ‘ब्रिजिङ द बे अफ बंगाल : टुवार्ड अ स्ट्रोंगर बिमस्टेक’ नामक शोधका लेखक जेभियरसँग काठमाडौंमा हुन गइरहेको बिमस्टेक शिखर सम्मेलनका सन्दर्भमा विश्वास बरालले लिएको अन्तर्वार्ता :
बिमस्टेकको आवश्यकता किन ? यसको मुख्य ध्यान केमा छ ?
बंगालको खाडी संसारकै सबैभन्दा कम संगठित क्षेत्रमध्ये एक हो। यहाँ व्यापार, कनेक्टिभिटी र सहकार्यको स्तर अत्यन्त निम्छरो छ। भारत र बंगालको खाडीवरिपरि रहेका अन्य देशबीच गम्भीर बेमेलको स्थिति छ, जसले आर्थिक तथा रणनीतिक अन्तरनिर्भरता बढाउने तिनको प्रयासलाई रोक्छ।
यस्ता चुनौतीलाई सम्बोधन गर्न बिमस्टेकले उपयोगी मञ्च प्रदान गर्छ। तर क्षेत्रीयतालाई सुदृढ गर्ने बिमस्टेकको उद्देश्य पूरा गर्न सजिलो छैन। त्यसका लागि सदस्य राष्ट्रहरूले यो संगठनलाई प्राथमिकता दिनुपर्छ, पर्याप्त स्रोतसाधन उपलब्ध गराउनुपर्छ र बिमस्टेकको क्षमता बढाउन सुधारका कार्यक्रम अघि सार्नुपर्छ।
बंगालको खाडीलाई यति धेरै महत्व दिनुको कारण के छ ?
बंगालको खाडी संसारकै ठूलो खाडी हो। त्यसैले यसवरिपरि रहेका देशका लागि यो महत्वपूर्ण छ। अझ भन्नुपर्दा, यो क्षेत्रमा हुने जनसांख्यिकीय, आर्थिक र सुरक्षासम्बन्धी परिवर्तनले एसिया र विश्व व्यवस्थामा महत्वपूर्ण प्रभाव पार्छ। परिभाषा फरक–फरक भए पनि बंगालको खाडीलाई सामन्यतया ‘त्रिकोणात्मक घाँटी’ भन्ने गरिन्छ। यो श्रीलंका, बंगलादेश र मलेसियाका बीचमा पूर्वदेखि पश्चिमसम्म फैलिएको छ। यसकै वरिपरि रहेका सात देशमा विश्वको एकचौथाइ जनसंख्या बसोबास गर्छ। बंगालको खाडीको तटीय क्षेत्रमा मात्रै आधा अर्ब मानिस बस्छन्।
यति धेरै जनसंख्या भएको यो क्षेत्रमा ठूलाठूला आर्थिक सम्भावना छन्। यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ ट्रिलियन डलर छ। सन् २०१२ देखि २०१६ को बीचमा विश्वव्यापी आर्थिक अवस्था नकारात्मक रहँदा पनि यो क्षेत्रका सातै देश वार्षिक आर्थिक वृद्धिदर ३.४ देखि ७.५ प्रतिशतसम्म कायम गर्न सफल रहे।
यो क्षेत्र प्राकृतिक स्रोतसाधनमा पनि सम्पन्न छ। ती स्रोतको उपयोग भएको छैन। यहाँ संसारको सबैभन्दा ठूलामध्येका केही ग्याँस भण्डार छन्। समुद्रमुनि पनि तेलको भण्डार रहेको बताइन्छ। गंगा र ब्रह्मपुत्र नदीको पानीले बंगालको खाडीलाई विशाल मत्स्यभण्डार बनाएको छ।
के बिमस्टेक सार्कलाई अवमूल्यन गर्ने मञ्च हो ?
होइन। बिमस्टेक बरु सार्क र अन्य क्षेत्रीय पहलहरूको पूरक संगठन हो। तर सार्कको भन्दा बिमस्टेकको सम्भावना विशाल छ। किनभने सार्क भारत र पाकिस्तानबीचको नियमित तनावको बन्धक बनेको छ। तर बिमस्टेकमा त्यो समस्या छैन। यसको ध्यान पनि बढी दक्षिणपूर्वी भागमा छ। यसको मुख्य उद्देश्य दक्षिणपूर्वी एसिया र भारत–प्रशान्तबीच अन्तरक्षेत्रीय कनेक्टिभिटी बढाउने हो।
बिमस्टेकका सात सदस्य राष्ट्रलाई केले एउटै मञ्चमा ल्यायो ?
संसारमा अन्तरनिर्भरता बढ्दै गएको सन्दर्भमा कुनै पनि देशको आर्थिक तथा सुरक्षा चासो क्षेत्रीय संस्थामार्फत अन्य देशसँगको सहकार्य गर्ने क्षमतामा निर्भर हुँदै गएको छ। बंगालको खाडीवरिपरिका देशले पनि यो यथार्थलाई महसुस गरिरहेका छन्। यो क्षेत्रमा चीनको बढ्दो उपस्थितिको प्रतिक्रियास्वरूप भारतले दक्षिणपूर्वी एसियासँग क्षेत्रीय कनेक्टिभिटी र सम्बन्ध सुदृढ गर्नमा अभूतपूर्व जोड लगाइरहेको छ। बिमस्टेकका साना देश पनि क्षेत्रीय बहुपक्षीयतालाई चीन, भारत र बाहिरी शक्तिको बढ्दो क्षमताविरुद्धको निरोधक मान्छन्।
नेपालले बिमस्टेकलाई उत्तरपूर्वी भारत, बंगलादेश र बंगालको खाडीको क्षेत्रसँगको पुरानो सम्पर्क सम्बन्ध ब्युँताउने ऐतिहासिक अवसरका रूपमा हेर्नुपर्छ।
बिमस्टेकमा भारतको भूमिका के छ ?
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आफ्नो ‘एक्ट इस्ट’ नीतिअन्तर्गत बिमस्टेकलाई ब्युँत्याउन सक्रियता अपनाएको छ। बिमस्टेकका लागि भारतको नेतृत्व महत्वपूर्ण छ। तर सबै सदस्य राष्ट्र एकै दिशामा हिँडे मात्रै क्षेत्रीय संगठनहरू सफल हुन्छन्। अहिले भारतको रणनीतिक प्राथमिकता भनेको दक्षिण एसिया र हिन्द महासागरमा चीनको बढ्दो उपस्थितिलाई रोक्न छिमेकी देशसँग सम्बन्ध सुधार गर्नु हो।
बिमस्टेक सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास हुन गइरहेको छ। प्राविधिक र आर्थिक सहकार्यका लागि निर्मित यो मञ्चमा सेनालाई किन सहभागी गराइयो ?
अर्थतन्त्र र सुरक्षालाई अलग गर्नुको अर्थ छैन। आतंकवाद, विद्रोहको खतरा होस् वा प्राकृतिक विपत्ति होस्, बंगालको खाडीमा सहकार्य र समन्वय गर्न यहाँको सेना सधैं तयार रहन आवश्यक छ। आफ्नो भूमि र जनसंख्याको सुरक्षा नगरी बिमस्टेक सदस्य राष्ट्रले विकास र कनेक्टिभिटीको योजना सम्पन्न गर्न सक्दैनन्। यद्यपि बिमस्टेकको मुख्य ध्यान आर्थिक सहकार्य र कनेक्टिभिटीमै केन्द्रित हुन्छ।
नेपाल त बंगालको खाडीमा पनि छैन। त्यसो भए किन बिमस्टेकको सदस्य बन्यो त ?
ऐतिहासिक रूपमै नेपाल कोलकाता, उडिसा र बंगलादेश हुँदै बंगालको खाडीसँग जोडिएको थियो। भारतले बन्द अर्थनीति अपनाएपछि यो सम्बन्ध टुट्यो। त्यसकारण सन् १९८० को दशकपछि नेपाल र भारतबीच ट्रान्जिट र व्यापारलाई लिएर बारम्बार संकट दोहोरिए। त्यसपछि नेपालले आफ्नो अर्थव्यवस्था भारतले भन्दा बढी खुला गर्न थाल्यो र कनेक्टिभिटी, व्यापार तथा पारवहन बढाउन इच्छुक देखियो। अन्ततः अहिले आएर भारतले पनि खुलापन अपनाएको छ। यस्तो अवस्थामा नेपालले बंगालको खाडीसँगको पुरानो सम्बन्ध ब्युँताउने मौका छ। नेपाल बंगलादेश हुँदै पनि बंगालको खाडीसँग जोडिन सक्छ।
यस्तो सम्पर्कबाट नेपालले के पाउँछ त ?
प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालले घरमा अभूतपूर्व लोकतान्त्रिक स्थिरता प्राप्त गरेको छ। विदेश नीतिका सवालमा पनि नेपालले अझ बढी सक्रियता र नेतृत्व लिने इच्छा प्रकट गरेको छ। एसियाका दुई सबैभन्दा महत्वपूर्ण राज्यबीच रणनीतिक महत्वको स्थानमा अवस्थित नेपालको शक्तिसँगै जिम्मेवारी पनि बढ्छ। नेपालले भुटान, म्यानमार र दक्षिणपूर्वी एसियासँग निकट सम्बन्ध कायम गरेर आफ्नो विदेशनीतिमा विविधीकरण गर्दै आएको छ। ‘बिमस्टेकले नेपाललाई आफ्नै ‘एक्ट इस्ट’ नीति विकास गर्ने महत्वपूर्ण मञ्च उपलब्ध गराएको छ।’
तर समग्रमा बिमस्टेक भारतीय पहल होइन र ?
किनारामा बसेर आलोचना गर्नु र बिमस्टेक भारतको मात्रै पहल हो भन्ने ठान्नु नेपालका लागि सजिलो छ। तर नेपालले बिमस्टेकलाई उत्तरपूर्वी भारत, बंगलादेश र बंगालको खाडीको क्षेत्रसँगको पुरानो सम्पर्क सम्बन्ध ब्युँताउने ऐतिहासिक अवसरका रूपमा हेर्नुपर्छ। यसले नेपाललाई पुनः तिब्बती पठार तथा हिमालयलाई भारतीय उपमहाद्वीप तथा हिन्द महासागरसँग जोड्ने पुलको ऐतिहासिक भूमिका खेल्न मौका दिनेछ।
बिमस्टेक जस्ता बहुपक्षीय संस्था खासगरी नेपालजस्ता साना देशका लागि बढी फाइदाजनक हुन्छन्। यसले भारतजस्ता ठूला देशसँग सौदाबाजी गर्ने साना देशको शक्ति बढाउँछ। द्विपक्षीय सम्बन्ध प्रायः आकर्षक लाग्छ। खासगरी चीनसँग यस्तो सम्बन्ध आकर्षक लाग्छ। तर लामो अवधिका लागि बहुपक्षीयता र क्षेत्रीय सहकार्य नै बढी फाइदाजनक हुन्छ।
नेपालले त सार्कलाई सुदृढ गर्न प्रयास गर्नुपर्ने होइन ?
सार्क महत्वपूर्ण नै रहनेछ। तर ‘भारत र पाकिस्तानबीचको सम्बन्ध नयाँ ढंगले सामान्य बनेपछि मात्रै सार्क पुनः सक्रिय हुनेछ।’ नेपालले यसमा यथार्थवादी हुनुपर्नेछ र बिमस्टेकसहित अनेकौं तहमा भूरणनीतिक चाल चल्नुपर्नेछ। बिमस्टेकले नेपाललाई भूपरिवेष्ठित अवस्थितिबाट मुक्त भएर उत्तरपूर्वी भारत, बंगलादेश, म्यानमार र थाइल्यान्डसँग जोडिने मौका दिनेछ। बंगालको खाडी क्षेत्रमा हुने बलियो संगठन, कनेक्टिभिटी र सहकार्यबाट नेपालले फाइदा पाउनेछ।
आगामी बिमस्टेक शिखर बैठकबाट नेपालले के आशा गर्न सक्छ ?
सन् २०१४ मा सार्क शिखर सम्मेलनपछि अब बिमस्टेक आयोजना गर्दा नेपालका लागि यो प्रतीकात्मक क्षण हुनेछ। बिमस्टेक दक्षिण एसियामा मात्र सीमित छैन। यसको ध्यान बंगालको खाडीमा छ र यसले म्यानमार, थाइल्यान्डसहित दक्षिणपूर्वी एसियासँग जोड्छ। त्यसैले नेपालले यसलाई विश्वमञ्चमा देखिने अवसरका रूपमा लिनुपर्छ।