पर्यटन विभागले उठायो ९० करोड राजस्व

पर्यटन विभागले उठायो ९० करोड राजस्व

काठमाडौं : पर्यटक आगमन बढेसँगै पर्यटन विभागले संकलन गर्ने राजस्व पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०७४/०७५ मा पर्यटन विभागको राजस्व २६ प्रतिशतले वृद्धि भएको छ। पर्यटन विभागले गत आवमा मात्रै ९० करोड सात लाख ८९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। विभागले एजेन्सी रजिस्ट्रेसन दस्तुर, क्यासिनो रोयल्टी, पर्वतारोहण तथा पदयात्रा शुल्क र अन्य विभिन्न प्रशासनिक शीर्षकमा राजस्व संकलन गर्दै आएको छ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार आव २०७३/०७४ को तुलनामा गत आव २०७४/०७५ मा २३ करोड ३३ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ।

विभागले अघिल्लो आवमा ६६ करोड ७४ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। विभागकाअनुसार सबै शीर्षकको राजस्व बढेको छ। राजस्व संकलन सबैभन्दा बढी पर्वतारोहण तथा पदयात्रा शीर्षकमा भएको छ।

यो शीर्षकमा विभागले ४६ करोड ६१ लाख ६२ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा ६ करोड रुपैयाँभन्दा बढी हो। यही शीर्षकमा विभागले अघिल्लो आवमा ३९ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। यसैगरी विभागले गत आव २०७४/०७५ मा एजेन्सी रजिस्ट्रेसनमार्फत दुई करोड ७२ लाख १९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। विभागले गत आवमा नै प्रशासनिक सेवा शुल्कबाट पनि चार लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

 

क्यासिनो राजस्व ४६ प्रतिशत बढ्यो विभागलाई राजस्व संकलनमा सबैभन्दा ठूला सफलता क्यासिनो रोयल्टीबाट मिलेको छ। विभागले क्यासिनो रोयल्टी संकलनबाट मात्रै ४० करोड ६७ लाख रुपैयाँ उठाएको छ। क्यासिनो राजस्व संकलनमा मात्रै ४६ प्रतिशतले वृद्धि भएको छ।

विभागले अघिल्लो आवमा क्यासिनो रोयल्टीबाट २२ करोड ६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। यो नै विभागको राजस्व संकलनमा ठूलो सफलता हो। विभागले बर्सेनि क्यासिनो रोयल्टीबापत राजस्व संकलन बढाए पनि केही क्यासिनोसँग भने रोयल्टीबापतको रकम उठाउन सकेको छैन। आव २०७१/७२ देखि चालु आव २०७४/७५ सम्म विभिन्न तारे होटेल र मेसिनबाट जुवा खेलाउँदै आएका चार क्यासिनोले सरकारलाई बुझाउनुपर्ने साढे ३६ करोड ६५ लाख रुपैयाँभन्दा बढी रोयल्टी तिरेका छैनन्।

क्यासिनो सञ्चालक अदालत गएका छन्। क्यासिनो सञ्चालनबापतको रोयल्टी तिर्ने भन्दै उनीहरूलाई बारम्बार पत्रचार गरे पनि नतिरेको घिमिरे बताउँछन्। यसअघि पनि क्यासिनो सञ्चालन गरेर बक्यौता रकम दाखिला नगरेको होटेल ‍र्‍याडिसनमा सञ्चालन भएको क्यासिनो ‍र्‍यार्ड र ह्यापी आवरले फेरि पनि सरकारलाई करोडौं रुपैयाँ रोयल्टी रकम तिरेका छैन।

आर्थिक वर्ष २०७४/०७५ मा पर्यटन विभागको राजस्व २६ प्रतिशतले वृद्धि भएको छ।

पर्यटन विभागले तयार गरेको रिपोर्टमा र्‍यार्ड क्यासिनो, ह्याप्पी हावर, रक मिनी क्यासिनो र होटल याक एन्ड यतीमा क्यासिनो सञ्चालन गर्दै आएको गिल्ट प्रालिले पनि सरकारलाई बुझाउनुपर्ने रोयल्टी रकम नतिरेको उल्लेख छ। विभागले मन्त्रालयमा पेस गरेको रिपोर्टमा सबैभन्दा बढी ह्याप्पी हावर प्रालिको बाँकी बक्यौता १४ करोड ७७ लाख ३५ हजार पाँच सय रुपैयाँ छ। यो रकम आर्थिक वर्ष २०७१/७२ देखि गत आवसम्मको हो।

यसैगरी गिल्ट क्यासिनोले पनि सरकारलाई ११ करोड ४२ लाख ६५ हजार रुपैयाँभन्दा बढी रोयल्टी तिर्न बाँकी छ। यसैगरी, चार वर्षदेखि जुवा खेलाउँदै आएको रक क्यासिनोले पनि सरकारलाई दुई करोड ८७ लाख ४५ हजार पाँच सय ३८ रुपैयाँ रोयल्टी बुझाएको छैन।

होटल र्‍याडिसनमा सञ्चालन भएको र्‍यार्र्ड क्यासिनाले पनि सरकारलाई बुझाउनुपर्ने सात करोड ५१ लाख ३२ हजार आठ सय ४८ रुपैयाँ रोयल्टी नतिरी क्यासिनो सञ्चालन गर्दै आएको छ। यसअघि पनि क्यासिनो नियमावली २०७० आउनुभन्दा पहिलो जुवा खेलाउँदै आएका क्यासिनो सञ्चालक तथा लाइसेन्स लिएका होटलले सरकारलाई एक अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रोयल्टी तिरेका छैनन्। यो रकम उठाइदिन आग्रह गर्दै विभागले महालेखा नियन्त्रक कार्यालयअन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयमा परिपत्र गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.