दोषीलाई कडा कारवाही हुन्छ : प्रधानमन्त्री

दोषीलाई कडा कारवाही हुन्छ : प्रधानमन्त्री

 काठमाडौं : प्रधानमन्त्री केपी ओलीले कञ्चनपुर घटनाका दोषीलाई कडा कारवाही गरिने स्पष्ट पारेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश सातका सांसद र केन्द्रीय नेतासँग शनिबार बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले कञ्चनपुर घटनालाई सरकारले गम्भीर रूपमा लिएको जनाउँदै बलात्कार र हत्यामा संलग्नलाई कानुन बमोजिम कारवाही गरिने स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सरकारले घटनालाई गम्भीर रूपमा लिएर छानबिन समिति गठन गरिसकेको छ । घटनाका दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी राखिँदैन ।’ उनले घटनालाई उत्तेजित बनाएर हिंसा फैलाउने काम भएको भन्दै त्यस्ता व्यक्तिको पनि पहिचान गरी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको जनाए ।

१३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई लिएर कञ्चनपुरमा चर्किएको आन्दोलनबारे नेकपा नेताहरूले प्रधानमन्त्री र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराएका हुन् । ‘अहिले घटनाको आवरणमा हिंसा मच्चाउने र परिस्थितिलाई उत्तेजित बनाउने काम भइरहेको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै कञ्चनपुर तीनबाट निर्वाचित नेकपाका सांसद डा.दीपकप्रकाश भट्टले भने, ‘हिंसा मच्चाउने र बलात्कारपछि हत्यामा संलग्न सबैलाई कारवाही हुन्छ । अपराधीले कुनै पनि हालतमा मुक्ति पाउनुहुँदैन ।’

नेकपाका नेताहरुले घटनाको अनुसन्धानमा ढिलाइ भएको तथा स्थानीय प्रशासनले आन्दोलनकारीमाथि अत्याधिक बल प्रयोग गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । नेकपा नेता लेखराज भट्टले भने, ‘हामीले केन्द्रबाट नै उच्चस्तरीय छानबिन समितिको माग ग¥यौं । प्रहरी प्रशासनले आन्दोलनकारीमाथि निशाना बनाएरै गोली प्रहार गरेका दृष्य देखिएका छन् । यो पनि छानबिन हुनुपर्छ । छिटो भन्दा छिटो घटनाको अनुसन्धान गरेर वास्तविकता ल्याउनुपर्छ भनेर भनेका छौं ।’

‘घटनाको छिटो छानबिन हुनुपर्छ । कञ्चनपुर घटनाको वास्तविकता लुकाउन खोजिएको छ’, कञ्चनपुर २ बाट निर्वाचित नेकपाका सांसद नरबहादुर धामीले भने, ‘सरकारले बास्तविकता लुकाउने भन्दा पनि यथार्थ के हो त्यसलाई छिटो सार्वजनिक गर्नुपर्छ ।’

नेता लेखराज भट्टले शुक्रबार मृत्यु भएका प्रदर्शनकारीका परिवार र बलात्कारपछि हत्या गरिएकी पन्तका परिवारलाई पनि राहतको व्यवस्था गर्न माग गरे ।

प्रधानमन्त्री ओलीले भने घटनाको अनुसन्धानका लागि नयाँ टोली पठाइए पनि त्यसलाई काम गर्न नदिएकोप्रति आक्रोश व्यक्त गरे । ‘घटनाको छानबिनका लागि नयाँ टोली गएको छ । उसलाई काम गर्न अवरोध पु¥याउने खालका कामहरू भएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘पीडितले न्याय पाउनुपर्छ भन्नेमा शंका छैन । तर आन्दोलनको आवरणमा हिंसा मच्चाउने काम भएको छ ।’

नेकपाका स्थायी समिती सदस्य भीम रावल नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउँदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थियो । बालुवाटारमा प्रधानमन्त्री ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेललगायतका नेता उपस्थित थिए ।

एसपी विष्ट निलम्बित

गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी डिल्लीराज बिष्टलाई निलम्बन गरेको छ । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले निर्मला हत्याको घटनासम्बन्धमा विस्तृत छानबिनमार्फत् तथ्य बाहिर नआएसम्मका लागि एसपी बिष्टलाई निलम्बन गर्ने निर्णय गरेको हो । बैठकले तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णकुमार खड्का, डिएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दा शाखाका प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा झिकाउने निर्णयसमेत गरेको छ ।

कञ्चनपुर घटनामा एसपी बिष्टको भूमिका शंकास्पद देखिएको र घटनाको अनुसन्धानमा चासो नदेखाएको कारण दर्शाउँदै गृहले निलम्वन गर्नुपर्ने अवस्था आएको जनाएको छ । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार गृहमन्त्रीले नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बलप्रयोग गर्दा संयमता अपनाउन निर्देशन दिएका छन् ।

मन्त्री थापाले घटनाको अनुसन्धाना जरैसम्म पुगेर गर्न र दोषी जोकोही भएपनि कारबाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई निर्देशन दिएका थिए ।

प्रर्दशनकाक्रममा गोली नै चलाउनुपर्ने अवस्थाका बारेमासमेत गृहमन्त्री थापाले आइजीपी खनालसँग प्रष्टिकरण मागेका थिए ।

नेविसंघको प्रर्दशन

नेपाल विद्यार्थी संघले महेन्द्रनगर घटनाका विरुद्धमा शनिबार काठमाडांैमा प्रर्दशन गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफलेको नेतृत्वमा शनिबार दिउसो भुकृटीमण्डपबाट जुलुस निकालिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.