नेकपाको महादेशीय माक्सवादी स्कुल सुरु
काठमाडौं : नेकपाले माक्र्सवादी शिक्षा अध्ययनका लागि नेपालमै महादेशीय स्तरको माक्र्सवादी स्कुल सुरु गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भक्तपुर खरिपाटीस्थित मदन भण्डारी स्कुल अफ एसियाको शनिबार उद्घाटन गरे । उद्घाटनपछि तीन साताको कक्षा पनि सुरु भएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेपालमा पहिलो पटक सुरु भएको माक्र्सवादी स्कुलमा माक्र्सवाद, लेनिनवाद, समाजवाद, साम्राज्यवाद र नेपाली क्रान्तिलगायत विषय अध्यापन गराइने छ । अध्ययनका लागि नेपालसहित बंगलादेश, भारत, श्रीलंकालगायत देशका झण्डै ४५ जना प्रतिनिधि स्कुलमा छन् । सहभागीहरूलाई माक्र्सवादका अतिरिक्त नेपालको कम्युनिस्ट आन्दोलनबारे पनि नेकपाका शीर्ष नेताहरूले कक्षा लिने छन् ।
५६ वर्षसम्म अलग स्कुलिङबाट राजनीति गर्दै आएका नेपालका प्रभावशाली दुई कम्युनिस्ट पार्टी तत्कालीन एमाले र माओवादीको एकता प्रक्रियासम्बन्धमा पनि सहभागीहरूलाई नेकपाका शीर्ष नेताहरूले प्रशिक्षित गराउने छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा जनयुद्धले पारेको प्रभाव, वरिष्ठ नेता माधव नेपालले नेपालका कम्युनिस्ट पार्टीको अनुभव र सचिवालय सदस्य वामदेव गौतमले शान्तिपूर्ण जनआन्दोलनमा केन्द्रित कक्षा लिने छन् ।
एसिया पिपुल्स अर्गनाइजेसनका लागि एसियाकै तर्फबाट संयोजन गरिरहेका नेकपाका नेता बलराम बास्कोटाले यस्तो स्कुल भदौ ३१ सम्म चल्ने बताए । ‘भदौ ३१ सम्म तीन साता स्कुल चल्छ, त्यसैबीच उहाँहरू (पुष्पकमल, नेपाल र गौतम) लाई आफूअनुकूल समय मिलाएर कक्षा लिन भनिएको छ । त्यसैअनुसार आएर कक्षा लिनुहुन्छ’, उनले भने ।
साम्राज्यवादविरोधी माक्र्सवादी कम्युनिस्ट पार्टीहरूले यस्ता स्कुल हरेक महादेशमा सञ्चालन गर्दै आएका छन् । युरोपमा स्पेन, अफ्रिकामा ट्युनिसिया र जाम्बियामा यस्ता महादेशीय स्कुल सञ्चालनमा छन् । नेपालमा शनिबार सुरु भएको स्कुलमा ती देशका प्रतिनिधि पनि आफ्ना अनुभव सुनाउन सहभागी भएको नेता बास्कोटाले जानकारी दिए ।
एसियामा भने पहिलो पटक यस्तो स्कुलको सञ्चालन नेपालको कम्युनिस्ट पार्टीले गरेको हो । गत जेठ अन्तिम साता नेकपाका वरिष्ठ नेता नेपाल, प्रवक्ता श्रेष्ठ, नेता बास्कोटालगायतले ब्राजिलको एमएसटीले सन् २००६ बाट सञ्चालन गर्दै आएको स्कुलबारे अध्ययन भ्रमण गरेर फर्केका थिए । सुरुमा स्कुल सञ्चालनका लागि भारत, श्रीलंका र बंगलादेशका कम्युनिस्ट पार्टीले चासो देखाए पनि अन्ततः नेपालकै कम्युनिस्ट पार्टीलाई चलाउन दिने सैद्धान्तिक सहमति उनीहरूले दिएको नेता बास्कोटाले बताए ।