स्थानीयले खोतले हत्या घटना

स्थानीयले खोतले हत्या घटना

 

  • ५५ वर्षीया कारीदेवी यादवको शव १६ दिनपछि भेटेर प्रहरीमा खबर ।
  • प्रहरीले नेताको दबाब वा आर्थिक प्रलोभनमा चासो नलिएको गुनासो ।
  • दुई अभियुक्तलाई पनि स्थानीयले नै नियन्त्रणमा लिएर प्रहरीमा बुझाए ।
  • दोषीमाथि कारबाहीको माग गर्दै थालिएको आन्दोलन वार्तापछि स्थगित ।
  • घटना अनुसन्धानमा ढिलाइ भएको सिरहाका सीडीको स्विकारोक्ति ।

 गोलबजार : बेपत्ता भएको १६ दिनपछि सिरहाको गोलबजार नगरपालिकाकी ५५ वर्षीया कारीदेवी यादवको शव शनिबार फेला परेको छ । गोलबजार–१ पुरानो चोहर्बाकी कारीदेवीको शव स्थानीयले नरहा गाउँपालिका–१ गौरहा गाउँको बाँसघारीमा गाडिएको अवस्थामा फेला पारेका हुन् । उनलाई मृत फेला पारेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

उनी बेपत्ता भएकै दिनदेखि स्थानीय खोजीमा जुटेका थिए । उनी गत साउन २५ गते राति घरबाटै बेपत्ता भएकी थिइन् । स्थानीयले शनिबार कारीदेवीको हत्यामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने मागसहित पूर्व–पश्चिम राजमार्गमा दुई घण्टा चक्काजामसमेत गरे । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र जिल्ला प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठसँग वार्ता भएपछि स्थानीयले आन्दोलन स्थगन गरेका छन् । स्थानीयले गोलबजारमा रहेका प्रहरी जनशक्तिको सरुवा गर्न पनि पण्डित र श्रेष्ठसँग माग गरेका छन् । यो घटनालाई गोलबजार प्रहरीले गम्भीरतापूर्वक नलिएको उनीहरूको आरोप छ ।

स्थानीयले कारीदेवीका नाममा रहेको सम्पत्ति हत्याउन जेठाजु रामदेव यादव र भतिजा लक्ष्मण यादवले हत्या गरेको दाबी गरेका छन् । हत्याका आरोपित दुवै अभियुक्तलाई स्थानीयले नै यही भदौ ५ गते नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । शव गाडिएको बाँसघारी रामदेवको सालोको रहेको जनाइएको छ । लक्ष्मणले मामाका छोरा राधेश्यामसँग मिलेर कारीदेवीको हत्या गरेको स्थानीयको आरोप छ ।

बेपत्ता भएको १६ दिन बित्दा पनि प्रहरी र स्थानीय प्रशासनले ठोस रूपमा अनुसन्धान नबढाएको आरोप स्थानीयले लगाएका छन् । ‘गाउँलेले नै रामदेव र लक्ष्मणलाई नियन्त्रण लिई प्रहरीलाई जिम्मा लगाए’, स्थानीय प्रमोद महतोले भने, ‘शव पनि गाउँलेले खोज्यो । प्रहरी–प्रशासनले यत्रो घटना हुँदा पनि चासो देखाएन ।’ नेताको दबाब वा पैसाको चलखेलले गर्दा प्रहरी अपराधीलाई जोगाउन लागिपरेको आरोप उनले लगाए । ‘मान्छे मारिँदा पनि प्रहरी–प्रशासन संवेदनशील नभइदिँदा सर्वसाधारण त्रसित बनेका छन्’, उनले भने ।

यो घटनामा गोलबजार प्रहरी गम्भीर नदेखिएको वडाध्यक्ष देवनारायण महतोको भनाइ छ । ‘स्थानीयले सुराक दिँदै गयो तर प्रहरीले अनुसन्धान नै थालेन’, वडाध्यक्ष महतोले भने, ‘कसको दबाबमा प्रहरीले हत्याको छानबिन गरेनन् ? त्यो सार्वजनिक गरिनुपर्छ ।’ नेताको दबाब वा पैसाको प्रलोभनमा प्रहरी अपराधी संरक्षणमा लाग्नु उचित नभएको उनले बताए ।

स्थानीयसँग वार्तापछि सीडीओ पण्डितले हत्यामा संलग्न दोषी र घटनाको अनुसन्धानमा बेवास्ता गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । ‘गोलबजारका प्रहरीलाई हामी सोधखोज गर्छाैं’, उनले भने, ‘दोषी भेटिए तुरुन्त कारबाही हुन्छ ।’ घटना अनुसन्धानमा प्रहरीबाट ढिलाइ भएको उनले स्थानीयमाझ स्वीकार गरेका छन् ।

अभियुक्त नै पहिले प्रहरीमा

रामदेवले पक्की घरमा बस्न नदिएपछि कारीदेवी छेउमा झुपडी बनाएर बस्ने गर्थिन् । झुपडीको आधी भागमा उनले गुजाराका लागि पालेका दर्जन बाख्रा बाँधेकी थिइन् । गत साउन २५ गते राति करिब ८ बजे वर्षा हुँदै थियो । गाउँमा बिजुली थिएन, त्यही बेला उनलाई बेपत्ता पारिएको स्थानीयको भनाइ छ ।

त्यसको तीन दिनपछि लक्ष्मणले नै इलाका प्रहरी कार्यालय गोलबजारमा कारीदेवीको खोजीका लागि निवेदन दर्ता गराए । स्थानीयले भने घटनामा रामदेव र लक्ष्मणकै संलग्नता रहेको दाबी गर्दै यही भदौ ५ गते नियन्त्रणमा लिएर प्रहरीमा बुझाए । भदौ ६ गते गोलबजार नगरपालिका–१ का एमकुमार यादवले रामदेव र लक्ष्मण नाम किटान गरी इलाका प्रहरी गोलबजारमा अपहरण तथा शरीर बन्धक जाहेरी दर्ता गराए । एमकुमार कारीदेवीकी दिदीका छोरा रहेको जनाइएको छ । उनकै जाहेरीअनुसार प्रहरीले पनि अदालतबाट सात दिनको म्याद थप गरी दुवै अभियुक्तविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।

के थियो विवाद ?

कारीदेवीको न पति छन् न त छोराछोरी नै, उनी एक महिला हुन् । माइतमा पनि कोही नरहेको स्थानीयले बताएका छन् । पैतृक सम्पत्तिबाट उनी र जेठाजु रामदेव नाममा १÷१ कट्ठा जग्गा आइसकेको छ । अंशबन्डा नहुँदा बाँकी जग्गा उनका ससुरा जुगेश्वर यादवकै नाममा रहेको जनाइएको छ । जब कारीदेवीले ससुराका नाममा रहेको जग्गा बाँडफाँट गर्न माग गर्न थालिन् तब रामदेवसँग विवाद सुरु भएको स्थानीयको भनाइ छ ।

संयुक्त घडेरीमा तीन वर्षअघि पक्की घर बनाउन लाग्दा कारीदेवीले आफ्नो जग्गा छुट्याएर मात्रै घर बनाउन भनेपछि विवाद भएको थियो । रामदेव र लक्ष्मणले गालीगलौज र कुटपिट गरेपछि उनी बेग्लै बस्न थालेको स्थानीयवासीले बताए । त्यसपछि उनले कसैको वास्ता नगरी बाख्रा पालेर गुजारा चलाउँदै आएकी थिइन् ।

१३ कट्ठा दुई धुर जग्गा जुगेश्वरको नाममा रहेको जनाइएको छ । उक्त जग्गा अंशबन्डा गर्न कारीदेवीले अघिल्लो भदौ ५ गते जिल्ला अदालत सिरहामा रामदेवलाई प्रतिवादी बनाई मुद्दा दर्ता गराएकी थिइन् । अदालतले गत जेठ २४ गते कारीदेवीको पक्षमा फैसला सुनायो । कारीदेवीले आफ्नो तर्फबाट मुद्दाका वारिस गोलबजार–९ का पुणित यादवलाई बनाएकी थिइन् । ‘पुणितलाई कारीदेवीले नाति भनेर बोलाउँथिन्, जग्गाको मुद्दामा पुणितले नै सबै काम गर्दैथ्यो’, लक्ष्मणकी पत्नी विभा यादवले भनिन्, ‘आफू घरका मान्छे भएर पनि कस्तो नाताले नाति भएको थाहा छैन ।’ रामदेव र लक्ष्मणलाई कारीदेवीले फसाउन खोजेको उनको जिकिर छ ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.