बुङमति अब सम्पदा बस्ती

बुङमति अब सम्पदा बस्ती

ललितपुर : ललितपुरको बुङमतिलाई सम्पदा बस्ती घोषणा गर्न तयारी थालिएको छ। ललितपुर महानगरपालिकाले पुरातत्व विभाग र सहरी विकास मन्त्रालयसँगको समन्वयमा बुङमतिलाई सम्पदा बस्ती घोषणा गर्ने तयारी गरेको हो। बुङमति ललितपुर महानगरको वडा नम्बर २२ मा पर्छ।

विभागले बुङमतिको ऐतिहासिक बस्ती तथा सम्पदा संरक्षण गरी सम्पदा बस्ती घोषणा गर्न स्वीकृति दिएको महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद दाहालले जानकारी दिए। विभागबाट स्वीकृति पाएलगत्तै महानगरपालिकाले सहरी विकास मन्त्रालयलाई उक्त बस्तीलाई सम्पदा बस्तीका लागि सिफारिस गर्न पत्राचार गर्ने तयारी भइरहेको छ। महानगरको नगर कार्यपालिकाको तेह्रौं बैठकले महानगरको वडा नम्बर २२ मा पर्ने प्राचीन, सम्पदायुक्त एवं ऐतिहासिक बस्ती बुङमतिलाई ऐतिहासिक तथा सम्पदा बस्तीको नक्सांकन गरी सम्पदा बस्ती संरक्षण तथा भवन निर्माणसम्बन्धी मापदण्ड लागू गर्ने निर्णय गरिसकेको छ।

२०७२ सालको भूकम्प र त्यसपछिका लगातारका परकम्पका कारण बुङमतिको ऐतिहासिक तथा सम्पदा बस्तीभित्रका आवास भत्किएको र जीर्ण भइ पुनर्निर्माणको स्वीकृतिका लागि नक्सा प्राप्त हुने गरेको र सम्पदा क्षेत्र नतोक्दा नक्सा दर्ता साथै नक्सा पास प्रक्रिया अघि बढाउन नसकिएपछि नगर कार्यपालिकाले पुरातत्व विभागसँग सहकार्य गरी सम्पदा बस्तीका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बस्तीका लागि पूर्वतर्फ बुङमति बसपार्कको खाः पोखरीदेखि पोः पोखरीसम्मको मूल सडकको बाहिर पट्टि अगाडिको भाग र पश्चिमतर्फ खान्दचौरदेखि पाचो डोलसम्म सीमाना तोकिएको छ। उत्तरतर्फ ढोलाहिटी जाने बाटो हुँदै भुन्न र चोहेलननीको बस्तीदेखि प्रथमपुर महाविहारसम्म सीमा तोकिएको छ भने दक्षिणतर्फ नः पोखरीदेखि इखा पोखरीसम्मको क्षेत्र तोकिएको छ।

सम्पदा बस्तीका लागि सीमा भित्र रहेका वडाबाट सिफारिस भएका कित्ताहरू रहनेछन्। ती कित्ताहरूको अगाडिको किनाराबाट २५ मिटरसम्मका जग्गालाई नक्सांकन गरी सम्पदा बस्ती संरक्षण तथा भवन निर्माणसम्बन्धी मापदण्ड लागू गर्ने निर्णय भएको छ। महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो। पुरातत्व विभागका अधिकृत पुरुषोत्तम आचार्यका अनुसार, सम्पदा तथा बस्ती संरक्षण गर्दा तिनीहरूको मौलिक स्वरुपमा परिवर्तन नहुने गरी परम्परागत निर्माण सामग्रीको प्रयोग गरी निर्माण गर्नुपर्नेछ।

पुरातत्व विभागले यस्ता बस्तीलाई सम्पदा बस्तीका रूपमा घोषणा गर्दा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को पाँचौं संशोधनमा उल्लेख भएका बुँदाको मर्म र भावना विपरित नहुने गरी कार्य गर्नुपर्ने प्रावधान राखेको छ। महानगरपालिकाका प्रमुख कार्यकारीअधिकृत दाहालले पुरातात्विक महत्वका सम्पदाको जीर्णोद्धार वा पुनर्निर्माण गर्दा विभागको अनुमति लिनु पर्ने प्रावधान भएकाले स्वीकृति लिइसकेको र अब सहरी विकास मन्त्रालयबाट सिफारिस भएर आएलगत्तै सम्पदा बस्तीको काम अघि बढाइने जानकारी दिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित पुरातात्विक, सांस्कृतिक तथा प्राचीन बस्तीको संरक्षण गर्न त्यस वरपर बन्ने निजी घरहरूलाई थप ५० हजार रुपैयाँ दिने निर्णय गरिसकेको छ। तोरीका लागि प्रख्यात बुङमति नेवारी बस्ती हो। यो जावलाखेलबाट करिब आठ किलोमिटर दक्षिणतर्फ पर्छ। सम्पदा बस्ती घोषणाले आन्तरिक र बाह्य पर्यटन विकासको सम्भावना झन् बलियो हुने महानगरपालिकाको विश्वास छ। पुनर्निर्माणको सबै काम सकिएपछि सम्पदा बस्ती घोषणा गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.