पाकिस्तानको नयाँ सरकारले गर्‍यो यात्रा र खर्चमा कडाइ

पाकिस्तानको नयाँ सरकारले गर्‍यो यात्रा र खर्चमा कडाइ

इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानको नयाँ सरकारले राष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष अधिकारी एवं नेताहरूको फस्ट क्लास हवाई यात्रा र खर्चमा प्रतिबन्ध लगाएको छ । सूचनामन्त्री फवाद चौधरीले इमरान खानको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका छन्। यसका साथै राज्यको रकम विवेकका आधारमा उपयोग गर्न पाउने सुविधा पनि समाप्त गरिदिएका छन्।

मन्त्री चौधरीले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र मुख्यमन्त्रीहरूले बिजनेस क्लासमा यात्रा गर्न पाउनेछन्। यसअघि नै प्रधानसेनापतिले पनि फस्ट क्लास हवाई यात्राको अनुमति नभएको चौधरीले बताए। पाकिस्तानी सूचनामन्त्री चौधरीले राष्ट्रपति, प्रधानमन्त्री र अन्य अधिकारीले स्वविवेकले खर्च गर्न पाउने अधिकार पनि बैठकले समाप्त गरेको उनले स्पष्ट पारेका छन्। विगतमा पूर्वप्रधानमन्त्री नवाज शरीफले यसै नियम अन्तर्गत ५१ अर्ब अमेरिकी डलर खर्च गरेका थिए। यसैगरी प्रधानमन्त्री खानले उच्च अधिकारीले विदेश वा घरेलु यात्रा गर्दा विशेष विमानको प्रयोग गर्न नपाउने नियम बनाएका छन्।

२५ जुलाईमा सम्पन्न पाकिस्तानी आमनिर्वाचनबाट विजयी भएपछि प्रधानमन्त्रीको भव्य महलमा नबस्ने घोषणा गरेका थिए। प्रधानमन्त्रीका सैनिक सचिवको निवासमा आफू बस्ने उनले घोषणा गरेका थिए। खानले प्रधानमन्त्रीका लागि दुईवटा गाडी र दुईजना कामदार राख्ने निर्णय लागू गरिसकेका छन्।

 यसका साथै मन्त्रिपरिषद् बैठकले पाँच दिनको साटो ६ दिन काम गर्ने विषयलाई उठाएको छ। केही मन्त्रीहरूले विरोध गरेपछि यसबारे निर्णय हुन नसकेको हो। पाकिस्तानमा सन् २०११ देखि विद्युत् र इन्धन जोगाउन पाँच दिन मात्र काम गर्ने नियम लागू गरिएको थियो। इमरान सरकारले कार्यालय समय पनि परिवर्तन गरेको छ। बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म रहेको कार्यालय समय बिहान ९ देखि अपराह्न ५ बजे गरिएको छ।

 इमरान खान सोमवार २ सहयोगीसहित आफ्ना सैन्य सचिवको तीनकोठे घरमा सरेका थिए। चुनावमा विजयी भएलगत्तै इमरानले सरकारी खर्चमा कटौती गर्ने घोषणा गरेका थिए। उनले बानीगालामा रहेको आफ्नै निवासमा रहने इच्छा जाहेर गरेका थिए। सुरक्षा एजेन्सीले ज्यानमा खतरा हुन सक्ने बताउँदै त्यहाँ बस्न स्वीकृति नदिएपछि इमरान सैन्यसचिवको तीनकोठे आवासमा उनी सरेका हुन्।

खानले देशलाई आर्थिक संकटबाट उठाउन आफ्ना कैयौँ सुविधा आफैँले कटौती गरेका छन्। उनले हाल प्रधानमन्त्री निवासका रूपमा रहेको भव्य भवनलाई विश्वविद्यालय बनाइने घोषणा गरेका छन्। उनले पाकिस्तानमा धनी र गरिबबीचको जीवन शैलीमा आकाश जमिनको फरक रहेको तथा दूरी पनि बढ्दै गएको जनाउँदै आफूले कमभन्दा कम खर्चमा शासन चलाउने स्पष्ट पार्दै आएका छन्। 
५२४ जना सहयोगीको ठाउँमा उनले दुईजना मात्रै राखेका छन्। खानले आफ्नो सरकारले सञ्चालित सबै बुलेट प्रुफ गाडी लिलाम गर्ने घोषणा गरेका छन्। कार लिलामका लागि उनले स्वयं व्यापारीलाई बोलाउने भएका छन्। खानले प्रधानमन्त्री निवासमा हाल ५२४ सहयोगी र ८० कार रहेको बताए। 

प्रधानमन्त्रीसँग ३३ वटा बुलेटप्रुफ कार पनि छन्। ती सबै बेच्ने उनले घोषणा गरिसकेका छन्। त्यसबाट आएको रकमले गरिबीका कारण विद्यालय जान वञ्चित करिब २ करोड विद्यार्थीलाई स्कुल भर्नाका लागि खर्च गर्ने उनले खुलासा गरिसकेका छन्। खानले पाकिस्तान चरम ऋणमा डुबेकाले अब यसबाट मुक्ति दिलाउन खर्च कटौती र बिलासी जीवनशैली त्याग्ने स्पष्ट पारिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.