निर्मला हत्याकाण्ड : फेरि शून्यबाटै अनुसन्धान सुरू

निर्मला हत्याकाण्ड : फेरि शून्यबाटै अनुसन्धान सुरू

महेन्द्रनगर : सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याका सम्बन्धमा शून्यबाटै अनुसन्धान सुरु गरेको छ । समितिले शनिबारदेखि घटनाको अनुसन्धान प्रक्रिया सुरु गरेको हो । शनिबार जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकायसँग सर्वदलीय र सर्वपक्षीय छलफल गरेर घटनाबारे जानकारी लिएको छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका सम्बन्धमा समितिले आफ्नो काम थालेको जानकारी दिए ।

‘सरकारले दिएको टीओआरमा रहेर हामीले अनुसन्धान प्रक्रिया अघि बढाएका छौं’, उनले भने, ‘घटनाको अहिलेसम्मको अनुसन्धानका विषयमा समेत हामीले बुझ्दै काम अघि बढाएका छौं ।’ उनले समितिलाई प्राप्त अधिकारमा रहेर घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गरिने बताए ।

समितिले यसअघि शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जीसी नेतृत्वको अनुसन्धान टोलीसँग अहिलेसम्मको अनुसन्धानबारे छलफल गरेको छ । ‘अनुसन्धान क्रममा कसैलाई छाडिने छैन,’ उनले भने, ‘हामी म्यान्डेट लिएर आएका छौं, सत्यतथ्य छानबिन गरेरै बाहिर सार्वजनिक गर्छौं ।’

प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनीलाई पक्राउ गरेर शून्य अवस्थाबाटै अनुसन्धान सुरु गरिएको जनाएको छ । प्रहरी प्रमुख एसपी कुबेर कडायतका अनुसार निर्मला पन्त साउन १० गते आफ्नो साथी रोशनि बमको घरमा गृहकार्य गर्न गएको अवस्थादेखि यताको अनुसन्धान सुरु गरिएको बताए ।

उनले रोशनी बम र उनकी दिदी अनिता बम दुवैलाई पक्राउ गरेर शून्य अवस्थाबाटै अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । ‘उनीहरूलाई पक्राउ पुर्जी दिएर हामीले नियन्त्रणमा लिई अनुसन्धान थालिसकेका छौं’, एसपी कडायतले भने, ‘आइतबार म्याद थपेर थप अनुसन्धान अघि बढ्नेछ ।’ बालिका पन्तका परिवार र स्थानीयले रोशनी र उनकी दिदीलाई नै नियन्त्रणमा लिएर त्यही घरबाटै अनुसन्धान सुरु गर्नुपर्ने पहिलेदेखि नै माग राख्दै आएका थिए ।

एसपी कडायतका अनुसार अनुसन्धान क्रममा यसअघि भएको अनुसन्धानमा कहाँ के कति कमजोरी भएको छ त्यसको पनि अनुसन्धान हुने बताए । उनले भौतिक सबुत प्रमाण, घटनास्थलदेखि सबै कुराको अनुसन्धान हुने बताए । ‘कानुनले दिएको अधिकार प्रयोग गर्दै अनुसन्धान प्रक्रिया अघि बढ्छ’, उनले भने, ‘प्रहरीलाई विश्वास गर्नुपर्‍यो, अनुसन्धान प्रभावकारी रूपले गरेर नतिजा बाहिर ल्याउनेछौं ।’ प्रहरीले अनुसन्धान क्रममा दोषी देखिने जोसुकै भए पनि नछाडिने प्रस्ट पारे ।

छानबिन समितिले अनुसन्धान क्रममा सुरक्षा अधिकारीबाट यसअघि भए÷गरेको कामबारे समेत अनुसन्धान गर्ने भएको छ । ‘सीडीओ, एसपी र अरू सुरक्षा अधिकारीले गरेको अनुसन्धानका विषयमा समेत समितिले हेर्नेछ’, समिति संयोजक हरिप्रसाद मैनालीले भने, ‘यस घटनामा दोषी देखिएका सबैलाई कारबाही गर्ने गृह मन्त्रालयको निर्देशन भएबमोजिम नै समितिले काम गर्नेछ ।’

शनिबार समितिकै पहलमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा समेत सरोकारवालाले अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । बैठकमा राजनीतिक दलसहित सरोकारवाला निकायले घटनाको अनुसन्धानका लागि आयोग समितिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । बैठकमा बालिका बलात्कार र हत्याको घटनालाई लिएर चर्किएको आन्दोलन शान्त बनाउने प्रयासस्वरूप गरेको छलफलमा ४ बुँदेसहमति भएको छ ।

प्रहरीको गोली लागी मृत्यु भएका १७ वर्षीय सनी खुनालाई सहिद घोषणासँगै परिवारलाई क्षतिपूर्तिका लागि तीनै तहका सरकारसँग आग्रह गर्ने, आन्दोलनका घाइते व्यक्तिको समयमै उपचारको व्यवस्था र शारीरिक अशक्तता भएकाहरूलाई जीविकोपार्जनका लागि यथोचित व्यवस्था गर्न आग्रह गर्ने सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

कर्फ्यु कायमै

सर्वदलीय र सर्वपक्षीय बैठकले चार बुँदे सहमति गरेपनि शुक्रबार राति ८ बजेदेखि लगाइएको कर्फ्यु भने यथावत नै राखिएको छ । स्थानीय प्रशासनले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो । ‘कफर्यूका सम्बन्धमा सुरक्षा समितिको बैठक बसेर निर्णय हुन्छ’प्रजिअ तारानाथ अधिकारीले भने । लगातारको कर्फ्युका कारण जनजीवन पनि प्रभावित बनेको छ । कर्फ्यु दिनभर महेन्द्रनगर बजार सुनसान रहेको छ । भीमदत्त नगरपालिकाको ४ र १८ नम्बर वडा क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्युआदेश जारी गरिएको हो ।

एक जना घाइतेलाई काठमाडौं लगियो

शुक्रबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । गम्भीर घाइते उमेश देउवालाई थप उपचारका लागि काठमाडौं लगिएको हो । उनलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ । कोहलपुरमा उपचार गराइरहेका उमेश देउवालाई थप उपचारका लागि काठमाडौं लगिएको डीएसपी कृष्ण ओझाले बताए । देउवाको दायाँ पाखुरा र बायाँ खुट्टामा चोट लागेको छ । उनको खुट्टाबाट ब्लड आउने क्रम नरोकिएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । अन्य घाइतेको भने सेती अञ्चल अस्पताल धनगढीमै उपचार भइरहेको छ ।

शुक्रबार साँझ एक्कासि आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर भीमदत्त नगरपालिका-१८ भगतपुर घर भएका १७ वर्षीय सन्नी खुनाको ज्यान गएको थियो । गोली लागेर ज्यान गुमाएका बालकको शव महाकाली अञ्चल अस्पतालको शवगृहमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.