छानबिन समितिले भेट्यो निर्मलाको परिवार
महेन्द्रनगर : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको जरैदेखि नयाँ अनुसन्धान थाल्न गठित समितिले कर्फ्युबीच घटनास्थल पुगेको छ। समितिले आइतबार निर्मलाको शव भेटिएको उखुबारी क्षेत्रको स्थलगत अनुगमन गर्यो।
बालिका पन्तको भीमदत्त नगर-२ स्थित घरमा समेत पुगी अनुसन्धान टोलीले बालिकाका बुवा यज्ञराज र आमा दुर्गादेवीलाई भेटेर घटनाबारे जानकारी लिएको छ।
‘अनुसन्धान टोलीले हामीसित छोरी रोशनीको घरमा गएदेखि शव भेटिएको दिनसम्म के-के भयो भन्नेबारे सोध्यो’, यज्ञराजले भने, ‘घटनाबारे सबै जानकारी दिएका छौं, निष्पक्ष अनुसन्धान गर्छौं भन्ने आश्वासन पाइएको छ।’
छानबिनका लागि शुक्रबार महेन्द्रनगर पुगेको गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको पाँच सदस्यीय टोलीले निर्मलाकी साथी रोशनी बमको घरको समेत निरीक्षण गर्यो।
‘समितिले अनुसन्धान सुरु गरेको दोस्रो दिन शव भेटिएको स्थान, बालिकाको घर र होमवर्क गर्न गएको साथीको घरको अनुगमन गर्यो’, संयोजक मैनालीले भने, ‘शून्यबाटै अनुसन्धान थालिएकाले हामीले सबै काम आफ्नै हिसाबले गरिरहेका छौं।’
यसअघि समितिले शनिबार सर्वदलीय÷सर्वपक्षीय छलफल गरेर घटनाबारे जानकारी लिएको थियो। टोली पुगेकै दिन प्रहरीले निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता भनिने अनिता बमलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। सबै अनुसन्धान जरैदेखि थालिएको प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताए।
‘पक्राउ गरिएका बम दिदीबहिनीलाई म्याद थपेर थप कारबाही प्रक्रिया अघि बढाइनेछ’, कडायतले भने। आइतबार सार्वजनिक बिदा भएकाले सोमबार म्याद थपिने उनले बताए।
प्रदेश सरकारद्वारा पनि राहत घोषणा
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाका परिवार र आन्दोलनका क्रममा प्रहरीको गोलीद्वारा ज्यान गुमाएका सन्नी खुनाका परिवारलाई प्रदेश सरकारले ५÷५ लाख राहत दिने घोषणा गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुवै परिवारलाई राहत दिने निर्णय गरेको हो। आइतबार ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह पीडितको घरमै पुगेर राहत दिने जानकारी गराएका थिए।
‘यो रकम मानिसको जीवनभन्दा त ठूलो होइन, तर सरकार भएको अनुभूति दिन खोजिएको हो’, उनले भने, ‘निर्मलाका हत्यारा जोसुकै भए पनि कुनै हालतमा छोडिँदैन। यसअघि प्रहरी प्रशासनबाट हत्यारा पत्ता लगाउने विषयमा भएको कमजोरीलाई सरकारले ध्यानमा लिएको छ। अब दोषी पत्ता लाग्छ।’
भीमदत्त नगरपालिकाले पनि निर्मला र सन्नीका परिवारलाई राहत दिने निर्णय गरेको छ। १९ नौं नगर कार्यपालिका बैठकले दुवै परिवारलाई ३÷३ लाख राहत दिने निर्णय गरेको नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए।
महेन्द्रनगरमा नेताहरूको लर्को
निर्मला हत्या प्रकरणमा हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनको दबाबसँगै राजनीतिक दलहरूको ध्यान आकर्षण भएको छ। कञ्चनपुरको आन्दोलनपछि उत्पन्न परिस्थिति बुझ्न भन्दै राजनीतिक दलका केन्द्रीय नेताहरू महेन्द्रनगर पुगेका छन्।
नेकपा र कांग्रेसका नेताहरूले निर्मलाका परिवारलाई पनि भेटे। ‘पार्टीले गरेको निर्णय र प्रधानमन्त्रीको सन्देशसहित हामी महेन्द्रनगर पुगेका हौं’, नेकपा स्थायी समिति सदस्य एवं सांसद लेखराज भट्टले भने, ‘निर्मलाको बलात्कारपछि हत्या भएको घटनाले सिंगो राष्ट्रलाई दुःखित तुल्याएको छ, यो हत्यामा संलग्न अपराधी जो भए पनि उन्मुक्ति पाउने छैन।’
भट्टसँगै संघीय सांसद डा.दीपकप्रकाश भट्ट, नरबहादुर धामी, प्रदेशसभा सांसद तारालामा तामाङ, लालबहादुर खड्का, प्रकाश रावल र मानबहादुर सुनार पीडितको घर पुगेका थिए।
आइतबारै कांग्रेस नेता एवं सांसद दिलेन्द्रप्रसाद बडु र नेता वीरबहादुर बलायर महेन्द्रनगर पुगेका छन्। कांग्रेस केन्द्रीय समितिले निर्मला हत्या प्रकरण र त्यसपछि उत्पन्न परिस्थिति बुझ्न उनीहरूलाई महेन्द्रनगर पठाएको हो।
कांग्रेस कञ्चनपुरका सचिव ईश्वरी जोशीका अनुसार दुवै नेताले बालिका निर्मलाको परिवार र सन्नीको परिवारलाई भेटेका छन्।
कर्फ्यु खुकुलो बन्दै
स्थानीय प्रशासनले घटनापछि जारी गरेको कर्फ्यु खुकुलो पार्दै लगेको छ। आइतबार बेलुकाको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु खुकुलो पार्ने निर्णय गरेको हो।
आइतबार बेलुबा ६ देखि राति १० बजेसम्म कर्फ्यु हटाउने, राति १० बजेदेखि बिहान ५ बजेसम्म कायमै राख्ने, सोमबार बिहान ५ बजेदेखि मध्यान्ह १२ बजेसम्म पुनः कर्फ्यु हटाउने र त्यसपछि अर्को आदेश नभएसम्म कर्फ्यु कायमै राख्ने निर्णय गरेको प्रहरी प्रमुख एसपी कडायतले जानकारी दिए।