रोनाल्डोको बहिर्गमनले छोएन रियल मड्रिडलाई, बार्सिलोनालाई उछिन्यो
एजेन्सी : गत सिजनको ला लिगामा सुरुदेखि नै राम्रो नतिजा निकाल्न नसकेको स्पेनिस पावर हाउस रियल मड्रिडले यस सिजनको सुरुवातमै सानदार प्रदर्शन गरिरहेको छ ।
पहिलो खेलमा गेटाफेमाथि २-० को जित निकालेको रियल मड्रिडले दोस्रो खेलमा गिरोनामाथि ४-१ को फराकिलो जित हात पर्न सफल भएको छ । यस सिजनमा महत्वपूर्ण खेलाडी रोनाल्डोले क्लब छाडेपछि रियल मड्रिडको प्रदर्शन खस्कने अनुमान गरिए पनि रियल लयमा देखिएको छ ।
गिरोनाको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने गिरोनाले बनाएको थियो । १६ औं मिनेटमा गार्सिया बोर्जाको गोलबाट गिरोनाले अग्रता कायम गरेको थियो । रियल मड्रिडले पाएको पेनाल्टीमा ३९ औं मिनेटमा कप्तान रामोसले गोल गरे । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।
५२ औं मिनेटमा रियल मड्रिडले पुनः पेनाल्टीको अवसर पाएकोमा करिम बेन्जिमाले गोल गरी टोलीलाई अग्रता दिलाए । त्यसपछि बेलले ५९ औं मिनेटमा गोल गरे भने ८० औं मिनेटमा बेन्जिमाले अर्काे गोल गरी टोलीका लागि ४-१ को जित पक्का गरिदिए ।
जित सँगै दुई खेल खेल्दा रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा देखिएको छ । अर्काे स्पेनिस पावर हाउस डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले पनि सुरुका २ खेलमा जित हात पारिसकेको छ । गोल अन्तरका आधारमा बार्सिलोनालाई रियलले उछिनेको छ ।