ऋण काढेर बस्तीमा खानेपानी

ऋण काढेर बस्तीमा खानेपानी

सुर्खेत : खानेपानीको जोहो गर्नै मुस्किल भएपछि सुर्खेतको लेखपराजुलस्थित देवस्थलका बलवीर विकको परिवार गाउँ नै छाडेको दशक बित्यो ।

पानीकै समस्याले हरिलाल विकको परिवारले पनि गाउँ छाड्यो । वर्षौंदेखि बस्दै आएको थातथलो र छिमेकी छाडेर यो परिवार पनि तराई झर्‍यो । बलवीर र हरिलालको परिवारसँगै खानेपानी उपलब्ध नभएपछि यो गाउँका धेरै परिवारले दुःख गरी जोडेको घरबारी र थातथलो नै छाडेर गए ।

तर, लामो प्रयास र स्थानीयको साहसका कारण अहिले यही गाउँमा खानेपानीको सुविधा उपलब्ध भएको छ । स्थानीयले ऋण काढेर सोलार लिफ्टिङमार्फत गाउँमा खानेपानी आयोजना सम्पन्न गरेका छन् । अहिले स्थानीयका घरघरमा रहेका धारामा पानी आउन थालेको छ । हाल भेरीगंगा नगरपालिकामा पर्ने देवस्थल र माथिल्लो भर्‍याङमा खानेपानीको समस्या छैन । अग्लो स्थानमा बस्ती भएको र नजिकै पानीको मुहान नहुँदा स्थानीयले वर्षौंसम्म निकै दुःख पाए । गाग्रीमा पानी भरेर दुई घण्टासम्म उकालोमा बोक्नुपर्ने वर्षौंदेखिको समस्याबाट हिजोआज स्थानीयले मुक्ति पाएका छन् । ‘गाग्रीमा पानी बोकेरै दिन बिते, पानी बोक्दाबोक्दै छोराछोरीले स्कुल जान पनि पाएनन्’, देवस्थल निवासी कल्पना विकले भनिन्, ‘हामीले त विश्वास नै गरेका थिएनौं, अहिले त आँगनमै खानेपानी आयो । यस्तो उकालो पनि खानेपानी आउला भन्ने लागेको थिएन तर सोलारबाट तानेपछि त पानी आँगनमै आयो ।’

झिसमिसेमै पानीका लागि गाग्री बोकेर मुहानतर्फ धाउने समस्याबाट मुक्त भएपछि स्थानीय राधिका बुढाले भनिन्, ‘अब हाम्रा दिन फेरिए, पानी नपाएरै मरिन्छ कि जस्तो लाग्थ्यो । अहिले त दैलोमै धारा छ, पानीको चिन्ता छैन ।’ स्थानीयले घरघरबाट ५ हजारका दरले रकम संकलन गरे । त्यतिले मात्र पुगेन, श्रमदान गरेरै आँगनमा पानी ल्याए । स्थानीयको सक्रियतापछि सरकारी तथा गैरसरकारी निकायले पनि बजेट उपलब्ध गराए । ‘अहिले पनि हामीलाई साढे दुई लाख ऋण लागेको छ, संस्थाहरूले दिएको बजेटले पनि पुगेन’, खानेपानी उपभोक्ता समितिका सचिव नारायणप्रसाद शर्माले भने, ‘आयोजना त सम्पन्न भयो तर अब त्यो दुई लाख ५६ हजार रुपैयाँ ऋण कसरी तिर्ने भन्ने चिन्ता छ ।’ आयोजनाको काम सुरु हुँदा कसैले पनि पानी डाँडामा आउला भन्ने विश्वास नगरेको उनले सुनाए । तर, अहिले स्थानीय सिँचाइमा समेत उक्त पानी प्रयोग गरेर व्यावसायिक तरकारी खेतीमा जुटेका छन् ।

सोलार प्रणालीमार्फत लिफ्टिङ गरेर माथिल्लो भर्‍याङमा एक सय ८६ मिटर र देवस्थलमा ८४ मिटर माथि पानी लगिएको हो । जसबाट माथिल्लो भर्‍याङमा ३९ घरधुरी र देवस्थलमा २९ घरधुरीले खानेपानीको सुविधा पाएका छन् । आयोजना सञ्चालनका लागि सुन्दर नेपाल संस्थाले आर्थिक तथा प्राविधिक सहयोग जुटाएको हो । संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले भने, ‘हामीले स्रोत जुटाउने काममा समन्वय गर्‍यौं, स्थानीयको सक्रियता र श्रमदानबाट अग्लो डाँडामा रहेको बस्तीमा पनि खानेपानी पुर्‍याउन सम्भव भयो ।’ आयोजना सञ्चालनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, स्थानीय कल्पना सामुदायिक वन, जिसस, अनुकुलन र पहल परियोजना र सौर्य बहुउद्देश्यीय पानी प्रणाली परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेका हुन् । समुदायको श्रमदानले समेत नपुगेपछि स्थानीयले साढे दुई लाख रुपैयाँ ऋण लिएका थिए । त्यही ऋण तिर्ने उपायको खोजी गर्दै अहिले स्थानीय वडा र नगरपालिका कार्यालयमा धाउने गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.