लडाकु शिविर बसेको जग्गामा अब ‘हाइटेक नर्सरी’
सुर्खेत : तत्कालीन माओवादी लडाकुको शिविर बसेको जग्गामा प्रदेश सरकारले अत्याधुनिक ‘हाइटेक नर्सरी’ स्थापना गर्ने भएको छ । यसअघि माओवादी लडाकुको छैटौं डिभिजन बसेको सुर्खेतको दशरथपुरस्थित जग्गामा नर्सरी स्थापना गर्न लागिएको हो । सेना समायोजन भएपछि लडाकु शिविर बसेको जग्गा अहिले खाली छ ।
लडाकु शिविरले प्रयोग गरेको उक्त जग्गामा हाइटेक नर्सरी स्थापनाका लागि विज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन गरेको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कृषि तथा सहकारीमन्त्री विमला केसी र कृषिविद्सहितको टोलीले उक्त स्थानमा आइतबार स्थलगत अध्ययन गरेको हो । ३८ हेक्टर क्षेत्रफल रहेको यही जग्गामा नर्सरी स्थापना गर्दा उपयुक्त हुने अध्ययन टोलीले जनाएको छ । यो जग्गाको नजिकै हाल कृषि अनुसन्धान केन्द्र छ । यसकारण पनि नर्सरी स्थापना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले बजेट भाषणमार्फत नै यहाँका किसानलाई विभिन्न जातका फलफूल र तरकारीका बेर्ना वितरण गर्ने घोषणा गरिसकेको छ । जसका लागि सरकार आफैंले नर्सरी स्थापना गर्न लागेको हो । दशरथपुरस्थित अध्ययन गरिएको जग्गामा नर्सरी स्थापनाका लागि दुई करोड बजेट विनियोजन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अब नर्सरी स्थापना सुरु हुने बताइन् । उनले भनिन्, ‘हामीले जग्गाको खोजी गरिरहेका थियौं, पहिला लडाकु शिविर रहेको स्थानको जग्गा नै उपयुक्त देखियो । अब सोही जग्गामै नर्सरी स्थापना गरिनेछ, नर्सरीमा उत्पादन भएको फलफूल र तरकारीका बेर्ना किसानलाई वितरण गर्नेछौं ।’ प्रदेश सरकारले बजेट भाषणमार्फत नै प्रदेशका विभिन्न जिल्लाका किसानलाई उन्नत जातका फलफूल र तरकारीका बिरुवा वितरण गर्ने घोषणा गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दशरथपुरमै नर्सरी स्थापनाका लागि सरकारले काम अगाडि बढाउने बताए । उनले भने, ‘यहाँ शिविर रहँदासम्म मै डिभिजन कमान्डर थिएँ, सेना समायोजनपछि यो जग्गा खाली भयो । अब यसलाई सरकारले उत्पादनमा प्रयोग गर्छ, यहाँ नर्सरी बनाएर किसानको जीवनस्तर उकास्न हामी लाग्नेछौं ।’ कर्णालीको गरिबी अन्त्य गर्न कृषिमा आधुनिकीकरण अनिवार्य भएको उनको भनाइ छ । यसकारण पनि प्रदेश सरकारले कृषिमा उत्पादकत्व बढाउन र किसानको आयआर्जनमा वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिएको मुख्यमन्त्री शाहीले जनाए । आधुनिक नर्सरी स्थापना गरेर किसानलाई उन्नत जातका फलफूल र तरकारीका बिरुवा वितरण गरिने उनको भनाइ छ । अध्ययन टोलीमा संलग्न कृषिविद्ले यो स्थान नर्सरीका लागि उपयोगी भएको भन्दै नर्सरी स्थापना गर्न सिफारिस गरेका छन् ।
कर्णालीमा प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा हाइटेक नर्सरी स्थापना गर्ने योजना बनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका २४ वटै निर्वाचन क्षेत्रमा हाइटेक नर्सरी स्थापनाको योजना रहेको जनाएको हो । प्रदेश सरकारले यसप्रकारका उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि २४ करोड बजेट विनियोजन गरेको छ । अब हाइटेक नर्सरी स्थापना भएपछि यस क्षेत्रका किसानले आवश्यक बेर्ना पाउनेछन् । नर्सरीमा प्लास्टिकको घरभित्र आवश्यक तापक्रममा बेर्ना उत्पादन गरिने भएकाले जुनसुकै मौसममा पनि फलफूल तथा तरकारीका बेर्ना उत्पादन हुनेछन् । प्रदेश सरकारले हाइटेक नर्सरीमा उत्पादन भएका बेर्ना किसानलाई सहुलियतमा उपलब्ध गराउनेछ ।