कञ्चनपुर घटनाका अपराधीलाई छोडिन्न : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कारपछि भएको बालिका हत्याको निष्पक्ष छानबिन गरी अपराधीलाई कारबाही गरिने प्रतिबद्धता जनाएका छन्। सोमबार बिहान प्रमुख मिडियाका सम्पादकहरूसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले घटनाको निष्कर्षमा पुगेपछि अपराधीलाई कारबाही गरिने बताएका हुन्।
घटनाको छानबिनका लागि प्रारम्भमा प्रहरी संयन्त्रमा भर पर्नु सरकारको बाध्यता भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्दिग्ध देखएका कारण जिल्लाको प्रहरी नेतृत्वसहितलाई फिर्ता बोलाएको बताए। 'सरकारले प्रहरी संयन्त्रमा भर पर्नुपर्ने हुन्छ, विश्वास पनि गर्नुपर्छ तर पछि उनीहरूको गतिविधि सन्दिग्ध देखिएपछि फिर्ता बोलाइयो र नयाँ छानबिन समिति बनाइयो', प्रधानमन्त्रीले भने, 'छानबिन समिति निष्कर्षमा पुग्छ, अपराधीलाई छोडिन्न।'
'माइतिघरमा ठूला प्रदर्शन नगरौँ'
गृह प्रशासनले माइतिघर मण्डलामा प्रदर्शनमा रोक लगाउनु स्वभाविक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यहाँ ठूला र भीडभाडयुक्त प्रदर्शन गर्नु उपयुक्त नहुने बताए। ट्राफिक जाम हटाउन माइतिघरमा प्रदर्शन गर्न रोक लगाइएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारमाथि निरंकुशताको आरोप लगाइएकोमा आश्चर्य व्यक्त गरे।
सम्पादकहरूसँग भएको भेटमा प्रधानमन्त्री। फोटो सौजन्यः कृष्ण पौड्याल/प्रम निजी सचिवालय
'यहाँ ८ वटा बाटो छन्, ट्राफिक जाम हुन्छ भनेर गृहले प्रदर्शनमा रोक लगाएको छ, मलाई यो अनुचित लागेको छैन', प्रधानमन्त्रीले भने, 'प्रदर्शन गर्न अन्त पनि ठाउँ छन्, यहाँ दीप प्रज्ज्वलन लगायतका शान्तिपूर्ण कार्यक्रम गरौँ।'
विदेशमा हुने एक कार्यक्रममा सहभागी हुन जान लागेका पूर्व माओवादी लडाकु लेनिन विष्टलाई विमानस्थलबाटै फर्काइएको घटनामा गृह प्रशासनसँग लिखित स्पष्टीकरण मागिएको प्रधानमन्त्रीले जानकारी दिए।
'विमानस्थलबाटै फिर्ता गर्नु अनधिकृत भयो भनेर मैले लिखित स्पष्टीकरण मागेको छु', प्रधानमन्त्रीले भने, 'किन फिर्ता गर्नुपरेको हो जानकारी मागेको छु।' थाइल्यान्डमा आयोजित वाल सैन्य सम्बन्धी कार्यक्रममा सहभागी हुन जान लागेका विष्टलाई गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको थियो।
बिमस्टेक प्रभावकारी बनाइने
काठमाडौंमा हुन लागेको बिमस्टेक सम्मेलनलाई आयोजक राष्ट्रका हैसियतमा उपलब्धिमूलक बनाउने सरकारको सोच रहेको प्रधानमन्त्रीले बताए।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सोचेजस्तो प्रभावकारी नभएको बताउँदै प्रधानमन्त्रीले कनेक्टिभिटी, गरिवी निवारण, उर्जा र सदस्य राष्ट्रहरूका नागरिकको सम्बन्ध अभिवृद्धिका लागि बिमस्टेकलाई प्रभावकारी बनाइने प्रधानमन्त्रीको भनाई छ। 'यसलाई कर्मकाण्डी हुन नदिन हामी सक्रिए भएर लाग्छौँ', प्रधानमन्त्रीले भने।