सात करोड लगानीमा होटल

सात करोड लगानीमा होटल

सुर्खेत : प्रदेश राजधानी बनेसँगै सुर्खेतमा ठूलो लगानीमा सुविधायुक्त होटल खुल्ने क्रम बढेको छ । कुनै बेला सुविधायुक्त होटल नहुँदा सुर्खेतमा आयोजना हुनुपर्ने अधिकांश कार्यक्रम, सम्मेलन र गोष्ठी नेपालगन्जमा हुने गरेका थिए । तर कर्णालीको राजधानी भएसँगै वीरेन्द्रनगरमा सुविधायुक्त होटल सञ्चालनमा आउन थालेका छन् ।

वीरेन्द्रनगरमा यसअघि नै ठूलो लगानीका सिद्धार्थ र शुभ होटल सञ्चालनमा आइसकेका छन् । यस्तै जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र गढीमा पनि सुविधायुक्त होटल खुलेको छ । वीरेन्द्रनगर–१४ स्थित गढीमा सात करोड लगानीमा स्टे होटल भ्याली भ्यू सञ्चालनमा आएको हो । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रभन्दा केही किलोमिटर टाढा अग्लो स्थानमा रहेको यो होटल पर्यटकलाई लक्ष्य गरी सञ्चालनमा ल्याइएको हो ।

मुगुको रारा र दैलेखमा ज्वाला अवलोकनका लागि पुग्ने पर्यटकले अब सुविधायुक्त आवास पाउने भएका छन् । वीरेन्द्रनगर उपत्यकाभन्दा बाहिर, अग्लो स्थानमा र राजमार्गको छेउमा भएका कारण पनि पर्यटकलाई सहज हुने विश्वास गरिएको हो । हालसम्म वीरेन्द्रनगरमा सुविधायुक्त हलको पनि सुविधा उपलब्ध थिएन । तर स्टे होटल भ्याली भ्यूमा एक हजार जना अट्ने क्षमताको हल पनि निर्माण गरिएको छ । यसले पनि अब प्रदेश राजधानीमा हुने कार्यक्रम सञ्चालन गर्न सहज हुने भएको हो ।

यो होटल रहेको स्थानबाट वीरेन्द्रनगर उपत्यका नै देखिने, पर्यटकीय स्थल सिद्धपाइला र गढीको पनि अवलोकन गर्न सकिन्छ । यसले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने होटल सञ्चालकले बताएका छन् ।


कर्णालीको राजधानी भएसँगै वीरेन्द्रनगरमा सुविधायुक्त होटल सञ्चालनमा आउन थालेका छन् ।

‘तीन जना मिलेर लगानी गरेका छौं, सात करोडभन्दा बढी लगानी भएको छ’, होटलका अध्यक्ष तर्कबहादुर शाहीले भने,‘प्रदेश राजधानीको आवश्यकताअनुसार होटलमा लगानी गरका हौं, यसले पनि यहाँको माग पूरा गर्न सक्ने देखिँदैन । जनघनत्व बढिरहेको छ, रारा जाने पर्यटकका कारण पनि सुर्खेतमा होटलको संख्या अपुग हुन थालेको हो ।’ रारा जाने पर्यटकलाई लक्ष्य गरेर होटल खोलिएको उनको भनाइ छ । तत्कालका लागि ५० जनालाई आवासीय सुविधा दिन सक्ने होटलको दाबी छ । यस्तै अध्यक्ष शाहीले आफूहरूले पर्यटकका लागि विभिन्न प्याकेज बनाएको र स्थानीय स्तरमा उत्पादित अर्गानिक खाना मात्र होटलले उपलब्ध गराउने जानकारी दिए । उनका अनुसार होटलले वीरेन्द्रनगरबाट यातायातको सुविधा उपलब्ध गराउन पर्यटक बसको पनि व्यवस्था गरेको छ ।

एक बिघा क्षेत्रफलमा फैलिएको यो होटलले आवश्यकताअनुसार सेवा विस्तारको पनि योजना बनाएको छ । होटलका म्यानेजर राजबहादुर शाहले भने, ‘पर्यटकको आगामन बढेको छ, उनीहरूलाई अब सुर्खेतमा आवासको कमी हुने छैन । हामीले स्थानीय उत्पादनमात्र दिनेछौं, यसले स्थानीयको आयआर्जनमा पनि टेवा पुग्नेछ ।’ उनका अनुसार दुई वर्ष लगाएर होटल सञ्चालनमा ल्याइएको हो । होटल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले रोजगारी पनि पाएका छन् । हाल १६ जनालाई रोजगारी दिइएको भन्दै होटलले थप कर्मचारी व्यवस्थापन गरिने जनाएको हो । होटलमा चिल्ड्रेन पार्क, ओपन बार र पाँचवटा हल निर्माण गरिने सञ्चालकले जानकारी दिए । होटल सञ्चालनमा आएसँगै वडा कार्यालयले नजिकै भ्यू टावर निर्माणको प्रक्रिया थालेको छ । त्यहाँबाट वीरेन्द्रनगर उपत्यकाको अवलोकन गर्न सकिन्छ ।

क्याप्सन

वीरेन्द्रनगरको पर्यटकीयस्थल गढीमा सञ्चालनमा आएको होटल स्टे भ्याली भ्यू । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.