अस्पतालको आँगनमै पोष्टमार्टम !
गजुरी (धादिङ) : स्थ्योपचारका लागि पुग्ने विमारीको आधा समस्या अस्पतालको बाहिरी बातावरणले पनि निको बनाउनुपर्छ भनिन्छ । ठुला–ठुला अस्पतालमा बाहिरी वातावरण मनमोहक र प्राकृतिक बनाइँदा साना र सरकारी अस्पतालमा त्यस्तो वातावरण पाइँदैन ।
अझ सेवाग्राहीको लाइन र चहलपहल हुने सरकारी अस्पतालको आँगनमै पोष्टमार्टम हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो, धादिङको गजुरी गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा यस्तै हुने गरेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल) को प्राङ्गणमा विहीवार नियमित स्वास्थ्योपचार लिन आएका सेवाग्राहीको भीड एकातर्फ थियो भने अर्कोतर्फ आफ्ना शवको पोष्टमार्टम रिपोर्ट कुरेर बसेका मलामीको भीड । त्यहीबेला अस्पतालको आँगनमै पोष्टमार्टमका लागि शव चिरिँदै थियो ।
आँगनमै शव चिर्नुपर्ने अस्पतालको रहर भने होइन, यसको पनि बाध्यता छ । अस्पतालमा रहेको एउटै मात्र मर्चरी (मुर्दाघर) मा ३ वटा शव भएकाले आँगनमै पोष्टमार्टम गर्नुपरेको हो ।
राजमार्ग क्षेत्रभरि डाक्टर बस्ने एउटै मात्र स्वास्थ केन्द्र (अस्पताल) गजुरीमा मात्रै छ । पृथ्वी राजमार्ग आसपासमा हुने घटनाका शव पोष्टमार्टम गर्नुपरेमा गजुरी अस्पतालमै ल्याउनु पर्ने बाध्यता छ । बुधवार मात्रै स्वास्थ केन्द्रमा तीन वटा शव आए । एउटा बेवारिसे र दुई पहिचान खुलेका ।
भदौ ५ गते झुण्डिएर मृत्यु भएका थाक्रे गाउँपालिका–३ मिलनचोककी सविता तामाङका आफन्तले पोष्टपार्टम गर्न शव गजुरी अस्पताल ल्याए । आफन्तले छिटो पोष्टमार्टम गरिदिन आग्रह गरेपछि मुर्दाघरमा अर्को शव भएका कारण आँगनमै थोरै पर्दाले छेकेर शव चिरिएको हो ।
‘मुर्दाघरमा अरु २ शव छन्, एकदमै गन्हाएकाले भित्र बसेर पोष्टमार्टम गर्नै सकिँदैन’ प्राथमिक स्वास्थ केन्द्रकी निमित्त प्रमुख राधा पाण्डेले भनिन्, ‘मृतकका आफन्तले छिटो गरिदिन आग्रह गरेकाले खुल्ला ठाउँमै पर्दा लगाएर पोष्टमार्टम गरिएको हो ।’
आँगनमा पोष्टमार्टम भइरहेको देखेपछि उपचारमा आएका विरामी र विरामी कुरुवा नाक खुम्च्याउदै अस्पताल प्रशासनप्रति गुनासो गरिरहेका थिए । ‘आँगनमै लास चिरिरहेका छन्, सक्नेले हेर्लान्, नसक्नेहरु कता जाने ?’, छोराको उपचारका लागि आएकी कुम्पुरकी सरस्वती पण्डितले प्रश्न गरिन्, ‘शव गन्हाएको पनि छ, अरु विरामी र विरामी कुरुवालाई त यो दृश्यले झनै विरामी बनाउने अवस्था छ ।’
बस्तीको वीचमा रहेको प्राथमिक स्वास्थ केन्द्रको यो अवस्थाले स्थानीयबासीाई पनि हैरान बनाएको छ । कुनै बेला बेवारिसे शव सातासम्म अस्पतालमै रहँदा गन्हाएर वरीपरि बस्न नसकिने अवस्था बन्छ ।
‘कुनै बेलामा शव गन्हाएर अस्पताल प्राङ्गणमा ओपीडी विरामी चेकजाँच गर्न नसकेपछि नजिकैका घरमा विरामी राखेर चेकजाँच गर्नुपरेको नमिठो अनुभव पनि हामीसँग छ’, प्राथमिक स्वास्थ्य केन्द्रकै सिनियर अहेव राम कुमार श्रेष्ठले भने ।
अस्पतालमा व्यवस्थित मुर्दाघर र शव नसडाइ सुरक्षित राख्ने मर्चुरी फ्रिज (लास राख्ने फ्रिज) नहुँदा अस्पतालका डाक्टर, कर्मचारी, विरामी र वरिपरिका स्थानीयले ठुलो समस्यामा भोगिरहेका छन् ।
अस्पतालले पटक–पटक आग्रह गर्दा पनि सरोकारवाला निकायले चासो नदेखाएको अस्पतालकी निमित्त प्रमुख पाण्डेले बताइन् । ‘पृथ्वी राजमार्गमा दुर्घटना हुँदा शव यहीँ ल्याएर राखिन्छ’, उनले भनिन्, ‘पहिचान नखुलेका वेवारिसे शव ७ दिनसम्म राख्नुपर्ने कानुनी प्रावधान नै छ । यहाँको शवगृहमा एउटा मात्रै शव अट्छ । कतिपय अवस्थामा बाहिरै राख्नुपर्छ । शवगृह खाली बसेको दिनै छैन, यति हुँदा पनि शव सुरक्षित राख्ने व्यवस्था छैन ।’
गत स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधिले व्यवस्थित मुर्दाघर बनाउन र मर्चुरी फ्रिज खरिद गर्नको लागि पहल थाले पनि कार्यान्वयन भएको छैन । गजुरी गाउँपालिकाले मर्चुरी फ्रिज खरिद गर्ने प्रक्रियामै रहेको बताएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक डाक्टर रामहरी रेग्मीले भने, ‘नेपालमा यस्तो प्रविधिको सामानहरु वितरण गर्ने सप्लायर्स नै भेटिएको छैन ।’
५ लाख भन्दा बढी मुल्यको सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आव्हान गर्नुुपर्ने बाद्यात्मक अवस्था छ । तर बोलपत्र हाल्ने मान्छे नै नभेटिएकाले मर्चुरी फ्रिजल्याउन नसकिएको रेग्मीले बताए ।
मुर्दाघर पुरै चिसो बनाएर राख्ने प्रविधिको विषयमा पनि कुरा गरिएको बताउँदै उनले त्यो निकै खर्चिलो हुने भएकाले कम्तीमा तीन शव राख्न मिल्ने मर्चुरी फ्रिज तत्काल खरिद गर्न पहल थालिएको बताए ।