पहिरोले गाउँका घर जोखिममा
बैतडी : बैतडीको सुर्नया गाउँपालिका-४ पालीगाडाकी लक्ष्मी साउँदको घर पहिरोले भत्काएपछि उनको बिचल्ली भएको छ। शनिबार राति खसेको पहिरोले लक्ष्मीको उठीबास भएको हो। '६ जनाको परिवार अहिले आफन्तको आश्रयमा छौं,' उनले भनिन्,' पहिरोले घर नै बगाएपछि कहाँ गएर बस्नु?, पहिरोले घर भत्किँदा एक खसी र ६ कुखुरा पनि मरे। बल्लतल्ल आफ्नो ज्यान जोगाए ।'
सुर्नया गाउँपालिका-४ को पालीगाडामा सडकमाथिबाट खसेको पहिरोले अन्य घर पनि जोखिममा परेका स्थानीय कालुसिंह साउँदले बताए। उनले भने, 'लगातार वर्षा भइरहेको छ। पहिरो खस्ने क्रम रोकिएको छैन्। गाउँका अन्य घरसमेत जोखिममा परेका छन्।'
सतबाँझ श्रीभावर सडकखण्डको स्तरोन्नती नहुँदा स्थानीले पहिरोको जोखिम भोग्नु परेको स्थानीय प्रकाश भाटले बताए। उनले भने, 'धेरै लामो समयपछि गाउँमा सडक पुगेको छ। तर सडकमा नाली नहुँदा पहिरोको जोखिम बढेको छ। सडकको स्तरोन्नतितर्फ ध्यान दिनु आवश्यक छ।'
पालीगाडामा जमीन पनि पहिरोले क्रमशः बगाउँदै लगेको स्थानीयले बताएका छन्। ' पहिरो खस्ने क्रम रोकिएको छैन्। सडकको पुरै भेल गाउँमा पस्ने गर्दछ। यसले गाउँ नै पहिरोको जोखिममा पारेको छ ' स्थानीय कालुसिंह साउँदले भने, ' पहिरोका कारण रातिको निद्रा हराएको छ।'
पालिगाडामा पहिरोले लगातार क्षति पुर्याउन थालेको सतबाँझ प्रहरीचौकीका इञ्चार्ज टेकबहादुर खड्काले बताए। 'प्रहरी टोलीले आइतबार घटनास्थलमा पुगेर अध्ययन गरेको छ। एकजनाको पूर्ण रुपमा घर नष्ट भएको छ। अरु घरहरु पनि जोखिममा रहेका छन्,' उनले भने।
सतबाँझ श्रीभावर सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको स्थानीयले बताएका छन् । सडकलाई स्तरोन्नती नगरेसम्म पहिरोको समस्या रहिरहने स्थानीय प्रकाश भाटले बताए। उनले भने, 'सडकमा नाली नहुँदा सडकको पानी सबै बस्तीमा पसेको छ। यसले पहिरोको जोखिम बढाएको छ।'