आठ वर्षमा पनि बनेन स्वास्थ भवन
अछाम : अछामको चौरपाटी गाउँपालिका-१ सिउँडीमा बन्न लागेको प्राथमिक स्वास्थ केन्द्रको भवन निमार्ण कार्य आठ वर्ष पुग्न लाग्दासम्म सम्पन्न हुन सकेको छैन। ०६८ साल माघमा सम्झौता भई ०७० साल माघमा निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको चौरमाण्डौ प्राथमिक स्वास्थ केन्द्रको भवन अझै पूरा हुन नसकेको हो।
भवन निमार्ण गर्ने जिम्मा पाएको डाँफे-तुल्सी-दुर्गा-जागृती जेभीले २ वर्षभित्र भवन निमार्ण गरिसक्ने भन्दै सहरी तथा भवन डिभिजन कार्यालय दिपायलसँग २ करोड ९० लाख ५४ हजारमा सम्झौता गरेको थियो।
तर, करिब ८ वर्ष वित्न लाग्दासम्म पनि भवनको काम अधुरै छ। बर्खाका कारण अहिले भवन निमार्णको काम रोकिएको छ। ठेकेदार कम्पनीले दैनिक ०.५ प्रतिशतका दरले हर्जना तिर्ने गरी भवन निमार्णको म्याद थपिएको इन्जिनियर मोहनबहादुर विकले बताए।
भवन निमार्णका लागि ०७५ असोज मसान्तसम्म फेरि म्याद थपिएको छ। इन्जिनियर विकले निर्माण कम्पनीले चुनाब, बन्द हडताल, चाडपर्वका कारण भवन निमार्णको काम तीव्र गतिमा हुन नसकेको बहाना मात्र बनाएको बताए।
त्यसमा पनि निर्माणको जिम्मेवारी पाएको भन्दा अलग्गै निर्माण व्यवसायीले पेटी ठेक्का लिएका कारण ढिलाई भएको सहरी विकासको निष्कर्ष छ । गाउँपालिकामा १५ शैयाको प्राथमिक स्वास्थ केन्द्रको भवन निमार्ण सुरु भएपछि स्थानीय निकै खुशी भएका थिए। 'सहजै रुपमा सर्भसुलभ तरिकाले गाउँमै स्वास्थ सेवा पाउने आस सबैले गरेका थियौ, स्थानीय रन्जीत धामीले भने, 'तर हाम्रो दुर्भाग्य नै भन्नुपर्छ निर्माण व्यवसायीले चरम लापरवाही गरेकाले भवन बन्न सकेको छैन ।'
निर्माण व्यवसायीले जनप्रतिनिधिलाई समेत नटेर्ने गरेको स्थानीयको आरोप छ। 'निर्माणस्थलमा कहिलेकाही देखिने निर्माण व्यवसायी, जनप्रतिनिधिले जतिसुकै चासो देखाए पनि टेर्दैनन्' चौरपाटी गाउँपालिका- १ का वडा अध्यक्ष तथा स्वास्थ व्यवस्थापन समितिका अध्यक्ष शालीभान साउँदले बताए।
उनले निमार्ण कार्यमा व्यवसायीले गरेको लापरवाहीका विषयमा पटकपटक सहरी विकासमा डेलीगेसन गएपनि कुनै परिवर्तत नआएको बताए। 'भवन निमार्ण कार्य सम्पन्न भएर सेवा सूचारु भएपछि यहाँका स्थानीयले बयलपाटा अस्पताल र साँफेबगरका निजी मेडिकलमा उपचार गराउनुपर्ने बाध्यता हट्ने थियो, वडा अध्यक्ष साउदले भने।
प्राथमिक स्वास्थ्य केन्द्रको भवन सुविधा सम्पन्न र अपांगमैत्री बन्दैछ। भवन निर्माणको काम अँधुरो हुँदा गाउँपालिकाको स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउदले बताए । 'वयलपाटा अस्पतालको शाखा आउनको लागि तयार भएपनि भवन निर्माण कार्य अलपत्र हुँदा समस्या भएको छ,' उनले भने । अध्यक्ष साउदले असोज मसान्तसम्म पनि निर्माण कार्य सम्पन्न नभएमा निर्माण कम्पनीका विरुद्ध कडारुपमा उत्रिने बताए।